इन्द्रजात्रा कहिले–कहिले रोकियो ?



सुरेश किरण

संघीय राजधानी काठमाडौं अनेक सम्पदा र संस्कृतिले भरिएको शहर हो। त्यसैले पनि यो शहरमा नारा दिइएको छ– ‘सांस्कृतिक शहर काठमाडौं महानगर।’ काठमाडौंमा मनाइने अनेक जात्रामध्ये इन्द्रजात्रा सर्वाधिक लोकप्रिय र सर्वाधिक संख्यामा मानिस जम्मा हुने पर्व हो। अन्वेषकहरूले यस जात्रालाई नेपालमा मनाइने सबै जात्रामध्ये सबैभन्दा प्राचीन जात्रा भनेका छन्।

तर, केही वर्षदेखि यो जात्रा बिथोलिएको छ। कोरोना महामारीका कारण इन्द्रजात्राजस्तो राष्ट्रप्रमुखदेखि सामान्य नागरिकसम्म सहभागी हुने जात्रा मनाउन पाइरहेको छैन। एक वर्ष भयो इन्द्रजात्रा नमनाइएको। यस वर्ष भने संस्कृतिप्रेमीहरूको जोडबलका कारण जात्रा मनाउने निर्णय गरिएको छ। र, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरूको पूर्णपालना गरी जात्रा सञ्चालन गरिँदै छ। सदियौंदेखि चल्दै आइरहेको जात्रा रोकिनु काठमाडौंवासीका लागि सानो सकस थिएन। इन्द्रजात्रा रोकिनु भनेको काठमाडौंका लागि एउटा जात्रामात्र रोकिनु होइन। जात्रा रोकिनाले काठमाडौंका स्थानीयवासीको वार्षिक दिनचर्याको एउटा ठूलो हिस्सासमेत रोकिन पुगेको थियो। त्यो अहिले पुनः चल्ने क्रममा छ।

काठमाडौंमा इन्द्रजात्रा कहिलेदेखि आरम्भ भयो, यसको स्पष्ट इतिहास अहिलेसम्म भेटिएको छैन। इतिहास शिरोमणि बाबुराम आचार्यले यसलाई नेपालकै सबैभन्दा प्राचीन जात्रा भनेका छन् भने यस विषयमा अध्ययन गर्नुभएका फ्रान्सेली विद्वान जेराँ तोफाँले यसलाई काठमाडौंको सबैभन्दा मुख्य जात्रा मानेका छन्। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन शुरू हुने यो जात्रा लगातार आठ दिनसम्म चल्ने गर्दछ। जात्रा अवधिभरि श्रीकुमारीको रथयात्रा, दीप्याखं, लाखे, पुलुकिसि, दागिं, बौमत, उपाकु परिक्रमा, महाकाली नाच, सवःभक्कु नाच, दश अवतार आदि जस्ता दर्जन जति नाच एवं सहायक जात्राहरू सञ्चालन हुने यो जात्राको पहिलो र सबैभन्दा महत्वपूर्ण अंग भनेको यःसिं उठाउने अर्थात् इन्द्रध्वजोत्थान हो। हनुमानढोका दरबारसामु यःसिं उठाएपछि इन्द्रजात्रा आरम्भ हुन्छ। इन्द्रध्वजोत्थानको यो अनुष्ठान कहिलेदेखि आरम्भ भयो, इतिहासले आजसम्म त्यो पत्ता लगाउन सकेको छैन। कोही गुणकामदेवले शुरू गरेको मान्छन् भने कोही लिच्छवि राजा मानदेवका हजुरबुबा शंकरदेवले शुरू गरेको मान्दछन्। तथापि जुन बेलादेखि शुरू भएको भए पनि जब यो शुरू भयो त्यसपछि भने आजसम्म इन्द्रजात्रा पूर्णरूपमा रोकिएको इतिहास पाइँदैन।

विसं. १८२५ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा इन्द्रजात्रा आंशिकरूपमा बिथोलिएको थियो। पूर्णरूपमा रोकिएको चाहिँ थिएन। गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुभन्दा महिनौं अघिदेखि नै काठमाडौंलाई नाकाबन्दी गरेका थिए जसले गर्दा काठमाडौंमा लत्ताकपडा र अन्य सामग्रीको हाहाकार मच्चिएको थियो। महँगी आकासिएर सर्वसाधारण जनताले धान्न नसक्ने अवस्था आइपुगेको थियो। यस्तै हाहाकारको बेलामै इन्द्रजात्रा पनि नजिक आइपुग्यो। यस्तो अवस्थामा इन्द्रजात्रा मनाउने वा नमनाउने भन्ने विषयमा दरबारभित्र खुब छलफल चल्यो। इन्द्रजात्रा त्यति बेला पूर्णरूपमा राजकीय पर्व थियो। इन्द्रजात्राकै अवसर पारेर तत्कालीन राजा जयप्रकाश मल्लले श्रीकुमारीको रथ जात्रा आरम्भ गरेको पनि भर्खर दश वर्ष पुग्दै थियो। राजा जयप्रकाश मल्लले विसं १९१४ मा श्रीकुमारीको स्थायी निवासका रूपमा हनुमानढोका दरबार परिसरमै कुमारीघर बनाई त्यसको एक वर्षपछि श्रीकुमारीलाई पाँग्रासहितको रथमा राखी नगर परिक्रमा गराउने चलन शुरू गरेका थिए। कुमारीको उक्त रथयात्रामा राजा जयप्रकाश मल्ल आफैंं पनि सहभागी हुने गर्दथे। राजा आफंै कुमारी रथमा विराजमान भई यात्रा अघि बढाउने भएकाले टोल–टोलमा मानिस राम्रा–राम्रा लुगा लगाएर श्रीकुमारीलाई पूजा अर्पण गर्न आउने गर्दथे। यसरी टोल–टोलमै रथलाई रोक्दै पूजा ग्रहण गर्दै सुस्तरी अघि बढ्दा कुमारीको रथयात्रा सम्पन्न हुन करिब २२ घण्टाजति लाग्ने गर्दथ्यो। साँझ आरम्भ भएको रथयात्रा आफ्नो क्षेत्र परिक्रमा गरी पुनःः हनुमानढोका फर्कंदा बिहानीको झिसमिसे भइसकेको हुन्थ्यो। रातभरि लाखे, पुलुकिसी, दीप्याखं, महाकाली नाच, सवःभक्कु नाचको प्रदर्शन र त्यसमा बजाइने बाजागाजाको ध्वनिले सम्पूर्ण काठमाडौं नै उल्लासको समुन्द्रमा तैरिरहेको हुन्थ्यो।

तर, विसं १८२५ को इन्द्रजात्रा भने त्यस्तो उल्लासमय थिएन। नाकाबन्दीले पूरा कान्तिपुर थिलथिलो भएका कारण उक्त वर्षको इन्द्रजात्रा मनाउने वा नमनाउने भन्ने अन्योलमा थियो। लामो छलफलपछि राजा जयप्रकाश मल्ल इन्द्रजात्रा मनाउनेमा गए। त्यस्तो अवस्थामा पनि इन्द्रजात्रा पर्व मनाउने उनको निर्णय दुईवटा उद्देश्यमा आधारित थियो। पहिलो, शत्रुले नगर घेरे पनि आफूलाई त्यसले कुनै असर गरेको छैन भन्ने मनोवैज्ञानिक सन्देश प्रवाह गर्नु। अर्को, यदि शत्रु आइहाले पनि श्रीकुमारीले रक्षा गर्छिन् भन्ने विश्वास। तर, संकटका बीच इन्द्रजात्रा मनाउने निर्णय भए पनि जनतामा उत्साह नभएका कारण नाचगान र बाजागाजा भने स्थगित गरिएको थियो। त्यसैले उक्त वर्षको इन्द्रजात्रा अत्यन्त सादा थियो। इतिहास शिरोमणि आचार्यका अनुसार जात्रा सामान्य भएकाले उक्त वर्षको जात्रामा मानिस पनि खासै सहभागी भएका थिएनन्। धेरै त आ–आफ्नो घरमै सुतिरहेका थिए।

विसं १९२५ भाद्र शुक्ल चतुर्दशी आइतबारको राति जात्रा चलिरहेकै बेला पृथ्वीनारायण शाहले तीन ठाउँबाट घेरी काठमाडौं आक्रमण गरे। गोर्खाली सेना नगर प्रवेश गर्दा श्रीकुमारीको रथयात्रा नगरको तल्लो क्षेत्र (क्वःने लागा) को जैसीदेवल पुगिसकेको थियो। हनुमानढोका दरबारमा गोर्खाली सेना आइपुग्दा जयप्रकाश मल्लका केही सैनिकले प्रतिकार पनि गरेका थिए। तर, त्यो २/४ घडी (एक घडी बराबर २४ मिनेट) भन्दा बढी टिक्न सकेन। ‘युद्ध’का क्रममा कान्तिपुरका सैनिकले पड्काएको बारुदमा परी गोर्खाली सेनाका तुलाराम पाँडेको मृत्युसमेत भएको कुरा भाषा वंशावलीमा उल्लेख छ। लड्न नसकी भागेका सैनिकहरूले जैसीदेवल पुगी राजा जयप्रकाश मल्ललाई गोर्खाली आक्रमणको जानकारी दिए। जयप्रकाश मल्ल श्रीकुमारीको रथलाई त्यहीं छोडी केही सहयोगीका साथ टेकुको बाटो हुँदै ललितपुर भागे। राजा भागेपछि जात्रा अलपत्र हुन गयो। उता कुमारीघर छेवैको डबलीमा राखिएको सिंहासनमा गोर्खाली राजा पृथ्वीनारायण शाह बसिसकेका थिए। उनले आफ्ना भाइहरूलाई पठाई अवरुद्ध रथयात्रालाई पुनः सञ्चालन गरी हनुमानढोका दरबार परिसर भित्र्याए। त्यसपश्चात् जयप्रकाश मल्लले जस्तै पृथ्वीनारायण शाहले पनि श्रीकुमारीको खुट्टा ढोगी दरबार प्रवेश गरे। काठमाडौंका स्थानीयवासीको मन जित्न पनि श्रीकुमारीप्रति आस्था प्रकट गर्न पृथ्वीनारायण शाह बाध्य थिए।

यसरी देशमा शाह वंशीय राजतन्त्र शुरू भएको वर्ष इन्द्रजात्रा बिथोलिन पुगेको थियो। त्यसपछि देशबाट शाहवंशीय राजतन्त्र अन्त्य भएको वर्ष पनि इन्द्रजात्रा सामान्य बिथोलिन गएको थियो। २०६५ सालको भदौमा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिका रूपमा डा. रामवरण यादवले पहिलोपटक इन्द्रजात्रामा सहभागिता जनाएका थिए। उक्त वर्ष भदौ ५ गते इन्द्रजात्राको अन्तिम दिन नानीचायाःको तयारी हुँदै थियो, अचानक संस्कृति मन्त्रालयबाट एउटा पत्र आयो जसमा लेखिएको थियो कि अब उप्रान्त राज्य कोषबाट कुनै पनि धार्मिक कार्यमा बलि दिन रोकिएको छ। उक्त निर्णयअनुसार इन्द्रजात्रामा सहभागी लाखे, पुलुकिसि, सवःभक्कु आदि नाचलाई परम्परागतरूपमा प्रदान गर्दै आइरहेको बलि पनि रोकिन पुग्यो। सांस्कृतिक कार्यमा प्रदान गरिँदै आइरहेको बलि रोकिएको खबरले इन्द्रजात्राका जात्रालुहरूलाई आक्रोशित बनाइदियो। र, क्षणभरमै जात्रा भद्रगोल हुन पुग्यो। रथ तान्ने कि नतान्ने भन्नेमै विवाद उत्पन्न भयो। सरकारविरुद्ध नाराबाजी पनि शुरू भयो। के भएको हो भक्तजनहरूले जान्न सकेनन्। अन्ततः नाराबाजी, प्रहरी हस्तक्षेप र अन्योलपूर्ण उल्लासमा श्रीकुमारीको रथयात्रा अघि बढ्यो। तर, त्यो गन्तव्यसम्म भने पुग्न सकेन। बीच बाटोमै रथहरूलाई अगाडि बढ्न दिइएन। राति अबेरसम्म पनि रथ अघि बढ्न नसकेपछि जीवित देवी एवं देवताहरू श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई बीच बाटोबाटै रथबाट निकाली आ–आफ्नो निवास फर्काउनु प¥यो। जात्रा सकिएपछि राष्ट्रप्रमुखले श्रीकुमारीको हातबाट टीका ग्रहण गर्ने परम्परा पनि उक्त वर्ष तोडियो। उक्त आन्दोलनको बलमा सरकारले गठन गरेको कार्यदलले जात्राका लागि खर्च व्यवस्थापन गर्न नसक्ने गुठी संस्थान खारेज गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो।

विसं २०७२ सालको शक्तिशाली भूकम्पपछि इन्द्रजात्रामा श्रीकुमारीको रथ नचलाउने हो कि भन्ने कुरा चलेको थियो। किनभने कुमारीको रथ परिक्रमा गर्नुपर्ने विभिन्न ठाउँमा लगाएको टेकोका कारण रथ तान्न नसकिने देखिएकाले रथ नतान्ने कुरा पनि आएको थियो। तर, पछि टेकोलाई अलिकति हटाउँदा रथ जाने बाटो बनेकाले रथ तानिएको थियो। विसं १९९० को भूकम्पमा भने इन्द्रजात्रा चलाउन सकेको थिएन। त्यसपछि इन्द्रजात्रा बिथोलिएको एर्क वर्षअघि मात्रै हो। त्यसअघि यो जात्रा तीन पटकसम्म आंशिक मात्रै रोकिएको थियो भने दुई वर्षअघि कोरोना महामारीले पूर्णरूपमै स्थगित गरिदियो।

इन्द्रजात्रा केवल रथ तान्ने र नाचगानका रूपमा मात्रै सम्पन्न हुने जात्रा भने होइन। इन्द्र स्वर्गका समेत देवता हुन्। त्यसैले यस वर्ष स्वर्गवास भएका आफ्ना आफन्तहरूको नाममा बाटोभरि काँचो माटोको दियो बाल्दै उपाकु परिक्रमा गर्ने, इन्द्रकी आमाको प्रतीकस्वरूप निकालिने दागींको सँगसँगै काठमाडौंको तल्लो भेग र माथिल्लो भेग घुम्दै जाने, श्रीकुमारीको रथयात्रा सँगसँगै बत्ती राख्दै जाने जस्ता आम जनसमुदाय सहभागी हुनुपर्ने सांस्कृतिक कार्यहरू गर्ने परम्परा पनि रहँदै आएको छ।

दुई वर्षदेखि इन्द्रजात्रा बिथोलिएको घटनाले काठमाडौंवासीलाई आफ्ना दिवंगत आफन्तका लागि स्वर्गको कामना गर्न नपाउनुको दुःखले मात्र होइन, इतिहासमा इन्द्रजात्रा बिथोलिएकै दिन आफ्नो स्वर्गजस्तो राज्य गुमेको त्रासदीले पनि झस्काइदिएको थियो। यो वर्ष पुनः इन्द्रजात्रा सञ्चालनमा आएको छ, नगरवासीको अमिलो मन इन्द्रकमलजस्तै फुलेको छ।

प्रतिक्रिया दिनुहोस्