कल्पनाले तिर्खा मेटिँदैन



  • प्रेम रावत

यहाँ चर्चा गरिन लागेको कुरा एकदमै फरक छ । कसैले कुनै कुराको चर्चा गर्छ, कसैले कुनै । कसैले इतिहासको कुरा गर्छ, कसैले त्यो जमानामा यस्तो–यस्तो भएको थियो भनेर कुरा गर्छ । कसैले यति पछिको कुरा गर्दछ । जुन बेला तपाईँ यस संसारबाट जानुहुनेछ, त्यति बेला तपाईँको साथमा के हुनेछ !

भनिन्छ नि– ‘तपाईँले यस्तो गर्नुभयो भने यस्तो हुनेछ, तपाईँले यस्तो कर्म गर्नुभयो भने स्वर्ग जानुहुनेछ ।’ तपाईँले के गर्नुहुन्छ र के गर्नुहुँदैन– यी विभिन्न कुराहरू गरिन्छन् । वर्षौँ अगाडि, सय वर्ष या हजार वर्षपहिला के भयो ? यस्ता कुराको चर्चा गर्नेहरू पनि धेरै छन् ।

मानिसहरूले यस्तो कुराको पनि चर्चा गर्दछन्– ‘यस्ता–यस्ता महापुरुष आउनुभयो, उहाँहरूले यस्तो–यस्तो गर्नुभएको थियो ।’ अनि मानिसहरूले उहाँहरूको कुरा सुनी कति राम्रो कुरा भनेर पनि भन्नुभयो । तर, अहिलेको समयका बारेमा कुरा गर्ने एकदमै कम छन् । म कुरा गर्छु– ‘अहिलेको’ । तपाईँँ र हाम्रो जीवनमा यो जुन अहिलेको समय छ– यो इतिहासको कुरा होइन, ‘अब’ को कुरा हो !

यदि कोही भोको छ र उसले तपाईँकहाँ आएर ‘मलाई खानेकुरा दिनुहोस्, म भोको छु’ भन्यो अनि तपाईँचाहिँ उसलाई सम्झाउन थाल्नुहोस्– ‘फलानो–फलानो ठाउँमा दुई हजार सालपहिले एकदमै मीठा–मीठा परिकार बनाउने गर्दथे । यदि तपाईँ त्यो समयमा जीवित नै हुनुभएको भए, ती मिष्टान्न खाँदा तपाईँलाई निकै आनन्द आउने थियो ।’

अथवा, उसलाई कसैले सम्झाउन थालोस्– ‘तपाईँको यहाँ बस्ने समय पू्रा भएपछि, यदि तपाईँले जीवनमा सबथोक राम्रो गर्नुभएको छ र तपाईँ स्वर्गमा जानुभयो भने त्यहाँ तपाईँले खानका लागि लड्डु पाउनुहुनेछ, पुरी पाउनुहुनेछ– धेरै थरीका पक्वान्नहरू पाउनुहुनेछ ।’ तपाईँलाई राम्ररी थाहा छ, त्यो मानिसले के गर्नेछ ?

त्यो मानिसले तपाईँलाई छोडेर अर्को मानिससँग सहायता माग्नेछ र भन्नेछ– ‘मलाई भोक लाग्यो । के तपाईँसँग खानेकुरा छ ?’ यदि फेरि त्यो अर्को मानिसले पनि त्यसै गरी भाषण सुनायो भने ऊ तेस्रो व्यक्तिकहाँ जानेछ । ऊ कहिलेसम्म गइरहनेछ ? जहिलेसम्म उसको भोक मेटिँदैन ।

भोकको निवारण गर्नु, भोक मेटाउनु भनेकोे भाषाको विषय होइन । किनभने उसलाई सम्झाउनेहरू त यस्ता पनि होलान्, जसले भन्नेछन्– ‘वास्तवमा भन्ने हो भने त तपाईँलाई भोक नै लागेको छैन । तपाईँ किन आपूmलाई भोको ठान्नुहुन्छ ? यो त तपाईँको कर्मको फल हो । तपाईँले पूर्वजन्ममा कुनै न कुनै गलत काम गर्नुभएको थियो होला ।

त्यसै कारणले अहिले तपाईँ यस्तो दुःख भोगिरहनुभएको छ । तपाईँले खाना त पाउनुभएको छैन । यो तपाईँको कर्मको फल हो ।’ उसलाई जतिसुकै भाषण सुनाऊँ, उसलाई जतिसुकै सम्झाऊँ तर उसको भोकलाई मेटाउनु भनेको खानेकुराकै विषय हो । जब त्यो मानिसले खानेकुरा पाउँछ र उसले खानेछ– खाना पाउने मात्रै कुरा होइन, खानै पर्ने कुरा पनि हो ।

खानेकुरालाई अगाडि राख्दैमा मात्र ऊ सन्तुष्ट हुन सक्दैन । जब खानेकुरा पाउनेछ, अनि त्यसलाई खानेछ तब मात्र उसको भोक मेटिनेछ । उसको भोक मेटिएपछि मात्र उसले समस्याबाट छुट्कारा पाउनेछ । अनि ऊ सन्तुष्ट हुन सक्छ ।

हामीभित्र पनि एउटा भोक छ । हामी के ठान्दछौँ भने त्यो विभिन्न कुराहरूको भोक होला । कोही ठान्दछ, छोराको भोक हो । कोही ठान्दछ, धनको भोक हो । भनिन्छ– अपबल, तपबल र बाहुबल अनि चौथो बल हो दामको । यसको अर्थ के हो ?

यस संसारमा केही मानिसहरूले के ठान्दछन् भने, ‘अपबल’ ठूलो कुरा हो । मानिसले यस कुरामाथि गर्व गर्छ । मैले त यस्तो यो गरेँ, मैले त्यो गरेँ । म त्यहाँ गएँ । म त त्यहाँ पनि पुगेर आएको छु– यो हो ‘अपबल’ । ‘तपबल’– मैले त यो गरिदिएँ ।

मैले त त्यो गरिदिएँ, मैले दान गरेको छु । अनि बाहुबल, यो पनि त बल हो । मानिसहरू ठान्दछन्, म त हट्टाकट्टा छु । चौथो बल हो, दाम अर्थात् रूपैयाँ । मानिसहरूलाई यसमा पनि घमण्ड छ ।

यो दुनियाँको सङ्घर्षमा हामी झगडा गरिरहेका छौँ । यो युद्धमा पहिला हामी सोच्दछौँ– यदि मसँग ‘अपबल’ भयो भने मैले जित्नेछु । ‘तपबल’ भयो भने मैले जित्नेछु । ‘बाहुबल’ भयो भने मैले जित्नेछु । जब सबै कोसिस गरेर मानिस हार्दछ । जब पैसाले पनि काम गर्दैन । आफ्नो बलले पनि काम गर्दैन । तपस्याको, परिश्रमको बलले पनि काम गर्दैन । पाखुरीको बलले पनि काम गर्दैन । जब हार्दछ अनि हृदयमा शान्तिको तिर्खा लाग्छ ।

यो तिर्खा सबै मानिसको हृदयमा लाग्दछ । पहिला तिर्खा दिमागमा लाग्छ अनि मानिस यताउता जान्छ । भौँतारिन्छ र भन्दछ– ‘म त किताब पढ्नेछु ।’ उसले किताब पढ्छ र किताब पढेपछि के पाउँछ ? जुन कुरालाई हामीले विचारले, सोचाइले बुझ्न सक्दैनौँ, यदि हामीले त्यसलाई कल्पना गरेर प्राप्त गर्ने कोसिस ग¥यौँ भने पनि हामीले जे प्राप्त गर्छाैँ ती सबै निरर्थक हुनेछन्, किनकि त्यो चीज कल्पनाभन्दा बाहिरको हो ।

हामीमा सोच्ने, विचार गर्ने जुन शक्ति छ त्यो सानोतिनो होइन– एकदमै ठूलो छ । कसरी ? यदि मैले नेपालबाट अमेरिका जाने कोसिस गरेँ भने हवाईजहाजमा एक–दुई दिन लाग्न सक्छ । तर, म कल्पना गरेर नेपाल फर्किन चाहेँ भने कतिबेर लाग्छ र ? मैले त यहाँबाट हल्लिनु पनि पर्दैन । केवल कल्पना ग¥यो, कल्पनाद्वारा, विचारद्वारा म तुरुन्तै नेपालमा आइपुग्छु ।

त्यसकारण सोच्ने कुरा छ । शरीरद्वारा होइन । कल्पनाद्वारा मानिस कहाँबाट कहाँ पुग्न सक्छ । यो कल्पना शक्ति हो । खानेकुराका बारेमा, पक्वान्नका बारेमा वर्णन गरेर पुग्दैन । धेरै पटक के भएको छ भने– म वर्णन गर्न थाल्छु, अनि मानिसहरूको मुखमा पानी आउन थाल्दछ । अर्थात् कल्पनामा नै यति शक्ति भयो कि हाम्रो मुखमा पानी पनि आउन थाल्यो । त्यसकारण विचारले, शब्दहरूले हामी चीजहरूको व्याख्या गर्न सक्छौँ । शब्दद्वारा हामी, एक–अर्कोलाई थुप्रै कुराहरू भन्न सक्छौँ ।

यहीँनेर मानिसहरूको कमजोरी हुन्छ । वर्णनमा नै उनीहरूलाई यति आनन्द आउन थाल्दछ कि उनीहरू वर्णनमै अड्किन्छन् । त्योभन्दा बाहिर निस्किँदै निस्किँदैनन् । कतिपय मानिसहरू त यस्ता पनि छन्– पुस्तक पढ्न थाले भने पुस्तक नै पढिरहन्छन् । पढिरहन्छन् । एउटा होइन । त्यसपछि दोस्रो पनि पढ्छन् । त्यसपछि तेस्रो पनि पढ्छन् ।

यदि उनीहरूसँग त्यसमा लेखिएको कुरा पाउनुभयो भनेर सोध्नुभयो भने भन्दछन्, ‘अहँ पाएनौँ हजुर पाएनौँ तर, त्यसको वर्णनलाई पढ्दा रमाइलो लाग्यो ।’ जुन कुराको खोजी छ यदि त्यो पाउनुभएन भने त्यसलाई पढ्नु, उच्चारण गर्नु, त्यसको वर्णन गर्नुको अर्थ के भयो र ? त्यसको के फाइदा भयो र ?

मानिसलाई प्रत्यक्षीकरणको आवश्यकता छ । प्रत्यक्ष ! जसलाई उसले अनुभव गर्न सकोस् । महसुस गर्न सकोस् । सिद्धान्तका कुरा होइन । भोकोलाई सिद्धान्तको आवश्यकता पर्दैन । तिर्खालुलाई सिद्धान्तको आवश्यकता पर्दैन । प्यासीलाई चाहिन्छ– पानी । भोकोलाई चाहिन्छ– भोजन ।

त्यस्तै गरेर हृदयको तिर्खा तब मेटिनेछ, हृदयको तिर्खा तब तृप्त हुन्छ, जब उसले त्यो वास्तविक चीजलाई पाउँछ । त्योभन्दा पहिला होइन । यो कुराको अनुभव मानिस स्वयंले गर्नुपर्छ । ठीक छ, अब मलाई शान्ति भयो भनेर मनले मानेर हुँदैन । पहिले शान्तिको अनुभूति हुनुपर्दछ । जुन शान्तिको खोजी मानिसलाई छ, त्यो ऊभित्रै छ ।

संसारका प्रत्येक व्यक्तिले आफैँसँग के प्रश्न गर्नुपर्छ भने, ‘मेरो जीवनमा के–के सम्भावनाहरू छन् ?’ किनभने, उसले आफ्नो जीवनमा ती सम्भावनालाई पूरा गर्न कोसिस गर्न सक्दछ ।

हामीभित्र एउटा यस्तो चीज छ, जसको अनुभव गरेर हामी आफ्नो जीवनलाई सफल पार्न सक्छौँ । हामीलाई मानिसको जीवन प्राप्त भएको छ । यस जीवनमा जुन आनन्द प्राप्त गर्ने प्यास छ, त्यसलाई बुझ्न प्रयास गर्नुहोस् र त्यो सम्भावनालाई बुझ्नुहोस् । जीवन सफल बनाउने कुरा सिद्धान्त मात्रै होइन । यथार्थमा नै यो जीवनलाई सफल बनाउन सकिन्छ ।

के तपाईँलाई थाहा छ, जुन आनन्दको खोजी तपाईँलाई छ, त्यसको तिर्खा पनि तपाईँभित्रै छ र त्यो आनन्द पनि तपाईँभित्रै छ । हाम्रो त्यो आनन्दमा रहने इच्छा हुनु तथा जीवित रहँदा नै त्यो आनन्दको अनुभव गर्ने कुरा केवल दिमागी विषय होइन ।

यो कुरा हाम्रो हृदयबाट आइरहेको छ, किनभने हामी जीवित हुँदै आनन्द लिन चाहन्छौँ । ‘हामी आफूभित्र रहेको आनन्दसम्म पुग्न सक्छौँ, जुन साँच्चै नै यो जीवनमा सम्भव छ’ भन्ने सम्भावनालाई हामी कसरी पूरा गर्न सक्छौँ ? यो प्रश्न उठ्न सक्छ ।

यो सम्भावनालाई पूरा गर्न सकिन्छ । यसलाई केवल बुझ्नु आवश्यक छ ! तपाईँले यसलाई बुझ्नुभएपछि तपाईँलाई जीवनमा अनन्त आनन्दको सम्भावना छ भन्ने कुरा थाहा हुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्