कोसी करिडोर प्रसारण लाइनको पहिलो प्याकेज सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं ।

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको थियो ।

११ करोड २० लाख अमेरिकी डलर अनुमानित लागत रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारतले एक्जिम बैंकमार्फत् दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १००० मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २००० मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै एक नम्बर प्रदेशका जिल्लामा विद्युत् विश्वसनीय आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्नेछ ।

कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गर्नुभएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताउनुभयो । कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिंँदै उहाँले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताउनुभयो ।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पुर्‍याउन पूर्वाधार तयार भएको बताउनुभयो । प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताउनुभयो ।

धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोसी करिडोरको निर्माणबाट पुष्टि भएको बताउनु भयो । उहाँले अब प्राधिकरण जनतालाई विद्युत जाँदैन भन्ने सुनिश्चित गर्नतर्फ केन्द्रित हुनु सुझाव दिनुभयो ।

प्रधिकरणले कोसी कोरिडोरमा निजी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत आयोजनाहरुको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर आयोजनाहरुवाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्वन्धित सवस्टेशनहरुमा २२० के.भी. लाइनवे तथा पावर ट्रान्सफरमरको क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

आयोजनाको प्रथम चरणको कार्यको लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात दोस्रो सर्किट तार तान्ने र सम्वन्धित सवस्टेशनहरुको क्षमता विस्तारको लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर प्राधिकरणलाई लगानी जुलाईदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।

अरुण र तमोर नदी र तिनीका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमशः ८० र ७० प्रतिशत निर्माण सकिएको छ ।

दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाइ २०१८मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड) छ ।तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १ सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्