बोर्डका अध्यक्षमाथिको छानविन सकियो



काठमाडौं, (नेस) ।

‘इन्साइडर ट्रेडिङ’ प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथिको छानविन पूरा भएको छ । ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलबार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाउनुभयो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो ।

अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका लगानीकर्ताको हित रक्षामा सहयोगी हुने अर्थमन्त्रीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्