दशैंमा रोजी–रोजी खानुस् आफ्नो स्वास्थ्य हेरेर



  • डा. ओममूर्ति अनिल
    मुटुरोग विशेषज्ञ

भर्खर दशैं शुरू भएको छ, सामान्यतया दशैंमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, खानपान गरी रमाइलो गर्ने हाम्रो प्रचलन छ । अन्य समयमा भन्दा दशैंका बेला हाम्रो खानपान अलि धेरै र फरक हुन्छ । तसर्थ, यस्तो बेलामा हामीले आफ्नो खानपान र जीवनशैलीमा ध्यान पु-याउन जरुरी देखिन्छ ।

दशैंको बेला के खाने के नखाने भन्नुभन्दा पनि मानिसले आफ्नो स्वास्थ्य अवस्थालाई हेरेर खानपिन गर्नुपर्छ । उही खाना कुनै व्यक्तिलाई राम्रो हुन सक्छ भने कुनै व्यक्तिका लागि हानिकारक हुन्छ । जस्तै, गेडागुडी, दही र सागपात अधिकांश मानिसका लागि सर्वोत्तम मानिन्छ । तर, युरिकएसिड भएको मानिसलाई त्यो हुँदैन ।

त्यस्तै मांशाहारी खाना गर्भवती महिला, बालबालिका र कुपोषण भएकालाई उपयुक्त हुन्छ । तर, कोलस्ट्रोल र उच्च रक्तचाप भएकाहरूलाई त्यो हुँदैन । मधुमेहका बिरामीलाई पनि चिल्लो, नुनिलो, गुलियो खाना हुँदैन ।

यहाँ प्रश्न के छ भने चाडपर्वका बेला यो खान हुन्छ, यो हुँदैन भनेर एउटै वाक्यमा जवाफ खोज्नुभन्दा पनि व्यक्तिले आफ्नो स्वास्थ्यको पृष्ठभूमिलाई हेरेर निर्णय लिनुपर्छ । त्यस्तै, हामीले कति मात्रामा खान्छौं र कसरी पकाउँछौं भन्ने कुराले पनि स्वस्थ जीवनबारे निर्धारण गर्छ ।

एक दिन मात्रै खान्छांै, कम चिल्लो, नुन, चिनी प्रयोग गर्छौ, कि दिनहुँ खान्छौं ? नुन, तेल र गुलियो कति प्रयोग गर्छौं– त्यो महत्वपूर्ण मानिन्छ । सुगर, प्रेसर, कोलस्ट्रोल वा मुटुका बिरामीलाई कम तेल, कम नुन राखेर पकाएको एक–दुई टुक्रा मासु खाएर केही हुँदैन । अण्डा पनि खान सकिन्छ, दूध–दही पनि खान सकिन्छ ।

यसअघि तपाईंको खानपानको अवस्था के छ– कसैले आर्थिक समस्याले गर्दा वर्षका थोरै दिनमा मात्रै माछामासु खाने गर्नुहुन्छ भने उहाँहरुलाई दुई/चार दिन टन्न मासु खाँदा केही हुँदैन ।

समस्या कहाँ छ भने जो शहरमा बसोबास गर्नुहुन्छ, सातामा दुई÷चारपटक मासु खानुहुन्छ, हो उहाँहरूले चाडवाडको बेलामा आफ्नो खानपानमा बढी ध्यान दिनुपर्छ । त्यस्ता व्यक्तिलाई रक्तचाप, कोलस्ट्रोल, सुगरको समस्या बढी देखिने गरेको छ । छोटो समयमा अस्वस्थ खाना बढी खाएमा समस्या निम्तिन सक्छ ।

त्यसैले चाडपर्वको बेलामा हामीले कहिले सुगर जाँच गरेका थियौं, कोलस्ट्रोलको अवस्था के छ, रक्तचापको स्थिति के छ, मुटुको समस्या छ कि छैन भनेर विश्लेषण गर्नुपर्छ । चाडपर्वको बेला खानपिन गरेर रमाइलो गर्ने हाम्रो परम्परा हो ।

चाडपर्वलाई कसरी उल्लासमय बनाउने भनेर निर्णयचाहिँ आफैं गर्नुपर्छ । जस्तै, बोसो भएको मासु नखाने, चिल्लो, नुन कम प्रयोग गर्ने खानामा साग र सलादको प्रयोग बढी गर्न सकिन्छ । मासुसँग साग र सलाद बढी खायौं भने शरीरले बोसोको शोषण कम गर्छ जसबाट स्वास्थ्य समस्या कम हुन सक्छ ।

त्यस्तै, चाडपर्वका बेला शारीरिक व्यायामलाई पनि हामीले मनोरञ्जनको माध्यम बनाउन सक्छौं । परिवारका सदस्यहरू मिलेर रमाइलो गर्दै व्यायाम गर्न सकिन्छ । प्रायः मानिसहरू चाडपर्वका बेला टन्न खाने र शरीरलाई निस्क्रिय बनाएर राख्ने गरेको पाइन्छ । खानपिन ग-यो सुत्यो, बस्यो ।

कतिपयले मदिरा सेवन गर्ने वा अत्यधिक कोल्डड्रिङक्स लिने गरेको पनि पाउँछौं । त्यसो गर्दा समस्या एकैपटक थपिन्छ । चाडपर्वमा रमाइलो गर्नुपर्छ, रमाइलो गर्दा पनि स्वास्थ्यलाई फाइदा हुन्छ । तर, रमाइलोे अस्वस्थकर खाना खाएर गर्नु हुँदैन ।

स्वाभाविक रूपमा दशैंका बेला बढी खाना हुन्छ, त्यसलाई व्यवस्थापन गरियो भने समस्या हुँदैन । दशैंपछि अस्पतालमा प्रायः मानिस उच्च रक्तचाप, कोलस्ट्रोल, ग्यास्ट्रिकको समस्या लिएर आउने गर्छन् त्यसैले त्यस्तो समस्या आउनुअघि नै सचेत हुन जरुरी छ ।

प्रस्तुति : राजु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्