नेपालको अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले विस्तार हुने



काठमाडौ, (नेस) ।

नेपालको अर्थतन्त्र चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकको साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदनअनुसार २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा स्थिर बजार मूल्यमा आधारित आर्थिक वृद्धि यो दरमा हासिल गर्ने जनाएको हो।

कोभिडविरुद्धको खोप, पर्यटन गतिविधि र वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा सुधार आएकाले आर्थिक वृद्धिको सम्भावना क्रमशः राम्रो देखिँदै गएको बैंकले जनाएको छ। अघिल्लो वर्ष बैंकले १ दशमलव ८ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। यो सरकारले राखेको लक्ष्यभन्दा ३ दशमलव १ प्रतिशतले कम हो। चालू आर्थिक वर्षको बजेटबाट सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

दक्षिण एसियाली देशमध्ये माल्दिभ्सको अर्थतन्त्रको विस्तार सबैभन्दा उच्च दरमा हुने विश्व बैंकको प्रक्षेपण छ। माल्दिभ्सले २२ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने अनुमान छ। प्रतिवेदनअनुसार भारत ८ दशमलव ३, बंगलादेश ६ दशमलव ४, नेपाल ३ दशमलव ९, भुटान ३ दशमलव ६, पाकिस्तान ३ दशमलव ४ र श्रीलंका ३ दशमलव ३ प्रतिशत हुने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्