रेनेससँग हार्‍यो पीएसजी



पेरिस‚ (एजेन्सी) ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रन्सेली लिग वानमा रेनेससँग पराजित भएको छ ।

आइतबार राति रेनेसको मैदानमा भएको खेलमा पीएसजी २–० ले पराजित भएको हो । पीएसजीले ६ महिनापछि लिगमा हार बेहोरेको हो । अप्रिलमा गत सिजनको च्याम्पियन लिलले हराएपछि पीएसजी अपराजित रहेको थियो । जारी सिजन लगातार ८ खेल जितेको पीएसजीले पहिलोपटक अंक गुमाएको हो ।

लिगको शीर्षस्थानमा रहेको पीएसजीले सिजनको पहिलो हार बेहोरेको खेलमा आफ्नो पहिलो रोजाइको टोली नै उतारेको थियो । लिओनेल मेसी‚ नेयमार र क्लियन एमबाप्पे सम्मिलित आक्रमणले खेल अवधिभर थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन् । यता‚ रेनेसले भने पहिलो हाफको अन्तिम मिनेट र दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै जित हासिल गरेको हो ।

खेलको ४५औं मिनेटमा गैतान लाबोर्डले रेनेसको लागि गोल गरेका थिए । उनले कमलदिन सुलेमानाको क्रसमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमा नै फ्लाभिएन टेटले गोल गर्दै अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका लाबोर्डको असिस्टमा गोल गरेका थिए । हारका बाबजुद पीएसजीको ९ खेलमा २४ अंक रहेको छ । दोस्रो स्थानको लेन्सले ९ खेलमा १८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्