रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो



काठमाडौं, (नेस) ।

रसुवागढी नाका हुँदै नेपाल आयात गरिने सवारी साधनको संख्या बढेको छ । चालू आर्थिक वर्षमा सो नाका हुँदै ट्रक डम्फर ३५, मिनी बस ६, माइक्रो बस १६, कंक्रिट मिक्सरलरी ३, डेलिभरी भ्यान २, ठूलोक्रेन १, विद्युतीय कार ४, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर ४, ट्रक ६ र साइकल ३६ आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट साना– ठूला गरी ५६८ सवारी साधन भित्रिएका थिए । यस वर्षमा सवारी साधनको आयात संख्या उच्च हुने संकेत देखिएको छ । चिनियाँ सवारी साधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँली चालकले ल्याउने गरेको र भन्सार जाँच पास भएपछि नेपाली चालकले गन्तव्यसम्म पुर्‍याउने गरेको कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताउनुभयो ।

निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले जनाएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्युटरका पार्टस, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् ।

दशैं नजिकिँदै गर्दा व्यवसायीले स्याउ आयातमा समेत तीव्रता दिन थालेका छन् । असोज लागेयता २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलको साथसाथै सबै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् ।

उत्पादक कम्पनीलाई समान माग गरेपछि चिनियाँ मुसा टासपोर्ट कम्पनीले रसुवागढीसम्म ढुवानी गर्ने गरेको छ । चालू आवमा चीनबाट आयात भएका सामग्रीबाट कुल १ अर्ब ५९ लाख ९ हजार ४८ रुपियाँ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत् आपूर्तिमा अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँच पासका कठिन भएको कर्मचारीको भनाइ छ । रसुवामा प्रायः सबै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दो भने हुन सकेका छैनन् । विद्युत्को वैकल्पिक व्यवस्थाका लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनको लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो । अधिकांश समय स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरुद्ध भइरहँदा जाँच पास भएका मालवाहक सवारी साधन पार गराउन तीन दिन लाग्ने समस्या छ ।

प्रतिक्रिया दिनुहोस्