एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य



काठमाडौं, (नेस)

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नुभएको छ । उहाँले एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔं, विद्युतीय चुल्हो प्रयोग गरौं । डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्तापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो–‘बत्ती मात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युतबाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युतकाे चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔं, आफ्नै देशको जलविद्युतकाे अधिकतम प्रयोग गरौं ।’

सामाजिक एवं आर्थिक रूपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै उहाँले सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्काे प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो ।

आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत्् उपलब्ध गराइने विश्वास दिलाउँदै उहाँले सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युतकाे प्रयोग गर्न आग्रह गर्नुभयो । महालक्ष्मी उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभयो ।

कृषि क्षेत्र मुलुकको आर्थिक आधार भएको उल्लेख गर्दै मन्त्री भुसालले खेतीयोग्य जमिनमा सिँचाइ पु-याउने र त्यसका लागि आवश्यक पर्ने विद्युतमा सहुलियत दिने नीतिलाई आफूले बढावा दिएको स्पष्ट पार्नुभयो । महालक्ष्मी नगर कपडा उद्योगले परिचित क्षेत्र भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा टेक्स्टाइल उद्योगका रूपमा विकास गर्न आग्रह गर्नुभयो । उहँँले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्