मेरी सासूको मनको छाउघर



  • मञ्जु भट्ट

केही हप्ताअगाडिको कुरा हो, घरमा सासू बिरामी भएको खबर पाएँ । हातखुट्टा दुख्ने, पोल्ने र खान मन नलाग्ने समस्या आएछ । उपचारको लागि सासू–आमालाई काठमाडौं ल्याउनुपर्ने कुरा हुँदै थियो । तर जब उहाँले नुहाएर गाईको गहुँत छर्किई खानु पनि भयो, उहाँको समस्या एकैछिन्मा चट भयो । बिरामी हुनुको कारण रहेछ देवरानी छाउ भएको बेला उनलाई खाना दिन जाने मान्छे घरमा कोही नहुँदा सासू आफैँ गएर खाना दिनुपर्दा लसपस भएको शंका ।

जन्मेदेखि नै गाउँघरका छाउ भएका महिलाहरु छाउघर मात्रै सुतेको देखेका आँखाले बूढापाकाका मनमा गढेको छाउको जरा निकाल्न त्यति सजिलो भने छैन । चीनमा फैलिएको कोरोना भाइरसको नराम्रो समाचार विश्वव्यापी बनेजस्तै सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका छाउघर भत्काउ अभियान अहिले देशव्यापीरुपमा फैलिएको राम्रो समाचार मान्नुपर्छ । यस क्रममा गतवर्षको पुसयता धेरैजसो छाउघर भत्काइसकेको र भत्काउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ । छाउघर भत्केसँगै रातारात नयाँ छाउघर बनाउने क्रम पनि जारी नै छ । छाउप्रथा एक कुप्रथा नै हो र छाउघर भत्काउनै पर्छ भन्ने आवाजहरु बुलन्द हुन थालेका छन् । कतिपय आवाजहरु छाउगोठजस्ता संरचना भत्काएर सरकारले हाम्रा घर नै भत्काएको भन्ने पनि छन् । ज्यान लिने गरी बनाइएका होचा, हावा पनि नछिर्ने तर सर्प, कीरा, फट्याङ्ग्रा भने सजिलै पस्न सक्ने छाउघर भत्काउँदा हाम्रै छोरीचेलीहरुको अकालमा हुने मृत्युलाई रोक्न सकिन्छ भन्ने कुरा फेरि छाउघर बनाउन लागिपरेकाहरुले कहिले बुझ्लान् ?

केही हप्ताअघि संसद्मा सुदूरपश्चिमका एक नेकपाका सांसदले होटेलमा सुतिरहेका आठैजना पर्यटकको एकैठाउँमा ज्यान गयो भन्दैमा होटेल नै भत्काउने त ? भन्ने प्रश्न गरेका छन् । उनको भनाइअनुसार हाम्रा एक–दुईजना छोरीचेली बर्सेनि छाउघरमा मर्नै पर्छ भन्ने हो त ? होटेलको जुन लापरबाहीले उनीहरुको मृत्यु भयो त्यस्तो लापरबाही तुरुन्तै सुधार गर्नुपर्छ, न कि त्यसलाई यथास्थितिमा चल्न दिनुपर्छ । तर यहाँ त ज्यानै लिने गरी बनाइएका छाउघरलाई अझै वर्षौंसम्म यही रुपमा चलाइरहनुपर्छ भन्ने आवाजहरु पनि उठ्न थालेका छन् । दुर्घटना भयो भन्दैमा गाडी पनि भत्काइदिनु भन्ने तर्क पनि उनले उठाएका छन् । मान्छेलाई एकठाउँबाट अर्को ठाउँमा जानु नै छ र यसको लागि गाडी नचढी हुँदैन । बरु सुरक्षाका उपाय अपनाउन सकिन्छ, अरु कुनै विकल्प नै छैन । तर छाउ हुँदा छाउघरमै किन बस्ने ? यसको विकल्प छाउ भएकी महिलाबाहेक अरु सबैले सुत्न मिल्ने घर छ त ।

घरमा सुत्न समस्या छैन :

अहिले घरका धेरैजसो सदस्यहरु पढाइ, व्यवसाय, जागिर इत्यादिका कारणले घरबाहिर छन् । पहिलाजस्तो धेरै सन्तान जन्मिनु र घरका धेरैजसो सदस्य गाउँमै खेती किसानी गरेर बस्ने गरेको अवस्था अहिले छैन । त्यसैले धेरैजसो घरहरु पूरै खालि छन् भने कतिपय घरमा परिवारका धेरैजसो सदस्य घरबाहिर भएकोेले प्रशस्त ठाउँ छ । मेरो आफ्नै घरमा पाँचवटा भाइहरुमध्ये एउटा भाइको परिवार मात्रै घरमा थियो र चार भाइहरुको परिवार घरबाहिर । अहिले दुईजना भाइहरुको परवार घरमा बस्छ र उनीहरुका लागि तीनवटा घर छन् । छाउ भएकी महिलाका लागि घरमा जति पनि ठाउँ छ तर बस्न पाउँदैनन् । घरका सम्पूर्ण सदस्यको लागि घरभित्र सुत्न ठाउँ हुने तर एकजना छाउ भएकी महिलाका लागि घरको कुनामा सुत्न ठाउँ कसरी नहुने ? काठमाडौंमै पनि गाउँबाट आएर भाडामा बसिरहेको परिवार धेरैजना पाहुना आएका दिनहरुमा एउटै कोठामा दुईवटा पलङ लगाएर घरका सम्पूर्ण सदस्य सुतेका र त्यही कोठाको एउटा कुनामा छाउ भएकी महिला पनि सजिलोसँगै सुतेकी देखेकी छु । के यसरी नै गाउँमा पनि घरको कोठाको एउटा कुनामा छोराछोरी र अर्को कुनामा छाउ भएकी ती आमा सुत्न मिल्दैन र ?

छाउगोठमै सुत्नुको कारण :

वर्षौंपहिला गाउँघरमा लुगाको कमी हुन्थ्यो । हाम्रै आमा, काकीहरु एउटा पेटिकोटमा काम गर्नुहुन्थ्यो । पेटिकोटको बाहिर धोती, सारी लगाउने चलन नै थिएन, न त धोती, सारीहरु कतै पाइन्थे । छाउ भएको बेला अन्डरवेयर, प्याड प्रयोग गर्ने न त चलन नै थियो, न त ती कतै पाइन्थे । हामीलाई त आमाले छाउ हुँदा अन्डरवेयर लगाउनुपर्छ, प्याड प्रयोग गर्नुपर्छ भन्ने सिकाउनु नै भएन । किनभने उनीहरुलाई यसरी सुरक्षित हुन सकिन्छ भन्ने थाहा नै थिएन । छाउ भएका आमा, काकीहरु अगाडि हिँडिरहँदा बाटोमा रगतका थोपा देखिन्थे । भुइँमा बस्दा रगत लागेको पेटिकोटमा माटो टाँसिएर बिजोक देखिन्थ्यो । यो उनीहरुको दोष थिएन । समयको दोष थियो । यसकारण हाम्रा छोरीचेलीहरुलाई त्यस्तो अवस्थामा एउटै घरमा आमाबुबा, दाजुभाइले देख्न अप्ठेरो हुने र छोरीचेलीलाई पनि घरका सदस्यको अगाडि पर्दा लाज लाग्ने भएकाले घरभन्दा टाढा छाउघर सुत्न पठाउने गरिन्थ्यो । त्यो समयको लागि यो एकदमै राम्रो चलन थियो । छाउ भएका महिलालाई घरभन्दा बाहिर नै सजिलो महसुस हुन्थ्यो ।

अहिले छाउघर छोड्नुपर्ने कारण :

पहिलाभन्दा अहिलेका छोरीचेली शिक्षित भइसके । सरसफाइमा प्रमुख ध्यान दिन्छन् । धेरैजसो गाउँमा पानीको व्यवस्थासँगै शौचालय निर्माण पनि भइसकेका छन् । मुख्य कुरा अहिले पहिलाजस्तो एउटा पेटिकोट लगाएर हिँड्नुपर्दैन । छाउ भएकी महिलाले भित्री लुगा लगाएर बजारमा पाइने प्याड प्रयोग गर्ने वा आफैं पनि लुगालाई प्याडजस्तै पट्याएर लगाउन सिकिसकेका छन् । बेलाबेलामा बदल्ने, धुने गर्नुपर्छ भन्ने जानकारी राख्छन् । यसले गर्दा न त उनीहरुका लुगा फोहोर हुन्छन्, न कतै ओछ्यान वा बाटो नै रगतले लतपत भएको देखिन्छ । त्यसो भए छाउघर सुत्नै जानुपर्ने कारण के हो त ?

अनिष्ट हुन्छ त ? :

छाउघरमा सुत्दैमा देउता खुशी हुने भए त्यहाँका जनता धनधान्यले फलिफाप हुनुपर्ने होइन र ? तर विडम्बना, उनीहरु नै सबैभन्दा गरिब छन् । खान, लाउन पनि उनीहरुलाई नै सकस छ । आफ्नै घर वा गाउँकै छाउ भएकी महिलाले छोएमा घरका बूढापाका, धामीझाँक्रीले देउता आयो भन्दै काम्ने र बिरामी भएको भन्ने गरेको देखिन्छ । तर घरबाहिर शहरबजार जाँदा छाउ भएकी महिलाले नै होटेलमा पकाएको खाने गर्छन् । उनीहरुलाई छुँदा केही भएको देखिँदैन । त्यसकारण छाउ भएकी महिलालाई छुँदैमा देउता रिसाउँछन् भन्ने कुरामा कुनै सत्यता नै छैन । जनतामा देउता रिसाँछन् कि भन्ने डरले नराम्ररी गाँजेको मात्रै हो । यो उनीहरुको अन्धविश्वास हो र यसलाई जति छिटो हटाउन सक्यो त्यति नै छिटो महिला अगाडि बढ्नेछन् ।

सोच परिवर्तन हुनु जरुरी :

अबको एक्काइसौँ शताब्दीमा पनि घरका छोरीबुहारीलाई छाउघर सुत्न पठाउँदैमा ठूलो भएको घमण्ड परिवारका सबैले त्याग्नै पर्छ । हाम्रा छोरीबुहारीले रुखोसुखो खाएर छाउघरभित्र बिताउने सकसपूर्ण जीवन हेरौं । सासूले त्यसै गरी आफू छाउघर सुत्दा चिसोले भएका दम, बाथ, गभाशसयका रोगहरु बुहारीमा पनि नसारौं । भिजेको रगतको टालोले लाग्ने चिसो र सिकसिक छोडेर ससुराले त्यही छाउघरमा छाउ भएकी महिलाले ओढ्ने जत्ति लुगा ओढेर, त्यस्तै खाना खाएर जम्मा एकदिनको लागि मात्र सुतेर देखाऔं वा एकछिन्को लागि कल्पना मात्र गरौं अनि हेरौं महिलाले प्रत्येक महिना कम्तीमा पाँच दिन भोग्ने पीडा । घरका धेरैजसो सदस्यहरु छाउप्रथाको विरुद्धमा भए पनि जसलाई छाउ भएकी महिलालाई छुँदा गाह्रो, अनिष्ट हुने भ्रम छ, मानवताको दृष्टिले साना बालकसहित महिलालाई सुत्न खेतमा वा गोठमा पठाउनुभन्दा आफैं घरबाहिर बस्दा उचित होला । यसले महिला तथा बच्चा दुवैलाई बाथ, निमोनियाजस्ता रोगबाट समयमै बचाउन सकिन्छ । हाम्रो देशमा राष्ट्रपति महिला हुनुहुन्छ । के सुदूरपश्चिम गएको बेलामा महिनावारी हुँदा देउता रिसाउने कारणले उहाँ पनि छाउघरमै सुत्न जानुहुन्छ ? के यी सबै कष्टहरु सुदूरपश्चिममा जन्मेका महिलाले मात्र भोग्नु लेखिएको छ ?

अब के गर्ने त ? :

यदि मनमा माया र मुटुमा दया छ भने आफ्ना छोरीबुहारीलाई छाउ भएको बेला सुत्नको लागि आफूजस्तै घरभित्रै एउटा छुट्टै कोठाको व्यवस्था गरौं । छुट्टै कोठा छैन भने पनि आफ्नी जन्म दिने आमा, बूढी सासू वा आफ्नै छोराछोरी सुत्ने कोठाको एउटा कुना त दिऔं । प्रत्येक महिनाको छ दिन एउटा अपराधीसरह जीवन जिउनबाट छुट्कारा दिलाऔं । महिलालाई मर्यादित महिनावारीको आभास हुन दिऔं । सकिन्छ भने घरबाहिर बजारतिर गइरहने घरका सदस्यले प्रशस्त प्याडहरु किनेर ल्याइदिऔं । स्वस्थ र सन्तुलित भोजन खान दिऔं । याद राखौं, छाउघर जोगायौं भने महिलामाथि हुने चरम दमन सिवाय अरु केही हुनेवाला छैन ।

सरकारको कर्तव्य :

छाउघर भत्काएसँगै छाउप्रथा भत्काउनु नै छ भने सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउन सरकारले कुनै कसर छोड्नुहुँदैन । दु्रत विकासमा सहयोग पुर्‍याउनका लागि दुर्गमका कुनाकाप्चा छिटोभन्दा छिटो सडक सञ्जालसँग जोडिनुपर्छ । पानी, बिजुली, स्वास्थ्य सेवा सजिलै उपलब्ध हुने वातावरण बनाउनुपर्छ । गाउँगाउँमा पानीको सुविधासहितका शौचालय बनाउन जोड गरिनुपर्छ । छाउप्रथाविरुद्ध प्रशस्त जनचेतना फैलाउनुपर्छ । छाउघर सुत्ने र सुत्न बाध्य पार्नेलाई सरकारले कानुनअनुसार कारबाही गर्न पछि पर्नुुहुँदैन । जसका छाउघर भत्किसकेका छन् त्यस्ता महिलालाई छाउ भएको बेला घरमा सुत्न ठाउँ छ कि छैन अनुगमन गरिनुपर्छ । यदि ठाउँको अभाव भएको खण्डमा सरकारका तर्फबाट परिवारका सबैजना सुत्न मिल्ने घर बनाउन पहल गर्नुपर्छ ।

छाउघर छोडेर घरमा सुत्नेलाई निःशुल्क प्याडहरुको सुविधासँगै नयाँ ओढ्ने, ओछ्याउने लुगाहरु उपलब्ध गराउन सकिन्छ । प्रदेश २ सरकारले बेटी पढाओ, बेटी बचाओ अभियानअन्तर्गत तीन लाखको शिक्षा बिमा लागू गरेजस्तै सुदूरपश्चिम प्रदेशले छाउघर छोडेर घरमा बस्ने महिलाका लागि छाउ सुक्ने बेला उपलब्ध गराउने गरी वा ५० वर्ष पूरा भएपछि पाउने गरी केही रकम उनका नाममा बैङ्कमा जम्मा गर्नेजस्ता योजनाहरु ल्याउन सकिन्छ । छाउघर भत्काउनु सजिलो भए पनि छाउ प्रथा हटाएर छाउ भएका महिलालाई घरमा प्रवेश गराउनु चुनौतीपूर्ण नछ । यो कुरीति हटाउनको लागि सरकारले योजनासहित अगाडि बढ्नुपर्छ । मनमा रहेका छाउघर हटाउन गहिरो चेतना भर्नु आवश्यक छ । छाउघर मात्रै भत्काउँदा छाउप्रथा उन्मूलन गर्न असम्भव हुनसक्छ । किनभने रातारात छाउघर फेरि बन्न लागिसकेका छन् । छाउ भएको बेला छाउघरमा सुत्नुको सट्टा यदि उनीहरुलाई सुविधायुक्त घरमा ल्याउन सकियो भने यो वर्षको विकास बजेटले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्