काठमाडाैँ उपत्यकाको पहिचान इन्द्रजात्रा



श्रीकृष्ण महर्जन

काठमाडाैँमा हुने महत्वपूर्ण जात्रा भनेको इन्द्रजात्रा नै हो। कुमारी, भैरव र गणेशको पनि रथयात्रा हुने यस जात्रालाई नेवाः समुदायले येँयाः भन्ने गरेका छन्। येँ भनेका काठमाडाैँ र याः भनेको यात्रा अर्थात् जात्रा हो। काठमाडौंको यो जात्रा कुमारी जात्राको नामबाट पनि प्रख्यात छ।

जात्रामा मात्र रथ तान्ने मात्र होइन विभिन्न किसिमका नाचको प्रदर्शनदेखि विभिन्न देवी–देवताहरूको प्रदर्शनसमेत रहेकाले यसलाई विविधता भएको जात्राका रूपमा पनि लिन सकिन्छ। कुमारी, भैरव र गणेशको रथ जात्राको क्रममा इन्द्रध्वज उत्थान, दी प्याखं, लाखे नाच, महांकाल नाच, दशअवतार प्रदर्शन, पुलुकिसि नाच, बौमत, दागिं, इन्द्रको प्रदर्शन, गौदान, सवभकु नाच प्रदर्शन गरिनछ। त्यसै गरी बाखादेय् आजु, वंघः आजु, स्वच्छन्द भैरव, श्वेत भैरव, विभिन्न आजुद्यः प्रदर्शन गर्ने चलन छ। त्यसै गरी, भैरव अर्थात् आजुद्यःहरूको मुखवाट हाथु हायेकेगु पनि चलन रहेको छ भने कानफट्टा र वसुन्धारा पूजा गर्ने चलनसमेत रहेको पाइन्छ। त्यसैले यो विविधता भएको काठमाडौंको पहिचान बोकेको संस्कृतिका रूपमा लिन सकिन्छ।

किंवदन्ती

परापूर्वकालको कुरा। स्वर्गमा इन्द्रकी आमालाई व्रत बस्न पारिजातको फूल आवश्यक भयो। स्वर्गलोकमा नभएको तर मत्र्यलोकको नेपालमण्डल काठमाडौंमा मात्र भएको पारिजातको सो फूल लिन जान इन्द्रकी आमाले इन्द्रलाई काठमाडौं पठाए। इन्द्र पारजातको फूल लिन सेतो हात्ती चढी स्वर्गलोकवाट मत्र्यलोकको नेपालमण्डलमा पुगे। आफ्नो आमा व्रत बस्नका लागि चाहिने पारिजातको फूल खोज्दै हिँडे इन्द्र। सोही क्रममा काठमाडौंको मरु टोलको तल बगैंचामा पारिजातको फूल फुलेको रहेछ। इन्द्रले सोही फूल टिपे। फूल टिप्दै गर्दा इन्द्रलाई काठमाडौंका नेवाः समुदायले पारिजातको फूल चोर भनी समाते। सो बेलाका मालीहरू अर्थात् गथुहरू अत्यन्तै तान्त्रिकरूपमा शक्तिशाली भएका कारण इन्द्रलाई फूल चोर भनी समाटी काठमाडौंको दरबार स्क्वाय् काष्ठमण्डपको दायाँतिर गःकुति भन्ने स्थानमा थाममा बाँधेर राखे। चोर भनी इन्द्रलाई नै सामाते। प्रत्येक वर्ष इन्द्रकै नाममा जात्रा मनाउन पाउनुपर्छ भनी काठमाडौंवासीले भने। त्यसलाई इन्द्रले स्वीकार गरे। आफ्नो प्रतिनिधित्वमा वा आफैँ पनि आउने वचन दिए। सोही घटनाको सम्झनास्वरूप प्रत्येक वर्ष काठमाडौंको चोक–चोकमा इन्द्रको मूर्ति राख्ने र इन्द्रजात्रा मनाउने चलन शुरू भयो। यही घटनाबाट इन्द्रजात्रा शुरू भएको मानिन्छ। त्यसैले नै यस जात्रालाई इन्द्रजात्रा भनिएको हो। सोही दिनदेखि काठमाडौंका विभिन्न सडक सडकमा इन्द्रको मूर्ति बनाई बाँडेर राखेका कारण नै काठमाडौंको जात्रालाई इन्द्रजात्राका रूपमा मनाएको किंवदन्ती रहेको छ।

दी प्याखं

इन्द्रजात्राको क्रममा महत्वपूर्ण जनस्तको क्षेत्रका रूपमा लिएको क्षेत्र भनेको किलाघः क्षेत्र हो। सो क्षेत्रमा किलाघः अर्थात् किल्लाको घट रहेको छ। सो क्षेत्रमा यंलाथ्व सप्तमीको राती अष्टमीको बिहान हुनुभन्दा अगाडि नै काठमाडौंको ज्यापु समुदायले देवीनाच देखाउनुपर्ने चलन रहेको छ। सो नाचलाई स्थानीय भाषामा दी प्याखं भन्ने गरिन्छ। परम्परागत खिं, धाः बाजाको तालमा दी प्याखंको प्रदर्शनको क्रममा भैरव, कुमारी, चन्दी, दैत्य, कवं, वेत्ता, ख्याःको नाच देखाइन्छ। सो नाच किलाघःका कुमारीको उपस्थितिमा प्रदर्शन गर्ने चलन रहेको छ। गुणकामदेवको पालामा काठमाडौंमा ठूलो हैजाको प्रकोप भएको थियो। काठमाडौंमा आएको समस्यालाई लिएर राजालाई पनि चिन्ता भयो। सो क्रममा सपनामा देवी आएर आफ्नो नाच प्रदर्शन गरेमा हैजाको महामारी समाधान हुने बताएको र त्यसपछि किलाघःमा देवी नाच सिकाउने काम र प्रदर्शनसमेत गरेको इतिहास रहेको छ।

नाचको क्रममा कवं व वेताले नाच हेर्न आउनेहरूलाई विभिन्न किसिमबाट मनोरञ्जनसमेत दिने गरिन्छ। र दैत्यलाई भैरवले बध गर्न प्रयास गर्छ। भैरवले बध गर्न नसकेपछि अन्तमा दैत्यलाई कुमारीले बध गर्न खोज्दा दैत्य डबली छाडेर भाग्ने मूर्त अभिनय प्रदर्शन गर्ने चलन छ। नेपाल संवत्को तिथिअनुसार चथाको समयदेखि शुरू भई काया अष्टमीको दिनमा पिदनेगु प्याखं भनी शुरुआतका रूपमा नाच प्रदर्शन गर्ने चलन छ। यो नाच इन्द्रजात्राभरि नै प्रदर्शन गरिन्छ। नाचको क्रममा गीतसमेत गाउने चलन छ।

यःसिं अर्थात् इन्द्रध्वज

नालाबाट ल्याएको यःसिं अर्थात् इन्द्रध्वजलाई भोटाहिटीमा तेल लगाई देवताका रूपमा मान्ने चलन रहेको छ। इन्द्रध्वजको क्रममा यंलाथ्व अष्टमीको दिनमा साइतमा भोटाहिटी क्षेत्रमा इन्द्रध्वजलाई पूजाआजा गर्नुपर्ने चलन रहेको छ।

सो क्रममा मानन्धर समुदायका साथसाथै गुरुजु पल्टन अर्थात् सेनासमेत सहभागी हुन्छ। राज्यको प्रतीकका रूपमा हनुमानध्वाखा हेरचार कार्यालयको तर्फबाट खड्ग बोकी एक व्यक्ति आउने गर्दछन्। खड्गको सुरक्षाका लागि अर्थात् राज्यको प्रतीकमा आएका व्यक्तिको सुरक्षाका लागि द्वारपालका रूपमा दुई जना सुरक्षाकर्मीसमेत हुन्छन्। जात्राको क्रममा रथमा नै बस्ने र इन्द्रध्वजारोहणको समयमा समेत सो खड्ग बोकी सहभागी हुनुपर्ने चलन छ। त्यसपछि हर्षबढाइँका साथ इन्द्रध्वजलाई

काठमाडौं नगर प्रवेश गराइन्छ। सो क्रममा इन्द्रध्वजलाई सांस्कृतिक बाजासहित नेपाली सेना र मानन्धर समुदायले तानेर असन, इन्द्रचोक हुँदै हनुमानढोकामा लाने गरिन्छ।

पुलुकिसी

यंलाथ्व द्वादशीकै दिनमा किलाघलबाट पुलुकिसी नाच निकालिन्छ। किंवदन्तीअनुसार इन्द्रले सेतो हात्ती ऐरावत चढेर आएका कारण इन्द्र जात्राको क्रममा सेतो हात्तीको नाच प्रदर्शन गरिएको स्थानीयवासी बताउँछन्। हात्ती राख्ने अर्थात् हात्तीसारलाई नेपालभाषामा किसिगः भनिन्छ त्यही नै अपभ्रंशका रूपमा किलाघः भएको स्थानीयवासीको भनाइ रहेको छ। किलागःमा तीनथरिका हात्ती रहेका छन्। रातो हात्ती, सेतो हात्ती र कालो हात्ती। सेतो हात्ती ऐरावत हात्ती हो। इन्द्रले सेतो हात्ती चढेर आएका बेलामा किलागः क्षेत्रमा नै राखेको स्थानीयवासीको भनाइ रहेको छ। धा बाजाको तालमा सांस्कृतिकरूपमा महत्वपूर्ण दीप मुस्याः बोक्दै पुलुकिसीलाई नेतृत्व गरिन्छ। सो नाच किलाघःबाट विभिन्न स्थानमा देखाउँदै वसन्तपुर क्षेत्रमा लानुपर्ने चलन छ। यता इन्द्रले किलागःमा हात्तीलाई बाँधेर राखे, उता इन्द्रका आमालाई पारिजात फूल आवश्यकता थियो, यता इन्द्रलाई काठमाडौंवासीले चोर भनी समातेर बाँधिराखेको समयमा ऐरावत हात्ती आफ्नो मालिक खोज्नका लागि यताउता खोज्दै गएको दृश्य नै पुलुकिसि नाच हो।

सवःभकु

यंलाथ्व द्वादशीकै दिनमा हल्चोकका नेवाः समुदायभित्र पुतवारहरूले सवःभकु नाच किलाघः क्षेत्रबाटै प्रदर्शना ल्याउने गरिन्छ। यो नाचलाई स्थानीयवासीले घिन्दलि सिन्ताड. नाच भन्ने गरिन्छ। तीन देवीको सो नाच हलचोकका पुतवार समुदायको जीवन्त संस्कृति हो। सवः, भकु र भैरव गरी तीन देवी–देवताको प्रतीकका रूपमा सो नाच हनुमानढोका क्षेत्रमा ल्याउनुपर्ने प्रचलन रहेको छ। यो नाच आकाश भैरवको नामबाट प्रख्यात रहेको छ। सो जात्राको क्रममा हलचोकबाट पुतवारहरू आई किलाघः क्षेत्रमा बस्ने र सोही क्षेत्रवाट इन्द्रजात्राभरि नै सो नाच निकल्ने गरिन्छ। नाचको क्रममा वसन्तपुरमा प्रदर्शन गर्ने गरिन्छ।

लाखे

यंलाथ्व द्वादशीकै दिनमा जैसीदेवलस्थित लाखेघरमा लाखेको मुकुटलाई विशेष प्रकारबाट पूजाआजा गर्ने चलन रहेको छ। पूजाआजापछि सोही दिनमा लाखेनाचको शुरुआत हुन्छ इन्द्रजात्राका लागि। यो दिन जैसीदेवल क्षेत्रमा लाखे नाच प्रदर्शन गरिन्छ। इन्द्रजात्राको एउटा महत्वपूर्ण सांस्कृतिकरूपमा लिएको सो नाच नेवाः समुदायभित्र रञ्जितकारहरूले देखाउँदै आएको छन्। लाखेलाई देवताका रूपमा आजु भनेर लाखे आजु भनी मान्ने र दानवको रूपमा पनि मान्ने गरिन्छ। रातो कपाल भएको रातो मखुण्डोको आकर्षक लाखे र सानो बच्चा पनि हुन्छ नाचका क्रममा। सो बच्चालाई झ्यालिंच भन्ने गरिन्छ। ती दुईबीच झ्यालिंचाले लाखेलाई जिस्क्याउने र लाखेले लखेट्ने कार्य नाचको क्रममा गरिन्छ। मजिपाः लाखे पनि भनिने सो लाखे नाच प्रत्येक वर्ष इन्द्रजात्राको क्रममा मात्र देखाइने गरिन्छ।

महांकाल नाच

इन्द्रजात्राको क्रममा यंलाथ्व द्वादशीकै दिनदेखि भक्तपुरको हनुमानढोका क्षेत्रमा महांकाल नाच प्रर्दन गरिन्छ। सो दिनमा नै बेलुकी विभिन्न देवी–देवताहरूो सो नाच हनुमानढोकाको बाहिर हजारौं दर्शकबीच प्रदर्शन गरिन्छ। सांस्कृतिक बाजाको तालामा मूलरूपमा महालक्ष्मी, महाकाली र कुमारीको नाच देखाउने गरिन्छ। सो नाच लगातार आठ दिनसम्म देखाउने परम्परा रहेको छ।

दश अवतार

यंलाथ्व द्वादशीकै दिनदेखि वसन्तपुरको कुमारीघर नजिकै रहेको प्यागोडा शैलीको कलात्मक मन्दिरमा दश अवतार दिनदिनै देखाउने गरिन्छ। विष्णुका विभिन्न १० अवतार दिनदिनै देखाइन्छ। मत्स्य, वराह, वामनलगायत विभिन्न अवतार दिनदिनै सर्वसाधारणका लागि देखाइन्छ। विष्णुका दश अवतार देखाउने भनिन्छ।

उपाकु वनेगु

यंलाथ्व द्वादशीकै दिनमा वर्षभरिका आफन्तको निधन भएका परिवारबाट जाने विशेष प्रकारको पूजालाई उपाकु वनेगु भनिन्छ। उपाखा उले शब्दबाट उपाकु वनेगु भएको हो। उपाखा भनेको बाहिरी क्षेत्र उले भनेको घुम्ने हो। यसको अर्थ काठमाडांैको बाहिरी शहर परिक्रमा गर्ने हो। काठमाडौं अर्थात् कान्तिपुर शहरको बाहिर क्षेत्रमा रहेका विभिन्न चैत्य र पीठहरूमा बाजागाजासहित परिक्रमा गर्नेलाई नै उपाकु वनेगु भनिन्छ। काष्ठमण्डप क्षेत्रको मरु ख्यः क्यब, चसाद्धँ, कंगः, न्यत, थहिति, कमलादी, भोटाहिटी, महाबौद्ध, सुन्धारा, गणवहाल, न्हूघः, भीमसेनस्थानलगायत क्षेत्रमा परिक्रमापश्चात् पुनः मरु क्यबमा पुगेपछि समापन गरिन्छ। उपाकु जानेलाई पितृ मोक्षका लागि पनि भन्ने गरिन्छ। द्वादशीको दिन ‘उपाकु वनेगु’ भनेर वर्ष दिनभित्र मृत्यु भएका आफन्तका नाममा उनका परिवार काठमाडौंको भित्री शहरमा नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो दियो बालेर राख्दै जान्छन्। यसरी काँचो दियो बालेर राख्दै जाने पितृ मोक्षका लागि गरिने परम्परा रहेको छ। वर्ष दिनभित्र मृत्यु भएका आफन्तलाई स्वर्गको बाटो देखाउन भनी यसरी बत्ती दिएर जाने चलन रहेको छ। नेवार संस्कारमा काँचो दियो मृत्यु संस्कारमा मात्रै चलाइन्छ ।

क्वने याः

इन्द्रजात्राको क्रममा यंलागा चतुर्दशीको दिनमा हनुमानढोका क्षेत्रमा राष्ट्रप्रमुखको उपस्थितिमा लाखे नाच, पुलुकिसि नाच, सव भकु नाच प्रदर्शन गरिन्छ। सो क्रममा हनुमानढोका क्षेत्रमा गणेश, कुमारी, भैरवको कलात्मक रथ तयारी अवस्था राखेको हुन्छ। हजारौं जनसमुदायको बीचमा लाखे नाच, पुलुकिसि नाच, सवभकु नाच प्रदर्शन गर्दे कुमारी, गणेश र भैरवको रथ यात्राका लागि तयारी गरिन्छ। सो स्थानबाट नै साइटमा नै कुमारी रथ जात्रा शुरू हुन्छ।

बाजागाजासहित तीनवटै रथ अघि–अघि लाखे पुलुकिसि र सवः भकु नाचलाई काठमाडौंको क्वने क्षेत्र अर्थात् तल्लो स्थानमा लगिन्छ। रथ जात्राको क्रममा सांस्कृतिक बाजाजागासहित जैसीदेवल अर्थात् न्हूघःमा जात्रा पुन्छ। जात्राको पछि–पछि गुरुजु पल्टन पनि जानुपर्ने चलन छ। क्वने क्षेत्रमा गरिने जात्रालाई क्वनेयाः भनिन्छ। क्वने भनेको तल्लो क्षेत्र र याः भनेको यात्रा अर्थात् जात्रा हो। सो जात्राको क्रामा जैसीदेवल क्षेत्रमा रहेको दबलीमा दीप्याखं अर्थात् देवीनाच प्रदर्शन गरी रहनुपर्ने प्रचलन छ। हजारौं जनसमुदायको उपस्थितिमा सवः भकु, पुलुकिसि र लाखे सो क्षेत्रमा पुगेपछि पूजा गर्ने चलन रहेको छ। साथै जात्राका क्रममा गणेश, भैरव र कुमारीलाई समेत पूजा गर्ने चलन छ। जात्रालाई निरन्तरूपमा अगाडि लाने गरिन्छ। रथ जात्रलाई ब्रह्म टोल हुँदै हिउमत क्षेत्रमा लगिन्छ। हिउँ भनेको घुमेको र मत भनेको बत्ती हो। घुमेको बत्ती भएको कलात्मक एक घर रहेको टोलाई नै हिउमत भनिन्छ। रथ जात्रा सो स्थानमा ल्याउने क्रममा सो घरमा हिउमत अर्थात् घुमेको दीप बाली बत्तीलाई पनि घुमाइराखेको हुन्छ। इन्द्रजात्राको यो पनि एक प्रकारको विशेषता हो। रथ जात्राको क्रममा रथलाई परिक्रमा गर्दै भीमसेनस्थान हुँदै पुनः वसन्तपुर क्षेत्रमा ल्याई पहिलो दिनको कुमारी जात्रा समापन गरिन्छ। पहिला–पहिला लाखे र सवःभकुको भेट हुन दिनुहन्न भन्ने धारणा थियो तर अहिले भने सँगसँगै नाच्दै गएको पाइन्छ।

दागिं

कुमारी रथ (जात्रा) लाई जब क्वने याः भनी तल्लो क्षेत्रमा परिक्रमा गरी वसन्तपुरमा ल्याइन्छ त्यसपछि काष्ठमण्डप क्षेत्रबाट दागिं निकाल्ने तयारी गरिन्छ। दागिंलाई इन्द्रको आमाका रूपमा लिने चलन छ। सेतो वर्णको दागिं सँगसँगै वर्षभरि निधन भएका आफन्तजन नगर परिक्रमा गर्ने चलन छ। आफूहरू फेरि फर्केर (जन्मेर) आउन नपरोस् भनी बिबः अर्थात् शतबीज छर्कंदै जाने चलन रहेको छ। सो दागिं जात्रा हनुमानढोका क्षेत्रबाट माथिल्लो क्षेत्र अर्थात् थने क्षेत्रमा लगिन्छ। वसन्तपुर क्षेत्रबाट प्याफः, न्यत, थाय्मरु, असं, जनबहाः, वंघः हुँदै वसन्तपुरमा पुग्ने गरिन्छ। दागिं जात्रा माथिल्लो क्षेत्रमा परिक्रमा गरी क्वःने क्षेत्रमा लाने गरिन्छ। सो जात्रा माथिल्लो टोल र तल्लो टोल दुवै क्षेत्र परिक्रमा पश्चात् काष्ठमण्डप क्षेत्रमा पुगेपछि समापन गर्ने चलन रहेको छ। दागिं सँगसँगै हिँड्नेहरू काष्ठमण्डपको मरुहिटिमा पुगी मुख धुनेसमेत गर्छन्। दागिं जात्रालाई इन्द्रका आमा दागिंले आफ्नो छोरा इन्द्रलाई काठमाडौंवासीले बाँधेर राखेका कारण खोज्न आएकी हुन् भन्ने जनधारणा रहेको छ। इन्द्रकी आमाले मृतक परिवारलाई स्वर्गमा लगेर भेट गराइदिन्छु भनी एक वर्षभित्र आफन्तजनहरूको निधन भएका परिवारलाई परिक्रमा गराएर भागेको भन्ने किंवदन्ती पनि रहेको छ।

बौ मत

दागिं नगर परिक्रमाको क्रममा थने क्षेत्रमा लाने क्रममा काष्ठमण्डप क्षेत्रमा नै मानन्धर समुदायले बौमत निकाल्नका लागि तयारी गर्छन्। लामो बाँसमा राखिएको बत्तीलाई नै बौमति भनिन्छ। जब दागिं जात्रा थने क्षेत्रको परिक्रमा गरी क्वने क्षेत्रमा लगिन्छ त्यही समयमा बौमत भने थने क्षेत्रमा लाने गरिन्छ। दागिं र बौमत विपरीत धु्रबमा परिक्रमा गर्नुपर्ने र यात्रा अर्थात् जात्राको क्रममा भेट गराउन नहुने जनधारणा रहेको छ। बौमत ल्याउनेहरू थने क्षेत्रको यात्रा सकिएपछि क्वने क्षेत्रमा परिक्रमा गर्नुपर्ने चलन छ।

थने याः

क्वनेयाः भएको भोलिपल्ट अर्थात् यंलागा पूर्णिमाको दिनमा पुनः वसन्तपुर क्षेत्रबाट गरिने जात्रलार्य थःनेयाः भनिन्छ। अघिल्लो दिनमा जस्तै लाखे, सवःभकु, पुलुकिसि नाचपछि गणेश, भैरव र कुमारीको रथ लाने चलन रहेको छ। रथजात्रा वसन्तपुरवाट प्याफः, न्यत, थाय्मरु, असं, जनबहाः हुँदै वंघः अर्थात् आकाश भैरव क्षेत्रमा पुग्छ। जात्रा इन्द्रचोक अर्थात् वंघः क्षेत्रमा पुग्नुअघि नै इन्द्रचोकमा दीप्याखं अर्थात् देवीनाच प्रदर्शन गरिरहनुपर्ने चलन रहेको छ। जब इन्द्रचोक अर्थात् वंघः क्षेत्रमा जाा पुग्छन् सोही समयमा वंघः आजु अर्थात् आकाश भैरवमा हाथु हायेकेगु गरिन्छ। सो समयमा बाखा देय् आजुमा पनि हाथु हायेकेगु गरिन्छ। जात्राको क्रममा क्वनेयाःमा जस्तै सांस्कृतिक बाजादेखि गुरुजु पल्टनसमेत ल्याउनुपर्ने र जात्रा पुनः हनुमानढोका क्षेत्रमा पुगेपछि सो दिनको जात्रा पनि समापन भएको मानिन्छ। यसरी कुमारीको जात्रा क्वने र थनेमा गर्नु भनेको जनताहरूको अवस्था के–कस्तो छ भनी कुमारीले बुझ्ने अथवा हेर्ने हो। परापूर्वकालमा कुमारी जात्राको क्रममा कुमारीले थने र क्वने क्षेत्रको अवलोकन पश्चात् राज्य सञ्चालनका लागि राजालाई सांस्कृतिकरूपमा मान्यता दिने कि नदिने भन्ने हुन्छ। राज्य राम्रोसँग चलिरहेको छ भने फेरि राज्य गर भनी राजालाई टीका प्रदान गर्ने र टीका दिएन भने सोही राजाले राज्य चलाउन नपाउने मान्यता रहेको थियो। यो एक किसिमको सांस्कृतिकरूपमा राज्य एक वर्ष फेरि सञ्चलानका लागि नवीकरण गर्ने चलन पनि हो।

गौ दान

पूर्णिमाको भोलिपल्ट परेको दिनमा सुलं भनी केही पनि गरिँदैन भने त्यसको भोलिपल्ट द्वितीयाको दिनमा भने वसन्तपुरमा गौदान दिने चलन छ। द्वितीया बुधबारको दिनमा परे तृतीयाको दिनमा गौदान गरिन्छ। सो दिनमा वसन्तपुरको कुमारी घरसँगै रहेको डबलीमा विशेष प्रकारबाट तान्त्रिक पूजा गरिन्छ। कुमारी जात्राको क्रममा बाहिरबाट आफ्नो घरमा आइपुगेका कारण शुद्ध हुनका लागि भनी गौदान गर्दै आइएको हो। तलेजुका पुजारीका तर्फबाट तान्त्रिकरूपमा पूजा गर्ने र ब्राह्मणलाई गाई दान दिने गरिन्छ। सो क्रममा मल्लकालीन खड्गको समेत सहभागिता गराउनुपर्ने चलन छ। सो खड्ग कर्मचार्य पुजारीहरूले नै ल्याउने गरिन्छ।

नानिचा याः

इन्द्रजात्राको क्रममा यंलागा तृतीयाको दिनमा पुनः वसन्तपुर क्षेत्रबाट पुनः जात्राको तयारी गरिन्छ। नानिचा भन्ने महिलाको नाममा नानिचा याः शुरू भएको मानिन्छ। क्वने र थःनेजात्रमा जस्तै नानिचा याःमा पनि लाखे, पुलुकिसि र सवःभकु अघि–अघि गणेश, भैरव र कुमारीको रथ पछि–पछि तानी लाने गरिन्छ। सो जात्राको क्रममा मूलरूपमा किलाघः क्षेत्रलाई केन्द्रविन्दु बनाएको हुन्छ। राणाकालदेखि मात्र शुरू भएको नानिचा याः हो। तत्कालीन अवस्थामा राणाहरूले नानिचा नाम गरेको महिलाको नाममा यो जात्रा शुरू गरेको मान्दै आएको छ। पछिल्लो समयमा नेपाल संवत् ११३२ देखि नानिचा याःको क्रममा नारीले मात्र रथ तान्ने शुरूबाट भएको छ। सो जात्राको क्रममा किलाघः क्षेत्रमा दीप्याखं देखाउनुपर्ने प्रचलन रहेको छ। जात्राको क्रममा वसन्तपुरबाट प्याफः, न्यत हँुदै किलाघः क्षेत्रमा लाने गरिन्छ। सो जात्रा किलाघः क्षेत्रमा परिक्रममा पश्चात् भ्याय्चा द्यः, वंघः हुँदै पुनः वसन्तपुर क्षेत्रमा लगी समापन गर्ने चलन छ। नानिचा याःकै दिनमा राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका प्रसाद लिने चलनसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्