सवा १२ करोड खर्चेर व्यापारिक भवन निर्माण



गणेश घिमिरे, इलाम ।

इलाम बजारमा १२ करोड १९ लाख ५४ हजार रुपियाँको लगानीमा व्यापारिक भवन सिटी मार्टको निर्माण भएको छ । नगरको ८ करोड ३५ लाख ९२ हजार, स्थानीय व्यवसायीको ३ करोड ८ लाख ९१ हजार र प्रदेशको ४० लाख रुपियाँ लगानीमा सिटी मार्ट निर्माण गरिएको हो । ७ सय ७१ वर्गमिटरमा फैलिएको यस भवनमा चारतले लिफ्टसहितको भवनमा ९६ वटा व्यापारिक सटरहरु रहेका छन् । भवनमा तीन सय ३० जना क्षमताको पार्टी प्यालेस र एक सय २० क्षमताको एक रेष्टुरेन्टसमेत रहेको छ । यीमध्ये ७६ कोठा भाडामा लागिसकेका छन् । दोस्रो तल्लाका २० कोठा भाडामा लाग्न बाँकी रहेको छ । सिटी मार्टकै अगाडि २ ब्लकमा ५ सटर निर्माण गरिएको छ । ती सटरमा पसल खुलिसकेका छन् । सिटी मार्टबाट नगरपालिकाको आन्तरिक आम्दानी बढ्ने आशा गरिएको छ । नगरले यसबाट मासिक ६ लाख ७४ हजार रुपियाँ आम्दानी गर्ने अनुमान लिएको छ । एउटै भवनमा धेरै किसिमको उपभोग्य सामग्री पाउने व्यवस्था मिलाउने नगरको लक्ष्य छ ।

सिटी मार्टमा छरिएर रहेका खुद्रा पसलहरू एकै स्थानमा रहने नगरले जनाएको छ । स्थानीय ५४ व्यवसायीले सिटी मार्ट निर्माणमा ३ लाखदेखि ६ लाख रुपियाँसम्म अग्रिम लगानी गरेका छन् । यो लगानी वापत् व्यवसायीले आफ्नो रकमले भ्याएसम्म सिटी मार्टको कोठा प्रयोग गर्न पाउनेछन् । एउटा कोठाका लागि मासिक ५ हजारदेखि १२ हजार रुपियाँसम्म भाडा तोकिएको छ । व्यवसायीले गरेको लगानीबाट भाडाको रकम कट्टी हुँदै जानेछ । अहिलेसम्म बढीमा १२ वर्षसम्म बस्नेगरी व्यवसायीले लगानी गरेको बताइएको छ । यता निर्माण सम्पन्न भएको व्यापारिक भवन सिटी मार्टको बिहीबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो भवन २०७५ असार २३ गतेदेखि शुरु भएर २०७८ भदौ ३० गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्