भ्रष्टाचारको समर्थनमा मसाल जुलुस !



  • बालकृष्ण मैनाली

देश सेकेन्ड–सेकेन्डमा तरंगित भइरहेको छ । नागरिकका सुझावहरु अर्थहीन भएका छन् । नागरिकलाई नागरिकको तहबाट हेरेमा पाप लाग्ला भन्ने डरले शासकहरुमा घर गरिसकेको छ । नागरिकको कुरा त परै जाओस्, कम्तीमा शासक स्वयम् संलग्न रहेको दलभित्रको आफ्नै गुटका सदस्यहरुमा पनि एक–अर्कामा शंकाको घेराले नराम्रोसँग घेरिसकेको छ । गुटको नेतृत्वले गरेको निर्णय आफूलाई अपाच्य भएको अनुभूति हुनासाथ विष वमन गर्दै गुट परिवर्तन वा नयाँ गुटको सिर्जना गर्ने परम्पराको व्यापक विकास भैसकेको छ । त्यसमा कमी आउने गुन्जायस कतै देखिँदैन ।

कुरा यत्तिमा मात्रै सीमित रहेको देखिँदैन । देश नयाँ–नयाँ राजनीतिक रोगहरुबाट ग्रसित हुँदै गइरहेको छ । पछिल्लोपटक एउटा नौलो परिघटनाले देश तरंगित हुन पुगेको छ । परिघटना हो प्रदेश नं. २ को । प्रदेश २ को सरकारले एउटा लोकप्रिय कार्यक्रम ल्याएको थियो– ‘छोरी पढाऊ, छोरी बचाऊ’ । त्यस्तै खालको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम छिमेकी मुलुक भारतमा पनि लागू गरिएको थियो । ठ्याक्कै त्यही नाम मिल्ने गरी प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम लागू गर्‍यो । उक्त कार्यक्रम देश परिवेश अनुकूल ज्यादै राम्रो भए तापनि त्यहाँ हुने खर्च अपारदर्शी रहेको बारे बेलाबखत खबर बजारहरुमा चर्चा–परिचर्चा भैरहने गर्दथे । प्रदेश २ का शासकहरुलाई बेला–बेलामा सतर्क हुन र इमानदारिता देखाउन जनस्तरबाट सल्लाह र सुझाव बग्रेल्तीरुपमा प्रदान गरिएको थियो । आर्थिक पारदर्शिताको प्रश्न खरोरुपमा प्रवाह भएको थियो । यी सबै सल्लाह र सुझावहरुलाई प्रदेश २ को सरकारले रद्दीको टोकरीमा मिल्काउने काम गर्‍यो ।

अन्य रोग लागेजस्तै देश–देशावरमा भ्रष्टाचार नामको रोग लाग्नु सामान्य भैसकेको छ । प्रायः उसमाथि पनि भ्रष्टाचार त विकासोन्मुख देशको विशेषता मानिन्छ । भ्रष्टाचार नामको रोग एउटै कारणले लाग्छ । त्यो कारण भनेको अनावश्यक व्यक्तिगत महत्वाकांक्षा र लोभ नै हो । भ्रष्टाचार नामक रोगका लक्षणहरु थरी–थरीका हुन्छन् र यो रोग यसलाई मात्र लाग्छ भन्ने पनि हुँदैन । बेलैमा विचार पुर्‍याउन सकिएन र यो रोगले छोयो भने हत्तपत्त निको हुन मान्दैन । भ्रष्टाचार नामको रोगले च्यापेको शुरुवाती अवस्थामै उपचार गरेर रोगको जडलाई निर्मूल पार्न सक्यो र निर्मूल पारेको तिथिमितिदेखि उक्त रोग लाग्न नदिन सरसफाइ, व्यायामलगायत औषधि नै प्रयोग गर्नुपर्ने भए पनि दिन, महिना वा वर्ष बिराएर औषधि प्रयोग गरी तन्दुरुस्त राख्न सक्यो भने उक्त रोगले फेरि हत्तपत्त आक्रमण गर्दैन । आक्रमण गरिहाले पनि सामान्य औषधिमूलोले रोगलाई निर्मूल पार्न सकिन्छ । देश भ्रष्टाचारविरुद्धको त्यो औषधि गर्नेतिर लागिरहेको किञ्चित पनि प्रतीत हुन सकिरहेको छैन ।

प्रदेश २ मा ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण र निःशुल्क बिमा नामक परियोजना वास्तवमै उदाहरणीय कदम थियो । ती परियोजनाहमध्ये अपारदर्शीरुपमा किनिएको साइकल प्रकरणले खबर बजारमा व्यापकता पायो । कक्षा ८ मा अध्ययनरत छात्रालाई बाँड्न पहिलो लटमा १७ हजार २ सय ६२ वटा र दोस्रो लटमा १० हजारवटा एकै खाले साइकल खरिद गरिएकोमा मूल्य फरक पारी खरिद गरिएको कुरा सार्वजनिक भयो । सो कुरा सार्वजनिक भएपछि त्यसको जनस्तरमा विरोध हुन थाल्यो । यही विषयलाई अख्तियारले सो प्रकरणमा छापा मारी कागजात आफ्नो नियन्त्रणमा लिएको छ । अख्तियारले गरेको यो कार्यको विरुद्ध प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति र असन्तुष्टि जनाएका छन् । उनले असन्तुष्टि मात्रै जनाएनन्, आफ्ना समर्थकहरुलाई परिचालित गरेर अख्तियारको विरुद्धमा नारा–जुलुस नै गर्न लगाए । त्यसो गर्नु भनेको भ्रष्टाचारको जिन्दावाद भन्नु हो । प्रदेशका आठवटै जिल्लाहरुमा अख्तियारको उक्त कार्यको विरोध गर्दै मसाल जुलुसमातर्फ भ्रष्टाचारको समर्थनमा नारा लगाउने कार्य भयो ।

भ्रष्टाचाररुपी रोगले विश्वका प्रत्येक राष्ट्र विशेष गरी हाम्रा जस्ता मुलुकहरुलाई नराम्रोसँग गाँजेको कुरामा विमति छैन, मात्र प्रतिशतको तल–माथि हो । कुन–कुन देशको भ्रष्टाचारको प्रतिशत कति–कति छ भन्ने कुरा वार्षिकरुपमा निस्कने र निकालिने गरेका भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवेदनहरुले बोलेका छन् । हाम्रो देशको सम्बन्धमा चाहिँ प्रत्येक वर्ष निस्कने यस्ता प्रतिवेदनहरुले भ्रष्टाचार संस्थागतरुपले नै अगाडि बढिरहेको कुरालाई औंल्याएको छ र पछिल्लो प्रतिवेदनले पनि यही कुरालाई इंगित गरेको छ ।

धक र लाज नमानी भन्नुपर्दा हाम्रो देशमा भ्रष्टाचारका जननीहरुले नै भ्रष्टाचारको भारमार्पmत नै भ्रष्टाचारको भित्तोलाई ढलान गरी निर्माण गरिदिएका छन् । त्यसरी ढलान गरिएको भ्रष्टाचारको भित्तोलाई फोर्न जेनतेन औजारले काम गर्दै गर्दैन । त्यसलाई फोर्न सशक्त औजारहरुको आवश्यकता पर्दछ । देखावटी बोलीले भ्रष्टाचारको भित्तो ढल्दैन । भ्रष्टाचारको भित्तो त्यत्तिकै बलियो भएको हुँदै होइन । त्यो भित्तोलाई पैसा, आफन्त, राजनीतिक बेइमानी र अदूरदर्शिता, सबैलाई मिसाएर ढलान गरिएको छ । यस किसिमको समिश्रणमार्फत ढलान भई बलियो र मजबुतसाथ उभिएको भ्रष्टाचारको भित्तो सितिमिति सामान्य औजार चलाउने प्रयास गर्दैमा ढलिहाल्छ भन्ने कुराको जनजनले अहिले नै परिकल्पना गरिहालेका छैनन् ।

हुन त कहिलेकाहीँ अख्तियारले कोही कसैको स्वार्थवश नै भए पनि केही गहकिला विषयहरुलाई छानबिनको दायरामा ल्याउने प्रयास गरेको देखिन्छ, तापनि त्यो प्रयासलाई यो वा त्यो नाउँमा राजनीतिक गन्धमार्पmत छानबिन र मुद्दालाई कमजोर बनाउने प्रयास पनि त्यत्तिकै उच्च रहेको जनजनलाई अनुभूति छ । यसकारणले जसरी अन्य मामिलामा भएका र हुँदै आइरहेका भ्रष्टाचारलाई चोख्याउने प्रयास हुँदै आइरहेको थियो र छ, त्यसै गरी यो साइकले मामिलामा पनि कतै चोख्याउने प्रयास हुन्छ भन्ने जनजनको आशंका छ । केही समयको प्रतीक्षापछि यसका नालीबेली खबर बजारमा आउने नै छन् ।

वास्तवमा देशलाई समृद्धिमा लाने हो भने भ्रष्टाचारको भारले ढलान भएको भित्तोलाई कुनै पनि प्रकारले ढाल्नै पर्दछ । त्यसलाई ढाल्न सामान्य इन्जिनियरको पहुँचले मात्रै सम्भव छँदै छैन । पैसा, आफन्त, राजनीतिक बेइमानी र अदूरदर्शिताको मिश्रणबाट ढलान गरिएको भ्रष्टाचार नामको त्यो भित्तो त्यत्तिकै ढल्दैन । त्यो भित्तो ढाल्न प्रत्येक सरोकारवालाहरुको इमानदारिता भयो भने मात्र सम्भव हुन्छ, अन्यथा कोही–कोही इमानदारी इन्जिनियरको प्रयास, प्रयास मात्र हुनेछ । र, त्यसले सार्थकता प्राप्त गर्न गाह्रो हुनेछ । आपूm र आफन्त जोगाउनका निमित्त अख्तियारको क्षेत्राधिकारीलाई कटौती गर्ने खालको कानुनको निर्माण, अनि मन्त्रिपरिषद्का जस्ता निर्णय पनि नीतिगत निर्णयको परिभाषाभित्र पारिँदै जानु र ती निर्णय अख्तियारले छानबिन गर्न नपाउने भन्नु भ्रष्टाचारको भित्तो अझ मजबुत बनाउनु हो । त्यही भएर प्रदेश २ का मुख्यमन्त्रीको स्वर पनि ठूलो देखिएको हो । वर्तमानसम्म आइपुग्दा भ्रष्टाचारको समर्थनमा मसाल जुलुसमार्फत आन्दोलन गर्ने देश कुन हो भन्दा हाम्रो देश चिनिन पुगेको छ । यो भन्दा लज्जाको विषय अरु के हुन सक्ला ?

जागरुक समाज निर्माण भैसकेको परिप्रेक्ष्यमा शासकहरु जुन दलको प्रतिनिधित्व गरेर आएको भए तापनि भ्रष्टाचारको समर्थन गर्ने शासक नभएर भ्रष्टाचारलाई कठोर प्रहार गर्न सक्ने शासकमा परिणत हुन सक्नुपर्दथ्यो । चाहे त्यो ललिता जग्गा प्रकरण होस्, चाहे त्यो लाउडा, धमिजा होस् वा अन्य कुनै पनि जतिसुकै ठूलो र गम्भीर किसिमको काण्ड किन नहोस्, त्यसमा कठोर प्रहार गर्न सक्ने क्षमता भएको दूरदर्शी नेतृत्वको देशमा खाँचो रहेको बारेमा जनजन कराएको करायै छन् । विडम्बना, आजको दिनसम्म त्यो विषयमा सम्बोधन हुन सकेको छैन । भ्रष्टाचारको भारले ढलान भएको मजबुत भित्तोलाई कहिलेकाहीँ यसो कोतर्ने र चिथोर्ने कामले भ्रष्टाचारको अन्त्यको परिकल्पना गर्नु मूर्खताबाहेक केही होइन । जबसम्म पैसा, आफन्त, राजनीतिक बेइमानी र अदूरदर्शिताको गन्जागोल मिलिभगतलाई तोड्न सकिँदैन, तबसम्म भ्रष्टाचारको ‘भ’ मात्रलाई पनि छुन गाह्रो हुन्छ । हरेक क्षेत्रमा देखिइरहेको विसंगतिले यसै कुरालाई प्रमाणित गरिरहेको छ ।

यदि देशमा कुशल शासक र प्रशासकहरुले शासन सञ्चालन गरिरहेका हुन्थे भने भ्रष्टाचारीहरुले कतैबाट कुनै पनि मोलाहिजा र छुट पाउने अवस्था विद्यमान हुँदैनथ्यो । भ्रष्टाचारीहरु जहाँसुकै रहे/बसेका भए पनि कारबाहीको दायरामा आइसकेका हुन्थे । राज्यले चाह्यो भने भ्रष्टाचारीहरुलाई कानुनी दायरामा ल्याएर आवश्यक कार्यवाही गर्न कानुनीरुपले अझैँ पनि बन्देज छैन, यदि कहीँ–कतै छ भने त्यो फुकाउन जटिल पनि छैन । राज्यले आँट गरेर भ्रष्टाचारीहरुबाट असुल गर्नुपर्ने सम्पत्तिलाई मात्र असुल गर्न सक्यो र उक्त सम्पत्ति राष्ट्रको नाउँमा ल्याउने कार्यको थालनी गर्न सक्यो भने भ्रष्टाचारीहरुबाट जफत भएको/गरिएको रकमले मात्र पनि देशलाई आवश्यक पर्ने दश वर्षको बजेटको लागि कुनै दातासँग हात फैलाउनुपर्दैन । यो कार्य सम्पन्न गर्न सकियो भने दश वर्षसम्म जनतालाई कुनै किसिमको कर पनि लगाउनुपर्दैन । त्यति मात्र होइन, जनताले खानेपानी र बिजुली निःशुल्करुपमा उपभोग गर्न पाउनेछन् । शिक्षा र स्वास्थ्योपचारमा कुनै पनि जनले आर्थिक भार व्यहोर्नुपर्ने थिएन । युवाहरु सामान्य रोजगारीको लागि खाडी पुग्नुपर्ने थिएन । स्थानीयदेखि केन्द्रसम्मै यस्ता नेतृत्वहरुको खोजी जनजनले गरिरहेका छन् । कम्तीमा नजिक आइरहेको निर्वाचनले यसको उत्तर देला भन्ने आशा गर्नु अतिशयोक्ति होइन । आगामी दशैँले आउँदो निर्वाचनमा इमानदार नेतृत्व छान्ने विषयमा प्रत्येक जनलाई सफलता दिलाउने कुरामा देवी माताले सहयोग गर्नेछिन् । जनजनमा आगामी दशैँको शुभकामना ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्