भिमबहादुरहरूको भुल !



ऊ बन्दूक लिएर
तिम्रो चौकी हान्न आइरहेको थिएन
तिम्रो सत्ता ढाल्न आइरहेको थिएन
कुनै युध्द थाल्न आइरहेको थिएन
ऊ त थालमा अविर र फूल लिएर
तिमीले साझा भनेको ईश्वरलाई
(जो कहिलै उसको थिएन)
पूजा गर्न भनेर आइरहेको थियो
तिमीले उसलाई छापामार देख्यौ हो महासय ?

राम कसका थिए ?
कृष्ण कसका थिए ?
दूर्गा कसकी थिइन ?
काली कसकी थिइन ?
उसले ख्यालै गरेन
हो उसले ख्याल गर्नु पर्ने थियो
उसले ख्याल गर्नु पर्थ्यो
तिम्रो र भगवानको जात एउटै हो
जसरी तिम्रो खलकलाई प्रेम गर्छु भन्दा
उसको खलकका धेरैले मर्नु पर्यो
तिम्रो खलकको ईश्वरलाई प्रेम गर्न खोज्नु
तिम्रो खलकको ईश्वरको घरभित्र छिर्न खोज्नु
उसको जीवनको लागि खतरा हुन्छ भन्ने
उसले ख्याल नै गरेन
र ऊ फूल र अबिर बोकेर खुरु खुरु आयो ।

एक्लै हातमा फूल र अविरको थाली बोकेर
मन्दिरतिर गैरहेको उसलाई
तिम्रो सत्ता हान्न आइरहेको
छापामारको जुलुस देख्यौ हो महासय ?

हो उसले गल्ति गर्यो
तिम्रो खलकको ईश्वरलाई
उसले आफ्नो खलकको मानेर गल्ति गर्यो
अर्काको खलकको
ईश्वरको घरमा छिर्न
ऊ एक्लै एक्लै आएर गल्ति गर्यो
ऊ फूल र अबिर बोकेर आएर गल्ति गर्यो
उसले छापामारले जसरी नआएर गल्ति गर्यो ।

खराब चिजलाई प्रेम गर्नु
र गोमन सर्पलाई म्वाई खानु
उस्तै उस्तै हो भनेर उसले बुझ्नु पर्थ्यो
भोकाएको अजिङ्गरलाई खाना खुवाउन जानु
र वदलामा धन्यवादको अपेक्षा गर्नु
नरभक्षी बाघको बुई चढेर
सपनाको गन्तव्यमा पुगिन्छ भनेर सोच्नु
सुधार गर्नै नपाइने गल्तिहरू हुन भनेर
उसले गहिरोसँग बुझ्नु पर्थ्यो
उसले यी कुरा नबुझेर गल्ति गर्यो
उसले इतिहासबाट पाठ नसिकेर गल्ति गर्यो ।

तिमीले भनेको सुनेको थियो सायद
ऊ ‘ईश्वरको सन्तान मान्छेको भाइ’ हो
‘मान्छेको भाइ’
उसले खासै सोचेन एतातिर
उसले एति मात्रै बुझ्यो-
ऊ पनि ईश्वरको सन्तान हो / तिमी जस्तै
त्यसैले ऊ आफ्नो अभिभावक भेट्न भनेर
खुरुखुरु गयो/ लुरुलुरु गयो
जुन ठाउँ धराप थियो उसको लागि
त्यहाँ ख्यालै नगरी गयो
त्यसपछि
जे हुन अनिवार्य थियो त्यही भयो ।

मेरो कडा सुझाव छ उसका खलकलाई
कि त उनीहरू जाँदैनजाऊन
ईश्वरको निवासमा
परैबाट माझीऔंला देखाएर हिडून
कि त एक्लै नजाऊन
फूल र अविर बोकेर नजाऊन
छापामार जसरी जाऊन
हातहतियार बोकेर जाऊन !

जब उनीहरू पनि जाने छन
छापामारहरू जसरी
कि त ईश्वरको घर
उनीहरूका लागि पनि साझा बन्ने छ
कि त अलप हुने छ ईश्वरको नाटक
कि त मर्नु पर्ने भाग
उनीहरूको मात्र हुने छैन / दुवै थरीको हुने छ ।

आजसम्म
भिमबहादुरहरूले
एउटै भुल गरिरहे
र एकोहोरो मरिरहे !

-बाला राम तिमलसिना
प्रतिक्रिया दिनुहोस्