पर्यटकीय गन्तव्य आलमदेवि



अमृत अर्याल ,स्याङ्जा ।

नेपाल पर्यटकीय गन्तव्यका लागी उपयुक्त मुलुक मानिन्छ । विश्वका धेरै देशवाट नेपालमा विदेशीहरु घुम्न र केही कुरा सिक्नका लागी आउने गर्दछन् । नेपालमा भएका पर्यटकीय गन्तव्यहरु मध्ये सम्भावना वोकेको ठाउँ आलमदेवी मन्दिर क्षेत्र पनि एक हो ।

महत्वपुर्ण ठाँउ भएर पनि राज्यवाट पछाडी परेको यो क्षेत्र पर्यटनका लगी निकै सम्भावना वोकेको क्षेत्र हो । पर्याप्त प्रचार प्रसारको अभावमा प्राकृतिक र सांस्कृतिक विविधताको अनुपम उपहार हुदा हुदै पनि राज्यको नजर पुग्न नसक्दा अझेलमा परेको छ । नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने दक्षिण एसियाली भूपरिवेष्ठित मुलुक हो । आलमदेवि मन्दिर क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।आलमदेविमा पुग्नका लागी गण्डकी प्रदेशको पोखरा हुदै स्याङ्जाको पर्यटकीय क्षेत्र सिरुवारी बाट पश्चिम तर्फ जानुपर्छ । नेपालको सबैभन्दा ठूलो जलविद्युत परियोजना कालीगण्डकी जलविद्युत परियोजना हुदै विर्घा वाट करिब १ घण्टाको उकालो हिडेपछी आलमदेवी मन्दिरमा पुग्न सकिन्छ ।

यातायातको सुविधा पनि भएकाले पैदल हिड्न अप्ठेरो मान्नेहरुका लागी यातायातका साधन वाट पनि जान सकिन्छ । उत्तर, दक्षिण र पश्चिमबाट कालिगण्डकी नदिले घेरिएर रहेको यस मन्दिर कोटाकोट वेसी, लसर्घा वेसी र बिर्घा फाटको सिरमा समुन्द्री सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ । कालीगण्डकी गाउपालीका वडा नं ३ मा पर्ने यस मन्दिरको उत्तरतर्फ दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण र माछापुच्छ हिमश्रृङ्खलाहरु रहेका छन् भने मन्दिरको दक्षिणतर्फ फर्कदा पाल्पा तानसेनको श्रीनगर डाडा र नेपालकै ताजमहलको रुपमा रहेको प्राचिनकालिन दरवार रानीमहल सुन्दर बस्तीहरु छेर्लुङ र सटुका देख्न सकिन्छ । यस मन्दिरको दक्षिणतर्फ अवस्थित भव्य र आलिशान महल रानीमहलले राणाकालिन प्रधानमन्त्री खड्गशमसेरको सम्झना गराउदछ ।

मन्दिरको पश्चिमतर्फ स्कन्ध नेपालको बनारसको रुपमा चित्रित रुरु क्षेत्र र रुद्रवेणी रहेको छ । मन्दिरको बिचमा रहेको भिमसेन पातिको रुख, यसको फेदमा परेको प्वालले मानिसलाई कौतुहलता तुल्याउदछ । त्यहाँ मगर जातीका पुजारीहरुले पुजा आजा गर्ने प्रचनल रहेको छ । साविक आलमदेवी गाविसमा खासगरी मगर जातीको वाक्लो वस्ती रहेको छ ।यस मन्दिरको ऐतिहासिक पृष्ठभूमिको बारेमा अध्ययन गर्दा भारतको चित्तोडमा राज्य गरी बस्ने मिचा खाँण र खाम्चा खाँणहरु मुसलमानहरुको आक्रमणमा परेपछि त्यहाँबाट भागेर भारतको गढवाल हुदै नेपाल प्रवेश गरे । गुल्मीको रिडी हुदै चण्डीभञ्ज्याङ् बाट हाल मन्दिर रहेको स्थान आइपुग्दा साँझ प¥यो र त्यस ठाउमा भिमसेन पातीको रुख र समथर स्थान देखी त्यही रुखमुनि बास बसे । अर्कोदिन बिहान उठेर हेर्दा आफ्नो साथमा लिएर आएकी इष्टदेवी रुखको फेदमा गहिरो प्वाल पारेर अलप भएको पाए ।

उक्त प्वाल काली गण्डकीको तिरसम्म नै पुगेको र त्यो प्वालबाट कालीगण्डकी नदी सुस्याएको समेत सुन्न सकिने किंवदन्ति रहेको स्थानीय वताउछन् । यसरी आफ्नी इष्टदेवी अलप भएपछि उनीहरुकै व्यवस्थापनमा मन्दिर स्थापना गरेर अलपदेवीको नाममा पुजाआजा गर्न थाले । त्यही स्थानमा लसर्घाकोट राज्यको स्थापना गरेर केही समय राज्य सञ्चालन गरी बसे । हालको मन्दिर तिनै अलपदेवीको नाम अपभ्रंस भएर आलमदेवी रहन गएको भन्ने पाइन्छ । केही समयपछि ती राजाहरु भिरकोट, नुवाकोट, कास्की र लमजुङ हुदै गोर्खा राज्यको स्थापना गरी राज्य सञ्चालन गरे ।

कुलमण्डन खाणले दिल्लीका वादशाहालाई खुशी बनाएर शाह उपाधि पाएपछि नेपालमा शाहावंशिय राजाहरुको राज्य सञ्चालनको परम्पराको थालनी भयो । नेपाल राज्यको एकीकरण पछि पनि तत्कालीन शाहावंशिय राजाहरुले क्रमश आलमदेवीलाई आफ्नी कुलदेवीको रुपमा मानेर पुजाआजा गर्दै आएको परम्परा छ । प्रत्येक वर्षको दशैमा नेपालका राजाहरु आलमदेवि मन्दिरमा आउने गर्दर्थे भने अहिले पुर्व राजा पनि पुजाआजा गर्न आउने गर्दछन् । धार्मिक रुपमा यस मन्दिरमा एकपटक दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

विशेष गरी यस मन्दिरमा नवदुर्गा र चैते दशैमा रागा, बोका, भेडा, परेवा र कुखुराको वली दिने गरेपनि हरेक समयमा दर्शनाभिलाषि भक्तजनहरुको घुँइचो लाग्छ । यस मन्दिरमा मन्दिर वरपरका क्षेत्रहरु स्याङ्जा, गुल्मी र पाल्पा बाहेक कास्की, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँचि, लमजुङ, पर्वत, वागलुङ, गोर्खा र काठमाडौं लगायतका स्थानहरुबाट आफ्नो मनोकांक्षा पुरा गर्ने अभिलाषाका साथ आइपुगेका हुन्छन् । पञ्चेवाजा र पञ्चवली सहितको पुजाआजा, चैते दशैमा हुने तरवार सहितको नाच र मन्दिरमा पूजा गर्ने स्थानिय मगर जातीहरुका पुजारी सांस्कृतिक परम्पराहरु रहि आएका छन् । मगर जातीहरु नै पुजारी रहनुको कारण खोज्दै जादा तत्कालिन लसर्घाकोट राज्य स्थापना गरी बस्ने राजाले स्थानीय राना थर रहेकी मगरनीलाई विवाह गरेका थिए र जसबाट जन्मेको सन्तानलाई पुजारी मान्दै आएको परम्परा रहेको स्थानीय वताउछन् ।

ऐतिहासिक यस मन्दिर र यस वरपरको क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक एवं पर्यटकीय भरिपूर्णता भौगोलिक विकटता उपयुक्त प्रचार प्रसारको अभाव, राजनैतिक खिचातानी एवं राज्य र जनप्रतिनिधिहरुको दृष्टि पुग्न नसक्नुका साथै स्थानीयहरुको यस मन्दिर र यस वरपरका धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुलाई जोडेर दीर्घकालीन एकीकृत विकास गुरुयोजनाको खाचो रहेको छ, यस मन्दिरलाई मन्दिरबाट करिब २ घण्टाको पैदल यात्रामा पुग्न सकिने गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र, गुल्मीको रुद्रवेणी पाल्पाको रानीमहल, आलमदेवीमा रहेको वडरकुन शिला त्यसको पारी गुल्मी जिल्लामा पर्ने ठुलावगर जहाँ हिलेका प्रभु आएर वसेको ठाँउ जहाँ नेपालका पुर्व राजा र राजपरीवारका सदस्य आउजाउ गर्ने गरेको त्यहाँका स्थानीय वताउने गर्दछन् ।

गुल्मी, पर्वत र स्याङ्जाको संगम स्थल सेतीवेणी र कालिगण्डकी जलविद्युत परियोजना जस्ता पर्यटकीय र धार्मिक एवं सांस्कृतिक स्थानलाई सहज जोड्ने सडक यातायातको विस्तार, उपयुक्त प्रचार प्रसार र दर्शनाभिलासीहरुको लागि खान र बस्नको लागि सुविधा सम्पन्न होटल आदी जस्ता भौतिक पूर्वाधारको विकासको आवश्यकताका साथै मन्दिर परिसरको जग्गाको अभाव देखिएकोले त्यस वरपरको क्षेत्रमा मुआब्जा दिएर केही जग्गा मन्दिरले अतिक्रमण गर्नुपर्ने देखिन्छ । यस क्षेत्रको विकासले पर्यटनको विकास सँगसँगै त्यस क्षेत्रको आर्थिक र सामाजिक विकास हुने भरिपूर्ण संभावना बोकेको देखिन्छ । आलमदेवि मन्दिर पुग्दा त्यस आसपासका क्षेत्रको अवलोकन गर्न सकिन्छ । पोखरा वाट नजिक भएकाले पनि पोखरा आउने पर्यटकका लागी आलमदेवी जान सजिलो छ । त्यस संगै स्याङ्जाको पर्यटकीय क्षेत्र सिरुवारीको अवलोकन गर्न आउने पर्यटकलाई पनि आलमदेवी राम्रो गन्तव्य हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्