कलाकारिता गर्दागर्दै मर्न पाऊँ जस्तो लाग्छ : शिवहरि वैरागी



पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ यो थेगो कलाकार शिवहरि नेपाल ‘वैरागी’ को हास्यव्यंग्य करियरमै टर्निङ प्वाइन्ट बन्न पुग्यो। शिवहरिले जब लोकप्रिय हास्यटेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ भन्ने थेगो प्रयोग गर्न थाले, उनको परिचय नै फेरिन पुग्यो। उनलाई शिवहरि वैरागी भन्दा पनि सोही थेगोले चिनाउन थाल्यो। चार दशक लामो कलाकारिता यात्राका क्रममा ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’, ‘जिरे खुर्सानी’, ‘हर्के हवल्दार’, ‘तीतो सत्य’ ‘मेरी बास्सै’, ‘झ्याइकुटी’ ‘हेप्नी’जस्ता हास्य टेलिसिरियल, ‘उपकार’, ‘नयाँ नेपाल एक्सप्रेस’, ‘चौका दाउ’, ‘वडा नम्बर ६’ जस्ता साढे दुई दर्जन फिल्म तथा ६/७ सय नाटक, स्ट्यान्ड अप कमेडी, प्रहसन, गाईजात्रे कार्यक्रम तथा विभिन्न कार्यक्रममार्फत दर्शकको मन जित्दै आएका शिवहरि प्रायः नेता, मन्त्री, सांसदको भूमिकामा देखिने गर्दछन्। उनी कलाकारिता सँगसँगै राजनीति पनि गर्छन् र औषधि व्यवसाय उनको मूल व्यवसाय बनेको छ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

  • रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

अहिले आफ्नो व्यवसाय र केही समय टेलिफिल्मलाई पनि दिइरहेको छु। जिरे खुर्सानीमा तपाईँले ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेकोे’ भन्ने थेगो प्रयोग नगर्नु भएको भए त्यो भूमिकाबाट यत्तिको लोकप्रियता पाउनुहुन्थ्यो कि हुन्थेन होला ?

जिरे खुर्सानीमा ‘पातलीका बा’ भन्ने क्यारेक्टर गर्दा नेताजीको जस्तो चर्चा दिएको थिएन। त्यो बेलाको समय परिस्थितिअनुसार त्यो सुहाउ“दो थेगो थियो। भर्खरै जंगलबाट आएका माओवादी लडाकुहरूलाई टिका लाएर सांसदको सिट बाँडिएको थियो।

चार हजार लडाकुलाई ४० हजार पनि भनियो। केही नजानेका मानिस संविधान भनेको मन्सुली धान, पोखरेली धान भनेको जस्तै धानको जात त होला नि भन्दै ताली पड्काको र अघिपछि लागेको भरमा चिठ्ठा परे जसरी सांसद भएर पनि संविधान बनाउन अाँए।

त्यो बेलाको राजनीतिक अवस्थाअनुसारकै पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको भन्ने थेगो हिट भएको हो। जनताको कु्रा बोलेको भएकाले उक्त थेगो र मैले पनि लोकप्रियता कमाएँ। शायद समयसापक्ष थेगो नबनेको भए यो लोकप्रियताबारे सोच्न सकिँदैनथ्यो।

त्यो थेगोको शुरुआतचाहिँ कसरी भएको थियो?

कलाकार जितु नेपाल र मितज्यू शिवहरी पौडेल मिलेर असाध्यै मेहनत गरेर उक्त थेगो बनाउनुभएको हो। मैले नेताजीको भूमिका गर्दा सुहाउँछ र थेगो पनि मिल्छ भनेर मेरो लागि बनाउनुभएको थियो।

मैले पनि यो थेगोसँगै ठेट नेपाली भाषा प्रयोग गरेर ‘खप्परमा त लेरै आको र छ नि’ भन्ने जस्ता थेगो प्रयोग गरेर आफ्नो पात्रमा थप मेहनत गरेको थिएँ।

सबैलाई हँसाउने तपाईंको टाइटलचाहिँ वैरागी छ। विधा अनुसारको नाम सुहायो र ?

अहिले नाम अनुसारको काम कसको देखिएको छ र ? जो बाहिरबाट निकै राष्ट्रवादी देखिन्छन्, उनीहरू नै देशद्रोही निस्किएका छन्। कान नहुनेको नाम कर्णबहादुर, हात नहुनेको नाम हस्तबहादुर, सधैं कचकच गर्नेको नाम शान्तबहादुर भनेझैँ म पनि अरूलाई हँसाइरहने, हसिमजाक गरिरहने मान्छेको नामचाहिँ वैरागी छ।

ऊ बेला कलाकार, साहित्यकार आदिले नामको पछाडि अनौठो टाइटल राख्ने चलन थियो। मैले पनि केही भइहाल्छ कि भनेर वैरागी टाइटल राखेँ, तर अहिलेचाहिँ वैरागी टाइटलका कारण मेरो थर नै लोप हुने अवस्थामा पुगेकाले शिवहरिको पछाडि नेपाल पनि लेख्नु वैरागीचाहि” ठाउँ बाँकी रह्यो र अट्यो भने मात्र लेख्नु भन्ने ग-या छु।

पर्दामा नेताजी बनेर लोकप्रियता कमाउनुभएको तपाईं वास्तविक जीवनमा नि राजनीतिमा गर्नुहुन्छ, होइन?

हो, वास्तविक जीवनमा पनि राजनीतिबाट प्रभावित छु छोटोमोटो रूपमा राजनीति गर्छु। २०३४ सालतिर विश्वेश्वरप्रसाद कोइरालाबाट प्रभावित भएर राजनीतिमा झुकाव राख्न थालेको म २०३७ सालमा पार्टीको सदस्यता नै लिएर राजनीतिमा लागेँ।

उक्त समय केही पटक जेल पनि परियो करिब ६ महिना जति सरकारी भात खाइयो। नेपाली कांग्रेसको १३ अाैँ महाधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएर आएको छु। अबको पार्टी निर्वाचनमा पनि महाधिवेशन प्रतितिधिकै लागि लड्ने तयारीमा छु।

राजनीति गर्न सजिलो कि कलाकारिता ?

सजिलो त दुवैथरी हो नि। दुवैमा पढ्नुपर्दैन। पैसा, तिघ्रा र पाखुरी छ भने सबैले राजनीति र कलाकारिता गर्न सक्छन्।

पछिल्लो समय यही कारणले राजनीतिमा इमान्दारिता कम भएको छ। राजनीतिलाई समाजसेवाभन्दा पनि व्यवसायको रूपमा हेर्ने गरेको पाइन्छ।

हिजोआज कलाकारहरू किन यसरी राजनीतिक पार्टीमा विभाजित भएका होलान्?

अहिले राजनीतिमा नलागी केही नै काम बन्दैन अनि लागिहाल्छन नि। तर, कलाकारहरू पार्टीमा विभाजित भए पनि उनीहरूले कलाकारिता गर्दा त राजनीति गरेका छैनन् नि।

कलाकारिता र राजनीतिलाई अलग्गै राखेका छन्। कुनै पनि व्यक्तिको कहीँ न कहीँ झुकाव त भइहाल्छ नि।

राजनीति गरेर के पाउनुभयो अहिलेसम्म?

म इमानदारितापूर्वक आफू र आश्रित व्यक्तिहरूप्रति सेवा र सुरक्षाकोे भावले राजनीतिमा लागेको हुँ । मैले आजसम्म राजनीतिमार्फत गर्दै आएको समाजसेवाबाट सन्तुष्टि र मानिसहरूको माया पाएको छु।

धेरै टेलिफिल्म र फिल्ममा काम गरिसक्नुभयो, आफैं निर्देशन गर्नेबारे पनि सोच्नुभएको छ?

मैले कलाकारिता शुरू गर्दा कलाकारिता गरेर बाँच्न सक्ने स्थिति थिएन। कलाकारले पर्दाभित्र लाखाैँ करोडाैँको कुरा गरेर बाहिर आएर दुई रुपिया”को पाउरोटी खाएर फुटपाथमा सुत्ने अवस्थामा कलाकारिता शुरू गरेको हु“।

कलाकारिताबाट जीवनयापन गाह्रो भए पनि सोखको रूपमा कलाकारितालाई निरन्तरता दिइरहेको छु। कलाकारितासँगै बीपी स्मृति सामुदायिक सहकारी अस्पतालमा फार्मेसी पनि सञ्चालन गरिरहेको छु। धेरैजसो समय म व्यवसायलाई र केही समय कलाकारितालाई दिन्छु।

समय भएको भए सायद निर्देशन पनि गरिन्थ्यो होला। तर, अभिनयलाई नै धेरै समय दिन नभ्याउने भएकाले निर्देशनतिर सोच गएन। स्टेजमा भने विना स्क्रिप्ट पनि वरिपरिको घटना परिघटनालाई विषय बनाएर एक घण्टासम्मै हँसाउन सक्छु।

हास्य विधामा सफल बन्न के गर्नुपर्ने रहेछ ?

हास्य विधामा जहिले पनि समयसापेक्ष कुराहरू प्रस्तुत गर्नुपर्छ। समयअनुसार चल्नुपर्छ। गोपालराज मैनाली दाइको पालामा मुख बंग्याएर, अनुहारको हाउभाउ बिगारेर मान्छे हँसाउने चलन थियो। त्यहींबाट उहाँले निकै लोकप्रियता कमाउनुभयो।

त्यसपछि, सन्तोष पन्त दाइको हिजोआजका कुरा आयो, त्यसबाट मानिसहरू हँसाउने तरिका अलि बदलियो। अहिलेका नयाँ पुस्ता आफ्नो फरक शैलीका साथ हास्य विधामा लोकप्रियता कमाइरहेका छन्। हास्यव्यंग्यमा समय र तरिका जुन भए पनि त्यो व्यंग्य समयअनुसारको हुनुपर्छ। समाजमा भइरहेका तत्कालीन घटनाबारे बोल्नुपर्छ।

सीधै ठाडो भाषामा गाली ग-यो भने त्यो नेता हुन्छ। तर, त्यही कुरालाई घुमाएर व्यंग्यको शैलीमा दर्शकमाझ प्रस्तुत ग-यो भने त्यो कला बन्छ। कलाकारले दर्शकको बोली बोल्न सक्यो र जनताको आवाज बनेर विकृतिविरुद्ध बोलेर समाज सुधारतर्फ लाग्यो भने लोकप्रियता कमाइन्छ।

फिल्म टेलिफिल्म, स्ट्यान्ड अप कमेडी, आदिमध्ये केमा सजिलो ?

पहिले पहिले स्टेजबाट नै कलाकारिता शुरू गरेको हो। टेलिभिजनको जमाना आएपछि सिरियलमार्फत दर्शकमाझ आए पनि मलाई सजिलो भने स्टेजमा कार्यक्रम प्रस्तुत गर्नुमा नै लाग्छ।

सिरियल खेल्दा नियममा बाँधिनुपर्ने, एउटै डाइलग मिलेन भने पटक–पटक बोल्नुपर्ने, सुटिङपछि काँटछाँट गरेर मात्र टेलिभिजनमा पुग्छ। तर स्टेजमा कार्यक्रम गर्दा आफ्नो कला जस्तो छ त्यसै गरि दर्शकमाझ प्रस्तुत हुन पाइन्छ। दर्शकको रियाक्सन तुरुन्तै पाइन्छ।

राजनीति, औषधि व्यवसाय र कलाकारितालाई समय कसरी मिलाउनुहुन्छ ?

म बिपी स्मृति सामुदायिक सहकारी अस्पतालमा फार्मेसी सञ्चालन गरिरहेको छु। धरैजसो समय त रहरको कारण समय मिलाएर कलाकारितामा पनि समय दिन्छु। फिल्ममा चाहिँ लामो समय दिनुपर्ने भएकाले धेरै खेलेको छैन।

राति शुटिङ गरेर हुने रहेछ भने र सानोतिनो रोल छ भने मात्र फिल्ममा काम गर्छु। राजनीतिलाई पेसा बनाएको होइन, मानिसहरूलाई अप्ठेरो साह्रो–गाह्राे पर्दा सहयोग गर्ने हिसाबले गरेको हुनाले त्यसमा धेरै व्यस्त हुँदिन। यसरी नै चलिइरहेको छ।

यीमध्ये कमाइचाहिँ केबाट हुन्छ?

कमाइ त व्यवसायबाट नै हुन्छ नि। तर, व्यवसायमा पनि कहिले घाटा कहिले नाफा भइरहन्छ।

कोभिड–१९ को बेला फ्रन्टलाइनरको रूपमा तपाईँको अनुभव कस्तो रह्यो?

शुरू–शुरूमा त मानिसमा निकै त्रास थियो। रेडियो टेलिभिजनमा समाचार आउँदा पनि त्यहींबाट सर्छ कि भन्ने सोच्थे। त्यतिबेला भागाभाग हुँदा हामी भने निरन्तर बिरामीलाई आवश्यक औषधिलगायत स्वास्थ्य सामग्री जुटाउनमा खटिइरहेका थियौँ।

एम्बुलेन्सबाट बिरामी ल्याउँदा मानिसहरू परपर हुन्थे। ती बिरामीलाई एम्बुलेन्सबाट झार्ने लगायतका काम गरियो र पनि स्वास्थ्य सावधानी अपनाएका कारण अहिलेसम्म मलाईचाहिँ कोरोना भाइरस संक्रमण भएको छैन। स्वास्थ्य अवस्था कमजोर भएका बिरामीको निधन भयो भन्दा दुःखी हुन्थ्यौँ, अर्को बिरामी कोभिडलाई जितेर डिस्चार्ज भएर घर फर्किदा खुसी हुन्थ्यौँ।

त्यो बेला केही पनि नचलेको र अन्य सवारीको व्यवस्था नभएको कारण एक दिनचाहिँ घरमा बसियो। नत्र २४सै घण्टा खटिइरहेको हुन्थें। अहिले संक्रमण त्यो बेलाभन्दा धेरै कम छन्। धेरैले खोप पनि लगाएको हुनाले जोखिम पनि अलि कम नै छ। तर, हामी नेपालीको कडा ग-यो भने घरभित्रै बस्ने, अलिकति खुकुलो ग-यो भने भिडभाड गर्ने बानी छ।

अहिले ५९ वर्ष भएँ, त्यसैले अब ४/५ वर्ष मात्र औषधि व्यवसाय गर्छु। त्यसपछि जीउ ज्यानले साथ दिएसम्म कलाकारिता गर्छु। यतिका वर्षसम्म कलाकारितामा बिताइयो कलाकारिता गर्दागर्दै मर्न पाऊँ जस्तो लाग्छ। बाँकी रहेको समय मानिसको घरदैलोमा पुगेर उनीहरूको दुःख सुन्ने र परेकालाई सहयोग गर्ने सोच छ।

प्रतिक्रिया दिनुहोस्