माईबेनी हाइड्रोद्वारा व्यावसायिक उत्पादन शुरू, तल्लो जोगमाई अन्तिम चरणमा



गणेश घिमिरे, इलाम  ।

निजी क्षेत्रबाट निर्माण गरिएको ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेको छ । आयोजनाले विभिन्न चरणको परीक्षण सम्पन्न गरी विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) बमोजिम १५ दिन प्रधिकरणलाई निःशुल्क विद्युत् उपलब्ध गराएको थियो । माईखोलाको पानीलाई २ हजार ५ सय मिटरको सुरुङमार्फत माइबेनी नजिक खसालेर विद्युत् उत्पादन निर्माण गरिएको हो ।

आयोजनाबाट वार्षिक ५३ दशमलव २८ गिगावाट घन्टा ऊर्जा हुने जनाइएको छ । ऊर्जा डेभलपर्स ग्रुपको कम्पनी सामलिङ पावरद्वारा निर्माण भएको आयोजनाले आउँदो मंसिरदेखि मात्र व्यापारिक उत्पादन गर्ने सम्झौता भए पनि लक्ष्यभन्दा दुई महिना अगावै काम सम्पन्न गरेर व्यावसायिक उत्पादन थालेको हो । आयोजना सम्पन्न गर्न २ अर्ब रुपियाँ खर्च भएको कम्पनीको भनाइ छ । इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाबीचमा उक्त आयोजना निर्माण गरिएको हो । आयोजनाले २०७५ साल वैशाख ६ गते विद्युत् उत्पादनको अनुमति प्राप्त गरेको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको खरिद बिक्री सम्झौताअनुसार सुक्खायाममा ८ रुपियाँ ४० पैसा र बर्खायाममा प्रतियुनिट ४ रुपियाँ ८० पैसामा प्राधिकरणले विद्युत् खरिद गर्नेछ । माई–बेनीको कुल १२ लाख ३० हजार कित्ता सधारण शेयर (आईपीओ) मध्ये आयोजना प्रभावित बासिन्दाप्रति लक्षित पाँच लाख कित्ता शेयर निष्कासन समेत गरिसकेको छ ।

यस्तै थप सात लाख ३० हजार कित्ता शेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि चाँडै खुल्ला गर्ने जनाएको छ । ऊर्जा डेभलपर्सकै अर्को सहायक कम्पनीमार्फत इलाममै निर्माण भइरहेको ६ दशमलव २ मेगावाटको तल्लो जोगमाई जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी महिनाबाट यसले पनि व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

इलामको माई, जोगमाई र पुवामाईमा गरी १८ वटा विद्युत् आयोजना निर्माण भइसकेका छन । जिल्लाको अहिले कुल विद्युत् उत्पादन क्षमता १ सय ४० मेगावाट पुगेको छ । केन्द्रीय प्रसारणमा यहाँ उत्पादित विद्युत् पुर्‍याउन कावेली करिडोरले सघाएको छ । राजदुवालीको सवस्टेसनमा यहाँ उत्पादित विद्युत् पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्