एयर इन्डिया खरिद गर्दै टाटा समूह



काठमाडौँ (एजेन्सी) ।

आफैंले स्थापना गरेको एयर इन्डिया टाटा समूहले पुनः खरिद गरेको छ । सन् १९३२ मा स्थापना भएको भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डिया ७० वर्षपछि त्यसको स्वामित्व ग्रहण गर्न लागेको कम्पनीले घोषणा गरेको छ । सन २०२२ को जनवरी १ देखि टाटा समूहले एयर इन्डियाको स्वामित्व लिने भएको हो ।

टाटा समूहले ले १८ हजार करोड भारतीय रुपियाँमा एयर इन्डिया कम्पनी किन्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारत सरकारले सन् १९५३ मा एयर इन्डियालाई राष्ट्रियकरण गरेर सरकारी स्वामित्वमा लिएको घोषणा गरेको थियो । राष्ट्रियकरण गरिए पनि सन् १९७७ सम्म जेआरडी नै कम्पनीका अध्यक्ष बनेका थिए ।

पछिल्लो समय अत्यधिक ऋणमा डुबेपछि सरकारले एयर इन्डियालाई निजी क्षेत्रको जिम्मा लगाउने निर्णय गरेको थियो । सरकारले एयर इन्डिया बेच्ने घोषणा गरेपछि टाटा समूले खरिद गर्ने बताएको थियो । उक्त कम्पनी किनबेचको सम्झौता भने डिसेम्बरमा मात्रै हुने भएको छ ।

टाटा सन्सले पाँच वर्षपछि एयर इन्डियाको ब्रान्ड आफ्नो नाममा राख्न सक्नेछन् । कम्पनीको वित्त विभागले यो वर्ष कुनै कर्मचारी नहटाउने बताएको छ । टाटाले १५ प्रतिशतसम्मको ऋण आफूले व्यहोर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारले एयर इन्डिया चलाइरहँदा दैनिक २० करोड भारू घाटा व्यहोर्दै आएको छ । अहिलेसम्म ७ सय अर्ब भारतीय रुपियाँ घाटा लागिसकेको एयर इन्डियाले जनाएको छ ।

टाटाले अब चार हजार चार सय आन्तरिक र एक हजार आठ सय अन्तर्राष्ट्रिय अवतरण र पार्किङ स्लटहरू चलाउनेछ । लन्डनको हिथ्रो विमानस्थलसहित विदेशका ९ सय स्लट चलाउनेछ । एयर इन्डियाले ९८ वटा विदेशी गन्तव्यमा उडान भर्दै आएको छ ।

एयर इन्डियाको स्वामित्व लिएपछि टाटा समूह भारतको सबैभन्दा ठूलो उड्डयन कम्पनी हुने भएको छ । एयर इन्डियासँग अहिले भएका सबै विमानहरू कम्पनीले खरिद गरेका हुन् । एयर इन्डियासँग १ सय ४० वटा साना र ठूला विमान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्