एनसेलले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम कार्ड दिने



न्युज अफ नेपाल, काठमाडौँ ।

टेलिकम कम्पनी एनसेलले ज्येष्ठ नागरिकका लागि निःशुल्क सिम सहितको विशेष योजना ल्याएको छ ।  कम्पनीले बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रवारदेखि उक्त योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । योजना अन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूले एनसेलको  सिम निःशुल्क लिन सक्नेछन् ।  ५० रुपैयाँबढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनस पाउनेछन् । यस्तै पहिलो पटक ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउनेछन् ।

पहिलो रिचार्जपछि उक्त सिमबाट ज्येष्ठ नागरिकहरूले ६ महिनासम्म विशेष छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्ने पनि कम्पनीले उल्लेख गरेको छ । ग्राहकले विशेष छुट अन्तर्गत रु १ प्रति मिनेटमा भ्वाइस सेवा, रु १ प्रति एमबीमा डेटा सेवा र रु १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्नेछन् ।

यससँगै रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समय सीमा रहेको २०० एमबी डेटा बोनस स्वरूप पाइनेछ। त्यस्तै रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउनेछन् । रु २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ ।

निःशुल्क सिम पाउन के गर्ने ?

ज्येष्ठ नागरिकहरूले निःशुल्क रूपमा एनसेल सिम प्राप्त गर्न आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपी दिनु पर्नेछ । सो प्रक्रिया पश्चात् सजिलै सिम कार्ड प्राप्त हुन्छ र सिम कार्ड पाएपछि उक्त विशेष योजनाका सेवा, सुविधाको लाभ लिन  सकिने छ ।

यो योजना असोज २२ गते सम्म सञ्चालनमा रहनेछ । यस योजनाले ज्येष्ठ नागरिकहरूलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरूसँग डेटाको माध्यमबाट डिजिटल्टी सम्पर्कमा रही रहन पनि सहयोग पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्