७३ अर्ब बराबरको लगानी स्वीकृत



काठमाडौं, (नेस) ।

लगानी बोर्डको बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपियाँबराबरको लगानी स्वीकृति तथा पुँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् खपत वृद्धि गर्नेसम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिनुभयो ।

बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब लगानीको दोलखामा रहेको ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र संखुवासभामा हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताका अरुण ३ जलविद्युत् परियोजनामा ६२.२६ अर्ब रुपयाँको पुँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको बोर्डले जनाएको छ ।

यसै गरी, बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य–सचिवका रूपमा रहने जनाइएको छ ।

बैठकले लगानी बोर्डको आव २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको शेयर खरिद–बिक्री सम्झौता स्वीकृत गर्नेलगायतका निर्णयहरु पनि गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिका बारेमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्