जीवित संस्कृतिको प्रतीक इन्द्रजात्रा



उद्धवमान कर्माचार्य

नेपालको जात्रा–पर्व राष्ट्रिय संस्कृतिको पहिचान हो। यसमा पनि हामी नेपालीमाझ हरेक जात्राको आफ्नोपन र उल्लासमय परम्परा झल्किएको छ। यस परिवेशमा नेपालको राजधानी विशेष गरी काठमाडौं (कान्तिपुरी नगरी) मा इन्द्रजात्राको विशेष महत्व छ। किंवदन्तीअनुसार देवताका राजा इन्द्रकी आमाले श्रीका व्रत बस्न विशेष फूल पुष्प (पारिजात) जुन कान्तिपुरी नगरमा मात्र रहेको जानकारी पाई छोरा इन्द्रलाई पारिजातको फूल लिन पठाएको पाइन्छ।

त्यस बेला परिजातको फूल लिन आएका इन्द्रलाई कान्तिपुरका बासिन्दाले पुष्प चोर्ने को हो भनेर पक्राउ गरी बीच बाटोमा बाँधेर राखे। लामो समयसम्म आफ्नो छोरो नफर्केपछि आमाले दिव्यदृष्टिले हेर्दा कान्तिपुरमा आफ्नो छोरालाई बाँधेर राखेको थाहा पाई मुक्त गराउन आउनुभयो। इन्द्रले कान्तिपुरमा नियमित वर्षा गराउने, सहकाल कायम गर्न सघाउने वाचा गरेर फर्के। यसै बेलादेखि इन्द्रजात्रा पर्व मनाउँदै आएको किंवदन्ती पाइन्छ।

यसबाट काठमाडाैँ (कान्तिपुर) उपत्यकामा उत्सवका साथ विभिन्न देव–देवी नाचअन्तर्गत स्वर्गका राजा इन्द्रको समेत उपस्थिति रहने किंवदन्ती छ। साथै, भैरव शक्तिको धार्मिक महत्वसहित हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि असोज कृष्णपक्ष चौथीसम्म उल्लासका साथ इन्द्रजात्रा मनाउने परम्परा छ।

इन्द्रजात्रामा काठमाडाैँको भित्री शहर अर्थात् वसन्तपुर क्षेत्रको तल्लो टोल र माथिल्लो टोलमा जीवन्त जात्रा मनाउने प्रचलन छ। हामी सम्पूर्ण नेपालीहरूका माझमा सदियौंदेखि इन्द्रजात्रा पर्व मनाउने परम्परा रहेको छ।

यसको महत्वलाई नियाल्ने हो भने वर्णन गरेर साध्यै छैन। यस कारण नेपाल र नेपालीहरूको जीवन्त जात्रा अति अतुलनीय, शौभाग्यपूर्ण र गर्व गर्नलायक जात्रामध्ये एक पर्दछ। यसरी इन्द्र जात्रासँग जोडिएका मल्लकालीन राजा जयप्रकाश मल्लले जीवित कुमारी, गणेश र भैरवलाई रथमा विराजमान गराई तल्लो टोल र माथिल्लो टोलमा जात्राको परिक्रमा गराएको विश्वास गरिन्छ।

विडम्बना के छ भने इन्द्रजात्रा ८ दिनसम्म मनाइन्छ। तर, श्रीको रथजात्रा गर्दा जम्मा दुई दिनमात्र गरिएको पाइन्छ। पहिला तल्लो टोल जात्रा भाद्र शुक्ल चौथीका दिन र माथिल्लो टोलको जात्रा पूर्णिमाको दिनमा गरी सोही दिन श्रीकुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने चलन छ।

विशेषतः पूर्णिमाको दिनमा टीका लगाउँदा राष्ट्रमा राम्रो हुने मल्ल राजाहरूमा ठूलो विश्वास थियो। पछि शाहकालीन राजा पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण भएपश्चात् पनि उक्त जात्रालाई निरन्तरता दिने काम भयो। राणाकालीन श्री ३ प्रधानमन्त्रीबाट किलागलबाट अन्तिम आश्विन पितृपक्ष चौथीका दिनमा रथ तान्ने प्रचलन थप गरिएको इतिहासमा वर्णन गरिएको पाइन्छ। यसरी सोही दिनमा नै श्रीका बाहुलीबाट टीका ग्रहण गर्ने चलनले निरन्तरता पाएको छ।

सोहीअनुरूप श्रीकुमारीको जीवत्व काठमाडौंको तलेजु भवानीका अन्तरदृष्टि मानवीय स्वरूप श्रीकुमारी, श्रीगणेश, श्रीभैरवमा भाद्र शुक्ल द्वादशीका दिन साँझपख श्रीमा विधिवत तलेजुका मूल पुजारीद्वारा तान्त्रिक विधिअनुसार कुमारी घरमा निमन्त्रणा गर्न श्रीमा पूजाद्वारा तलेजु मूल चोकमा श्रीको आगमन गराई विषेश तान्त्रिक गोप्य पूजा गरेपछि मात्र श्रीहरूको जात्रामा संलग्न हुने विधि विधान रही आएको छ। यसरी तलेजुमा विशेष पूजा गरेपछि मात्र जात्रा गर्न स्वीकृत हुने प्रचलन छ। यसरी श्रीहरू श्रीतलेजु भवानीका अदृश्य शक्तिका रूपमा पुजिँदै आएको पाइन्छ।

इन्द्रजात्रामा विभिन्न देवदेवी नाच, भक्तपुरको थिमीबाट महाकाली नाच प्रस्तुत गरिन्छ। काठमाडौंका किलागल दैत्य नाच, जैसीदेवलको नाच, इन्द्रचोकस्थित दैत्य मुकुट नाच, हनुमानढोकामा द्वादशीको दिनमा लिंगो उठाउँदा दैत्यदेवी र अन्य देवदेवीको नाच गरिन्छ। जात्रा एक किसिमको उल्लासमय हुन्छ। तरसो नाच भाद्र शुक्ल द्वादशीदेखि सम्पूर्ण देवी–देवता नाच, लाखे नाच, पुलुकिसी नाच, हल्चोक भैरव नाचैनाचहरूको आगमनले जात्रा अति शोभायमान हुन्छ। यसका कारण जात्रामा थप आकर्षण बढ्छ। खास गरी, यी नाचहरूमा उपत्यकाका नेवार समुदायको सांस्कृतिक पहिचान र सभ्यता छर्लङ्ग हुन आउँछ।

यसरी तल्लो र माथिल्लो टोलका विभिन्न मौलिक बाजा कुमारीजात्रामा संलग्न रहँदै आएका छन्। सयौं वर्ष पुरानो र नेपाको परिचय दिने यो जात्राले विश्वमा नेपाल जात्रैजात्रा मान्ने देशका रूपमा परिचित छ। इन्द्रजात्रा अवलोकन गर्न विश्वभरबाट लाखौं पर्यटक काठमाडौं आउने गरेका छन्। कोभिडका कारण यसपटक विदेशी पाहुना आउन नसके पनि उपत्यकाका असंख्य संस्कृतिप्रेमी नेपालीहरू जात्रा अवलोकन गर्न आउने निश्चित छ।

(कर्माचार्य तलेजु भवानीका मूल पुजारी हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्