मुलुकको अवस्था र सरकारलाई सुझाव



हाल देशमा देखिरहेको राजनीतिक घटनाक्रमका कारण विभिन्न समस्या खडा भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद्ले समेत सरकार गठनको ८८ दिनपछि पूर्णता पाएको छ । ओलीको मनपरितन्त्र अन्त्य गर्दै निर्माण भएको यस गठबन्धन सरकारले समेत मन्त्रिपरिषद् गठन गर्न भने महिना दिन लगाएको देख्दा जनतामा नैराश्यता पैदा भएको छ । सरकारमा बनाइएका नयाँ मन्त्रिमण्डल देख्दा झनै जनतालाई ‘जति जोगी आए पनि कानै चिरेका’ झैँ आभास भएको छ । राजनीतिक दलहरुले अझै पनि युवा सांसदलाई पन्छाइरहेकाले जनता निरास भएका छन् ।

राष्ट्र निर्माणमा राजनीतिक पार्टीका युवा सांसदको भूमिका महत्वपूर्ण रहेको हुन्छ । पार्टीमा नेतृत्व कसले लिने भन्दा पनि अब पार्टीको नेतृत्व नै युवापङ्क्तिलाई जिम्मा दिनेमा सबै राजनीतिक दलहरु अग्रसर रहनुपर्दछ । राष्ट्रको जिम्मेवारी अब युवाको काँधमा थमाइदिनुपर्छ । यसको अर्थ हाल पार्टी जिम्मेवारी लिइरहेका नेताहरुले राजनीतिबाट नै संन्यास लिनुपर्छ भन्ने होइन । पार्टीको विचारधारा र राष्ट्रको जिम्मेवारीलाई सताब्दीऔँदेखि बुझ्दै र अँगाल्दै आएका अग्रज नेताले जिम्मेवारी त युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ नै, तर उनीहरुलाई पछाडि बसेर लगाम भने लगाइराख्नुपर्ने हुन्छ ।

राजनीतिक पार्टी र विचारलाई आफ्नो स्वार्थ परिपूर्तिका लागि नभई देश र जनताको हितका लागि अग्रसर गराउनु नै नेताहरुको कर्तव्य हो । पार्टीभित्रै त्यही विचार नमिल्दा आज एमाले दुई टुक्रा हुन पुगेको हो । आफ्नो विचार र सिद्धान्तअनुसार चल्नु नै सच्चा नेताको उदाहरण हो तर पार्टीको सिद्धान्त र विचार जोगाउनु पनि नेताको जिम्मेवारी हो । एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तामा पुगेसँगै एकलौटी निर्णय र निर्देशन लाद्नुमा पछि हटेनन् । तर, त्यही पार्टीका वरिष्ठ नेता माधकुमार नेपाल त्यही कारण देखाउँदै नयाँ पार्टी निर्माण र अध्यक्ष हुनमा व्यस्त देखिए ।

पार्टीभित्र फरक विचार आउनु गलत कुरा होइन तर जब एकल शासनको विचार आउन थाल्छ भने परापूर्वकालमा मुखियाको नाउँमा आफ्नो शासन चलाउनुजस्तै हो । ओलीको यही प्रवृत्तिको कारणले नेपालले अर्को पार्टी स्थापना पनि गरे । तर, नेपालले यस परिस्थितिमा पार्टी फुटाउनमा होइन, पार्टी बचाउन र ओलीमाथि कारबाही गर्नमा लाग्नुपर्ने थियो, जुन कुरा उनीबाट हुन सकेन ।

जुनै पार्टीका नेताले पनि आफ्ना आसपासका मान्छे गन्न र आफ्नालाई मात्र प्राथमिकता दिन खोज्दा आज देश ठूलो संकटको खडेरीमा फसिसकेको छ । नेताबाट नै पार्टीको विचारधारा र सिद्धान्त विपरीत कार्य हुन जान्छ भने सोही अनुरुपको कारबाही आवश्यक हुन्छ । अर्को कुरो राजनीतिक पदमा बसेका वरिष्ठ नेतालाई आफ्नै स्वास्थ्यले नै साथ दिएको हुँदैन तर नेतृत्व हस्तान्तरण पनि उनीहरुका लागि पवित्र जलजस्तै भएको हुन्छ । सक्दासम्म पनि आफैँ मात्र पिउन मन लाग्ने, उनीहरुले आफ्नो धरातल र देशमाथि एकपटक फर्केर हेर्नुपर्ने हुन्छ । जनताको विश्वास र बलिदानको कदर सबै नेताले गर्नुपर्छ । आज सरकारका जुनसुकै ओहदामा बसेका नेताहरु त्यहाँसम्म पुगेका छन्, त्यो जनताको विश्वासले हो । जनताले मताधिकार प्रयोग गर्दै सुनौलो बिहानीको आशमा नेताहरुलाई उक्त स्थानसम्म पु¥याएका छन् ।

यस्तै, अहिलेको सबैभन्दा ट्रेन्डिङको विषय बनेको सांसदको क्रियाकलाप हो । कतिपय सांसदका विभिन्न अनैतिक कार्यले गर्दा देश नै लज्जित हुनुपर्ने अवस्था सिर्जना भइसकेको छ । जहाँ कानुन निर्माणमा सहभागी हुने समूह नै अनैतिक र अपाच्य क्रियाकलापमा लागेको हुन्छ, त्यहाँ जनताको विश्वास र आशाको के कदर ? सरकारमा बसेका यस्तै नेतृत्वको विरोध गर्ने जनताको मुख्य थलो हो काठमाडौंको माइतीघर मण्डला । सरकारको क्रियाकलापको विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका जनतामाथि दिनहुँ प्रहरीको दमन हुन्छ । जनता भ्रष्टाचार र अत्याचारको विरुद्ध जुर्मुराउँदा न त नेताको समर्थन बर्सन्छ, न त सांसदको साथ । जनतामाथि बर्सिने भनेको त्यही प्रहरीको लाठी, बुट र पानीका फोहोरा मात्र हुन् ।

त्यस्तै, अहिले नेपालमा उठिरहेको अर्को गम्भीर विषय हो एमसीसी । यसमा पनि विभिन्न दलका विभिन्न धारणाहरु अगाडि आएका छन् । सरकारभित्रै एमसीसीको विषय दुई धार बनेको छ । यसमा पनि सरकार दुई धार नभई एकजुट हुनुपर्छ । सरकारले कुन निर्णय लिँदा राष्ट्र र जनताको हितमा हुनुपर्छ भन्ने कुरामा प्रस्ट विचारधारा प्रस्तुत गर्न जरुरी छ । सबैभन्दा सरकारले जनताको धारणा बुझ्न जरुरी हुन्छ । अहिले पूरै देश नै एमसीसीको विरोधमा उत्रिएको छ । यस्तो अवस्थामा सरकारले बलजफ्ती जनताको विचारलाई कुल्चिएर एमसीसी परियोजना अघि बढाउनु राष्ट्रघात नै हुनेछ ।

नेपाल आफैँमा प्राकृतिक स्रोतको धनी देश हो । पर्यटन व्यवसाय र देशमा रहेका प्राकृतिक स्रोतको व्यवस्थापन गर्न सके नै नेपालको अर्थतन्त्र उकालो लाग्ने देखिन्छ । सरकारले नेपालको पर्यटन र विकासतर्फ नयाँ भिजन बनाउन जरुरी देखिन्छ । हाल देशका युवाहरु बेरोजगारीको समस्याबाट गुज्रिरहेका छन् । देशका आधिकांश युवाहरु खाडीको तातो घाममा केही रकमका लागि परिश्रम गर्न बाध्य छन् । सरकारले सबैभन्दा पहिले रोजगारीको अवसर सिर्जना गर्न जरुरी देखिन्छ । रोजगारीका प्रशस्त अवसरहरु ल्याउन सकेमा देशको युवाशक्ति देशमा नै परिचालित हुने थियो । यसले जनताको घरघरको मात्र नभएर पूरै राष्ट्रको अर्थतन्त्रमा नै उल्लेख्य उपलब्धि हुने थियो ।

त्यस्तै, देशमा शिक्षा र स्वास्थ्यजस्ता विषयलाई व्यवसायका रुपमा परिणत गर्नुहुँदैन । हाल देशका ठूला अस्पतालहरुमा माफियातन्त्रले राज गरिरहेका छन् । सरकारले विभिन्न निजी स्वास्थ्य क्षेत्रलाई अन्धाधुन्धरुपमा लाइसेन्स वितरण गरिरहेको छ । निजी अस्पतालले पनि जनता लुट्ने थलोको रुपमा अस्पतालहरु सञ्चालन गरिरहेका छन् । सरकारले निजी अस्पताललाई बिरामीको स्वास्थ्यसँग खेलबाड गर्न सक्ने प्रशस्त मौका दिइरहेको छ । यसमा सरकारले निजी क्षेत्रलाई अगाडि बढाउनुका साथै जनताको सेवकको रुपमा विस्तार गर्नु जरुरी छ ।

त्यस्तै, देशभर रहेका सरकारी अस्पतालको विकासमा पनि सरकार अग्रसर रहनुपर्ने देखिन्छ । सरकारी अस्पतालमा रहेका सबै सुविधा उपलब्ध हुन नसक्दा जनता महँगो रुपियाँ तिरेर निजीमा जान बाध्य भएका छन् । यसमा कुरो पैसाको मात्र नभएर जनताको स्वास्थ्यको समेत रहेको छ । सरकारले बेला–बेलामा अस्पतालको निरीक्षणलाई बढाउनुपर्ने देखिन्छ । अस्पतालका लागि करोडौँ खर्चेर ल्याइएका मेसिनहरु कुनामा थन्किएका छन् । यति मात्र होइन, ती मेसिन चलाउनसमेत अस्पतालमा जनशक्ति अभाव हुने गरेको खबर प्रशस्तै आइरहेका छन् । यसमा सरकार गम्भीर भई अस्पताल निरीक्षण र जनशक्ति परिचालनमा लाग्नुपर्दछ ।

नेपाली युवाहरु विशेष अध्ययनका लागि विभिन्न मुलुक जाने गरेका छन् । अध्ययनपश्चात् नेपालमा रोजगारी नमिल्दा उनीहरु पनि पलायन हुन विवश भएका छन् । यसमा सरकारले देशमा रहेको जनशक्ति सही रुपले परिचालन गर्न नसकेको आभास गराएको छ । देश विकासका लागि युवा जनशक्ति निकै अपरिहार्य कुरा हो । यसमा सरकारले सरकारी तवरबाट युवा जनशक्ति व्यवस्थापन र अस्पताललगायत उद्योगधन्दा निर्माणमा नयाँ योजना बनाउनु जरुरी देखिएको छ । जनतालाई आत्मनिर्भर बनाउन सकेमा देश विकास र अर्थतन्त्र आफैँ तंग्रिएर आउने देखिन्छ । त्यसैले, सरकार सत्ताका लागि र कुर्सीको लडाइँमा तल्लीन हुनुभन्दा पनि देश विकास र अर्थतन्त्र सुधारको काममा अग्रसर रहनुपर्छ ।

– मीठाराम पौडेल, जफे–६, दोलखा ।

प्रतिक्रिया दिनुहोस्