प्रजनन अंगको समस्या ढुसी संक्रमण



– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

अहिले भारतबाट प्रसारण हुने टेलिभिजनमा ‘महिलाहरुको लागि विशेष’ भनेर उनका गोप्य अंगहरूलाई सफा गर्नको निम्ति केही मलमहरूको विज्ञापन आउँछ ।

वास्तवमा कुनै पनि साबुन, मलम आदिको प्रयोग गरेर ‘गुप्तांगलाई जीवाणुरहित’ बनाउनुपर्दैन, हुँदैन । सेतो पानी बग्नु महिलाको समस्या हो, सेतो पानी बगे शरीर कमजोर हुन्छ भन्ने भ्रमपूर्ण विचार धेरैले पालेको पाइन्छ । तर वास्तवमा प्रजनन अंगबाट नगन्हाउने सेतो पानी बग्नु प्राकृतिक कुरा हो ।

यसले प्राकृतिक रुपले नै प्रजनन अंग सफा राख्छ । यदि पीपजस्तो बग्न थाल्यो, गन्हाउने माछाजस्तो पानी बग्न थाल्यो, धेरै चिलायो भनेचाहिँ कुनै संक्रमण भयो कि भनेर सम्झनु र उपचार गर्नुपर्छ । सामान्य सेतो पानी बग्दा केही डराउनुपर्दैन ।

कसै–कसैको महिनावारी शुरु हुनुभन्दा अघि सेतो स्राव बढी हुन्छ, यो सामान्य हो । कतिपय महिलाहरूले भित्री वस्त्रहरू फोहोर र सफा नगरी लगाउँँदाचाहिँ संक्रमण हुनसक्छ । यसको लागि सरसफाइमा बढी ध्यान दिनुपर्छ । तर महिलाको स्वास्थ्यमा नै असर पर्ने गरी अनेक थरीका ‘इन्टिमेट वास’ अर्थात् गोप्य अंगलाई सफा गर्नुपर्ने भनेर आउने वस्तु प्रयोग गर्न जरुरी छैन, गर्नु पनि हुँदैन ।

महिनावारी भएको बेलामा कसैलाई गुप्तांग बढी चिलाउने भयो भने मनतातो पानी र नुनले गोप्य अंग सफा गरे पुग्छ । अनेक थरीका बास्नादार साबुन प्रयोग गर्नुपर्दैन, हुँदैन पनि । यस्ता साबुनहरूले गुप्तांगमा रहेका असल कीटाणुहरुसमेत नष्ट गर्छन् ।

महिनावारी भएको बेलामा कसैलाई गुप्तांग बढी चिलाउने भयो भने मनतातो पानी र नुनले गोप्य अंग सफा गरे पुग्छ ।

कतिपय ठाउँमा महिलाहरूले महिनावारीको लागि प्रयोग गरेका टालाहरू घाममा देखाउनुहुँदैन भनेर कोठामा मात्र सुकाएर प्रयोग गर्छन् । ती टालाहरूबाट ‘ढुसी’ संक्रमण हुनसक्ने सम्भावना धेरै हुन्छ । त्यसैले महिनावारीको बेलामा प्रयोग गर्ने कपडा सफा गरी साबुनले धोएको र राम्रोसँग घाममा सुकाएको हुनुपर्छ ।

जसले आधुनिक प्याड प्रयोग गर्छ, उसले पनि प्याड समय–समयमा फेर्नुपर्छ । कतिपयलाई अन्य विभिन्न कारणले पनि ढुसीको संक्रमण हुनसक्छ । जस्तो– एन्टिबायोटिक औषधिको बढी प्रयोग, मधुमेहको समस्या बढ्यो भने शरीरको रोगसँग लड्ने शक्ति कम भएका बेलामा र परिवार नियोजनका साधनहरूको प्रयोग गर्दा पनि गुप्तांगको ढुसी बढ्न सक्छ ।

गर्भावस्थामा समेत कुनै–कुनै महिलालाई ढुसी संक्रमण हुनसक्छ । तर ढुसी संक्रमण यसरी विज्ञापनमा आएको ‘इन्टिमेट वास’ जस्ता वास प्रयोग गरेर ठीक हुँदैन । यसरी ढुसी संक्रमण नहोस् भनेर केही उपायहरू अपनाउन सकिन्छ ।

ढुसीको संक्रमण ‘यौनरोग’ होइन । यसको बारेमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन हिचकिचाउनुहुँदैन । ढुसी संक्रमण हुँदा गुप्तांगमा धेरै चिलाउने, रातो हुने हुन्छ । सामान्य अवस्थामा ढुसीले त्यो बेला दुःख दिन्छ, जब गुप्तांगको प्राकृतिक रसमा केही समस्या पर्छ ।

यसबाट बच्न पहिलो त खानाबाट चिनी र पत्रु खाना हटाउनुपर्छ । मोटा महिलालाई यो समस्या बढी हुने सम्भावना हुन्छ । स्वीमिङ पुलमा नुहाउँदा लामो समयसम्म पानीमा बसिरहने गर्नुहुँदैन । विशेष गरी भित्री लुगाहरू खुकुलो र सुतीको लगाउनुपर्छ । त्यसै गरी रोगसँग लड्ने शरीरको शक्ति बढोस् भनेर भिटामिन ‘सी’ जस्तो– अमला, कागती भएका खानाको प्रयोग गर्न सकिन्छ ।

महिनावारीको बेलामा यदि शारीरिक सरसफाइ भएन भने नराम्रो गन्ध आउन सक्छ । त्यसबाट बच्न पर्याप्त मात्रामा सफा पानीको प्रयोग गरेर जननेन्द्रिय पखाल्नुपर्छ । जननेन्द्रियलाई पानीले पखालेपछि नरम कपडाले पुुछेर सुुख्खा राख्नुुपर्छ । भिजेको ठाउँमा ढुुसी संक्रमण हुुनसक्छ ।

यस्तो बेलामा र अन्य समयमा पनि गुप्तांगमा विभिन्न प्रकारका स्प्रे, बास्ना आउने वस्तु (डियोडोरेन्ट) आदि छर्कन हुँदैन । यस्ता वस्तुले शरीरको प्राकृतिक रसायनहरूलाई बिगार्छ । स्वस्थ र सफा राख्ने नाममा अनेक थरीका पाउडरहरूको प्रयोग गर्नु पनि उचित हुन्न ।

झन्डै एक महिनाअघि एक युवा पत्रकारले मलाई फोन गरिन् र भनिन्, ‘मेरो गुप्तांगमा चिलाउँछ, रातो छ, गन्हाउने पानी बगेको छ, के गर्ने होला ? कुन स्त्रीरोग विशेषज्ञकहाँ जाने होला ?’ मैले उनको जीवनशैलीको बारेमा सोधेँ । उनी धेरै चिनी हालेको पेयपदार्थ र पत्रु खाना त दिनदिनै खाने रहिछन् ।

त्यसै गरी उनले अनेक किसिमका साबुन र क्रिमले गुप्तांग सफा गर्दिरहिछिन् । मैले उनलाई सल्लाह दिएँ, ‘पहिले त चिनी र पत्रु खाना खान छोड । अनेक थरीका साबुन प्रयोग नगर । साथै चिलाउने समस्या कम गर्न तीतेपाती वा नुन उमालेर मनतातो भएपछि चौडा मुख भएको लुगा धुने बाटामा थचक्क बस्नू । बिहान–बेलुका यसो गरेपछि चिलाउन र दुख्न कम हुन्छ । यदि दुई दिनपछि सहज भएन भने कहाँ जचाउने भनेर सल्लाह दिऊँला ।’

दुई दिनपछि त उनले खुशी भएर भनिन्, ‘मेरो समस्या त नुन–पानीले नै चट भयो, यसको बारेमा लेख्नुपर्छ कि क्या हो ?’

यस्तो समस्या धेरै युवतीहरूलाई हुने भए पनि उनीहरू अरुलाई भन्न लाज मान्छन् । महिलाहरूलाई हुने अर्को समस्या मूत्राशयको संक्रमण हो । यो बेलामा पिसाब गर्दा एकदम पोल्ने, पिसाब गर्न जाँदा तुरुक्क मात्र पिसाब आउने तर एकदम गाह्रो हुने, ज्वरो आउने, ढाड दुख्नेजस्ता समस्या पनि हुन्छ । शारीरिक बनोटको कारणले पनि महिलाहरूलाई पुरुषको तुलनामा बढी मूत्राशयको संक्रमण हुन्छ ।

यदि महिलाहरूले केही साधारण कुरामा ध्यान दिए भने यो समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । जस्तो– पर्याप्त मात्रामा पानी (कागती–पानी, मही, दूध) आदिको प्रयोग गर्नुपर्छ । पिसाब लामो समयसम्म रोकेर बस्नुहुँदैन । महिलाहरुले कतै यात्रामा जाँदा चर्पी नपाउँदा पिसाब रोकेर बस्नुु पनि मूत्रनलीको संक्रमणको कारण हुुनसक्छ । पिसाब गरिसकेपछि कतिपयले पानीले सफा गर्छन् । त्यो राम्रो बानी हो तर पानी सफासँग सुक्ने गरी पुछ्नुपर्छ । पिसाबको बारम्बार संक्रमण भएमा मिर्गौैलामा समस्या पर्न सक्छ ।

त्यसै गरी गुप्तांगमा चिलाउने समस्या महिलाहरूको रजोनिवृत्ति भएपछि देखिन सक्छ । शरीरमा हुने केही हर्मोनको कमी भएर छाला चिलाउने हुनसक्छ । यस्तो बेलामा गुप्तांगमा नरिवल वा तोरीको तेल लगाउन सकिन्छ । त्यस्तै ८–९ महिनाको गर्भ भएपछि गर्भवती महिलालाई पनि गुप्तांग चिलाउने समस्या, खुट्टाको छाला चिलाउने समस्या हुनसक्छ । त्यस्तो बेलामा पनि यस्तो तेलको प्रयोग गर्न सकिन्छ ।

संक्रमण भएर ज्वरो आयो र गुप्तांगबाट पीपजस्तो बग्न लाग्यो भने स्वास्थ्यकर्मीकहाँ गएर सल्लाह लिनै पर्छ । 

मूत्राशयको बारम्बार संक्रमण नहोस् भनेर योगका केही आसनहरूको प्रयोग गर्न सकिन्छ । सुत्केरी महिलाहरूलाई पनि सरसफाइमा पर्याप्त ध्यान दिन लगाउनुपर्छ । नत्र झन् गुप्तांगमा संक्रमण भएर ज्वरो आउने र बिरामी पर्ने सम्भावना हुन्छ ।

गुप्तांगमा संक्रमण नहोस् भनेर नुन, तितेपाती वा नीम राखेको पानी उमाली मनतातो पानीले पनि गुप्तांग सफा गर्न सकिन्छ । हेर्दा र पढ्दा साधारण लाग्ने यस्ता घरेलु उपचारले पनि धेरै फाइदा गर्छ ।

तर संक्रमण भएर ज्वरो आयो र गुप्तांगबाट पीपजस्तो बग्न लाग्यो भने स्वास्थ्यकर्मीकहाँ गएर सल्लाह लिनै पर्छ । घरेलु उपचारले मात्र फाइदा नगर्न सक्छ । तर यस्तो अवस्था नआओस् भनेर पहिले नै सतर्क हुनुपर्छ ।

पोलिस्टर तथा नाइलनले बनेका भित्री लुुगाहरु प्रयोग गर्दा पनि ढुुुसी संक्रमण बढ्न सक्छ । यस्ता कपडाहरु प्रयोग गर्दा हावा खेल्न नपाएर गुुप्तांगमा तातोपन भइरहन्छ र ढुसी संक्रमण बढ्न सक्छ ।

दही–मही खाँदा यसले पनि ढुसी संक्रमण कम गर्छ । अझ विभिन्न योगासन जस्तो– सूूर्य नमस्कार, उत्कटासन, मलासन आदिले पनि मूत्राशयको संक्रमण कम गराउन मद्दत गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्