इन्द्रजात्रा सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समिति प्रतिबद्ध छ



इन्द्रजात्रा काठमाडौंवासीका लागि महत्वपूर्ण चाडका रूपमा लिने गरिन्छ। नेवार समुदायले वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुरुआत गर्ने गर्दछन्। भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याएपछि इन्द्रजात्रा शुरू गर्ने प्रचलन रहेको छ। यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा शुरू भएको मानिन्छ।

इन्द्रजात्रा शुरू भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि शुरू हुने गर्दछ। एक सातासम्म चल्ने इन्द्रजात्राको मुख्य दिन आइतबार कुमारीघरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने गरिन्छ। सोही दिन राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रहेको छ।

पौराणिक कथाअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाले शुरू गरेको तीलाव्रतलाई आवश्यक पालिजाःस्वाँ (पारिजातको फूल) टिप्न मत्र्यलोक आउँछन्। एक मालीको बगैंचामा फूलेको फूल चोरेर लैजान लाग्दा स्थानीय बासिन्दाले इन्द्रलाई चोरको आरोपमा सिँल्यं सतः (काष्ठमण्डप निर्माणपछि बचेको काठबाट निर्मित सत्तल) अगाडि सजायस्वरूप बाँधेर राख्छन्। पछि राजा र स्थानीय बासिन्दाले उनी इन्द्रदेव भएको थाहा पाउँछन् र त्यसपछि ससम्मान जात्रा गरी स्वर्ग फकाइदिन्छन्। त्यसै बेलादेखि इन्द्रजात्रा शुरू भएको किंवदन्ती पाइन्छ । ‘इन्द्रध्वजोत्थान’ का क्रममा लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। लिंगो ठड्याइएपछि वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा पर्व शुरू हुन्छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत स्थानमा मनाइन्छ। यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रही आएको छ।
यस वर्ष कोरोना संक्रमणको दर नघटे पनि नेवार समुदायले यस पर्वलाई सभ्यरूपमा मनाउने तयारी गरेको छ। सरकारले चडपर्वका नाममा भीडभाड नगर्न आग्रह गरे पनि यसका अनुयायीहरू भने आफ्नो परम्परालाई नछोड्ने बताउँदै आएका छन्। यस वर्षको इन्द्रजात्रामा सुरक्षा व्यवस्थापन र भौतिक दुरी कायम गरी पर्व मनाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा हामीले स्थानीय समाजसेवी तथा इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गत नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, विपद् व्यवस्थापन, स्थानीय संघ–संस्था समन्वय तथा स्वयंसेवक परिचालन उपसमितिका संयोजक गणपतिलाल श्रेष्ठसँग कुराकानी गर्ने प्रयास गरेका छाैँ। वसन्तपुरबाट शुरू हुने यस पर्वमा हुन सक्ने सुरक्षा चुनौती, इन्द्रजात्रा व्यवस्थापन, कोरोना संक्रमणको डरलगायतका विषयमा उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप :

कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेको अवस्था छ। इन्द्रजात्राको माहोल बढ्दै गएको छ। यस जात्रालाई व्यवस्थित बनाउने योजना के–के छन् ?

स्वास्थ्य मापदण्डलाई प्राथमिकता दिँदै १८ वर्षभन्दा मुनिका बालबालिका, वृद्धवृद्धा, असक्त, अपांग, बिरामी तथा खोप नलगाएका व्यक्तिहरूलाई जात्रामा सहभागी नगराउने सचेतना कार्यक्रमहरू शुरुआत गरेका छौं। काठमाडौंभित्र खोप लगाउन बाँकी रहेका जनसमुदायलाई खोपको अभियानलार्ई बढाउन स्थानीय निकायलाई आग्रह गर्दछाैँ । तीन देवी–देवताका रथको दुरी फराकिलो गरी जात्रामा सहभागी हुने बाजाको संख्या पनि न्यून गरिने तयारी गरेका छौं। जात्रामा सहभागी हुनेहरूलाई स्थानीय क्लब र संघ–संस्थाले मास्क नलगाएकालाई मास्क लगाउन आग्रह गर्ने मास्क वितरण गर्ने, ठाउँ–ठाउँमा साबुनपानीको व्यवस्था गर्ने स्यानिटाइजरको समेत व्यवस्था मिलाइएको छ। यसपटक उज्यालोमा नै रथयात्रा शुरु गरेर सम्पन्न गर्ने योजना बनाएका छौं। यसअघि भने राति पनि रथ तान्ने गरिन्थ्यो।
यसपटक टाढाबाटै दर्शन गर्न सकिने गरी रथमा बत्तीको व्यवस्था गरिँदै छ। यसपालि रथ निश्चित संख्यासहित सम्बन्धित माहानेहरूले तान्ने व्यवस्था मिलाइएको छ।

कोरोनाको खोप नलगाएकालाई जात्रामा सहभागी नहुन यहाँहरूले गरेको आग्रहलाई मान्लान् त ?

हामीले केही हप्तादेखि सम्बन्धित टोलको प्रतिनिधित्व हुने गरी, देशको अस्तित्वसँग जोडिएको जात्रालाई निरन्तरता दिनका लागि कोभिड–१९ लाई ध्यानाकर्षण गर्दै सबैबाट आएको सुझाव बमोजिमको यो निर्णय हो। यसको परिपालना हुन्छ भन्नेमा हामी आशावादी छौं।

हजारौं मानिस एकैपटक जम्मा भएर पर्व मनाउँदा कोरोना संक्रमण फैलियो भने यहाँहरूले अवगालको भारी बोक्नुपर्ने अवस्था आउन सक्छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

यो चुनौती हाम्रो लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ। त्यसै कारण हामीले व्यवस्थापनमा बढी ध्यान दिएका छौं। योसँगै हाम्रो परम्परालाई निरन्तरता दिनुपर्ने जिम्मेवारी हाम्रै काँधमा छ। राजधानीमा धेरै मानिसले खोप लगाइसकेको र जात्रामा सहभागी हुनेहरूलाई मास्क अनिर्वाय गरिएकाले पनि संक्रमण फैलँदैन भन्नेमा हामी ढुक्क छाैँ।

खास गरी युवा समुदाय यस पर्वमा बढी सक्रिय हुने गरेको पाइन्छ। सामान्य भनाभनले पनि कहिलेकाहीं उग्र रूप लिन सक्छ। सुरक्षाको व्यवस्थापन कसरी गर्नुभएको छ ?

यसपटक स्थानीय संघ–संस्थाले नै आ–आफ्नो क्षेत्रमा अपनत्व लिने गरी जिम्मेवारी लिएका छन्। शान्ति सुरक्षा कायम गर्नका लागि सम्बन्धित प्र्रशासनसँगै स्थानीय युवाहरू परिचालन गरिने हुँदा त्यस्तो केही समस्या आइपरे पनि सहज ढंगले यसको व्यवस्थापन हुनेमा हामी निर्धक्क छौं। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, नेपाली सेनाको सार्दुलजंग गुल्म, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, जुद्ध वारुण यन्त्रसमेत संयुक्तरूपमा परिचालन हुने भएकाले खासै समस्या आउला जस्तो लाग्दैन। सुरक्षा व्यवस्थापनका लागि झन्डै ६३ वटा संघ–संस्थासमेत सहभागी हुने भएकाले उहाँहरू समेत व्यवस्थापनमा खटिने जानकारी यहाँलाई गराउँदछु। इन्द्रजात्रा अवधिभर ट्राफिक व्यवस्थापनमा समेत ध्यान दिएका छौं।

पर्वका नाममा हुने मादक पदार्थ सेवनले पछिल्लो समय विकृत रूप लिएको पाइन्छ। मादक पदार्थ सेवन नगरी यो पर्व मनाउन सकिँदैन ?

विगतभन्दा अहिले धेरै परिमार्जन भइसकेको छ। प्रसादका रूपमा ग्रहण गर्ने र सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने विकृति फैलाउने फरक कुरा हुन त्यसैले सार्वजनिक स्थानमा मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

यो पर्व मनाउन संघीय सरकार र स्थानीय सरकारबाट कस्तो सहयोग पाउनुभएको छ ?

स्थानीय सरकार निर्वाचित भएर आइसकेपछि यस जात्रा सञ्चालनको प्रमुखभार ग्रहण गर्नुभएको छ, जुन सह्रानीय छ। यसले परम्परादेखि चल्दै आएको इन्द्रजात्रा पर्वलाई व्यवस्थितरूपमा उत्साहजनक बनाउन थप टेवा पुगेको आम जनमानसले महसुस गरेका छन्। स्थानीय सरकारले नै आवश्यक पूर्ण सहयोग गरेकाले संघीय सरकारसम्म पुग्नुपरेको छैन। संघीय सरकारसँग हाम्रो एउटै अपेक्षा काठमाडांै उपत्यकाको गुठी स्वायत्त गरी सरकारले संयोजनकारी भूमिका निर्वाह गरिदियोस् भन्ने छ।

समाज आधुनिकतामा प्रवेश गरेसँगै यस प्रकारका पर्वलाई जोगाउन यहाँहरूले कस्तो पहल गर्नुभएको छ ?

पहिलो कुरा जात्राको मर्म र महत्व बुझाउने प्रयासमा हामी लागिपरेका छौं। हाम्रो परम्परालाई चीरकालसम्म निरन्तरता दिन जिम्मेवारी हस्तान्तरणसहितको विधिलाई अवलम्बन गर्दै हाम्रो अस्तित्वसँग जोडिएको मूर्त–अमूर्त संस्कृति जीवन्त राख्ने लक्ष्य बमोजिम प्रयासरत छौं।

व्यवस्थापनमा आधुनिकताअनुसार सहजीकरणलाई प्राथमिकता दिएका छौं। यस कारण पनि यो पर्व अन्य पर्वजस्तो लोप भएर जाने सम्भावना एकदमै न्यून रहेको छ। हामीले सामाजिक सञ्जालको सदुपयोग गरेर विश्वमा नै यसको महत्व फैलाउन लागिरहेका छौं।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

कोरोना संक्रमणको महामारीलाई संवेदनशीलतालाई ध्यानमा राखी जात्रामा सहभागी हुन सबैलाई अनुरोध गर्दछौं। आ–आफ्नो क्षेत्रबाट आफूले सक्ने सहयोग गर्न सबैलाई अपिल पनि गर्दछौं। यसपटक पनि अन्तिम दिनमा महिलाहरूले रथ तान्ने परम्परालाई निरन्तरता दिएका छौं।

प्रस्तुति : दीपक रिजाल

प्रतिक्रिया दिनुहोस्