अमरावती कान्तिपुरी नगरीमा इन्द्रजात्राको रौनक



  • प्रेममान डंगोल

देवताका राजा इन्द्रको स्वर्ग अमरावती नै कान्तिपुरी नगरीमा झरेको आभास दिने इन्द्रजात्राको रौनकले यो कान्तिपुरी नगर नै स्वर्गझैँ देखिन्छ । यहाँको चहलपहल ज्यादै मनमोहक हुन पुग्छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चौथी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । नेवारहरुको आफ्नै पनको मौलिक संस्कृति र परम्परा यो जात्रा नेवारहरुको पहिचान पनि हो ।

इन्द्रजात्रामा उपत्यकाको वातावरण साँच्चिकै स्वर्गझैँ हुन्छ । एकातिर देवताका पनि राजा देवराज इन्द्रलाई पारिजात फूल चोर्ने चोर भन्दै डोरीले पाता कसेर मरुटोलको सिंह सत्तलअगाडि दोबाटोमा जात्रा गरी राखेको हुन्छ भने अर्कोतिर इन्द्रकी आमा दाँगी पनि छोरालाई खोज्न आइरहेकी हुन्छिन् । त्यस्तै जीवित देवी, देवता गणेश, भैरव र कुमारीको रथयात्रा पनि भइरहेको हुन्छ । इन्द्रलाई खोज्न आएका इन्द्रका हात्ती ऐरावतलाई यहाँका मानिसले पुलुकिसीका नामले नचाइरहेका हुन्छन् । इन्द्रचोकका आकाश भैरवलाई मन्दिरबाहिर बनाइएको मञ्चमा राखी प्रदर्शन गरिएको हुन्छ र आकाश भैरवको मुखबाट जाँड पनि पाइपद्वारा झारिरहेको हुन्छ । जुन जाँड भक्तजनहरुले प्रसादको रुपमा तँछाड मछाड गर्दै खाइरहेका हुन्छन् । यसका साथै हल्चोकका सवःभकु भैरव, किलागलको दी प्याखं देवी नाच, मजिपाटको मजिपाः लाखे, कुम्हा ननीका देवी नाच, भक्तपुरको महाकाली नाच र बाँदर नाच पनि देखाइरहेको हुन्छ । त्यसरी नै वसन्तपुर दरबारअगाडिको मञ्चमा दश अवतारको नाच पनि देखाइरहेको हुन्छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका टोल–टोलमा हाथुद्यः (भैरव) देवताका साथै विभिन्न देवताहरु पनि प्रदर्शन गरी राखेको हुन्छ । घर–घरका झ्यालहरुमा दलूमत (दियो) बालेर झुन्डयाइराखेको हुन्छ । भक्तपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा विभिन्न किसिमका देवीनाच र पुलुकिसी ऐरावत हात्तीलाई पनि नचाइरहेको हुन्छ । भक्तपुरमा इन्द्रका छोरा जयन्तलाई पनि पारिजातको फूल चोरेको भन्दै बाँधेर जात्रा गरिराखेको हुन्छ ।

ललितपुरमा भने अलि बेग्लै किसिमले इन्द्रजात्रा मनाउने गरिन्छ । यहाँ टोल–टोलमै हाथुद्यः भैरवको प्रदर्शन गरी दलुमत (दियो) झ्यालमा झुन्ड्याएर बालिरहेको हुन्छ । पूर्णिमाका दिन समे पुन्ही भनी घरैपिच्छे समेबजी खाने र खुवाउने गरिन्छ । यो दिन केटाकेटीहरुले तिहारमा भैलो मागेजस्तै घर–घरमा ला छकू वयेक समेबजी (छ्वयला मासु आउने गरी चिउरा देऊ) भन्दै माग्ने गर्छन् । यही दिन ललितपुरको गाःबहालस्थित पूर्णचण्डी मन्दिरअगाडि भुजा भातबाट बनाइएका विभिन्न देवी–देवताका मूर्तिहरु प्रदर्शन गरिराखेका हुन्छन् । ललितपुरको अर्को विशेषता भनेको च्यासल जाने स्थान भिंद्यलाछीमा रहेको मञ्चमा बेलुका ८–९ बजेतिर झ्यालिंचा नाच देखाउने भन्दै एउटा ठूलो सेतो पर्दामा यौनक्रीडाका विभिन्न आसनहरु छायाको रुपमा प्रदर्शन गरिन्छ । यो परम्परा त्यति बेलाका निरक्षर मानिसलाई यौनशिक्षा दिने उद्देश्यले गरिएको हो तर जात्राको रुपमा हालसम्म पनि यथावत् चल्दै आइरहेको छ ।

स्वर्गका सम्पूर्ण देवताहरु पनि स्वर्गमा समेत कहिल्यै देख्न नपाएको यस्तो दृश्य देखेर अचम्म मानी हेरिरहेका हुन्छन् भनिन्छ । यसरी इन्द्रजात्रा किन गर्नुपर्‍याे ? भन्ने कुरा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

एकपटक इन्द्रलाई आमाले बसुन्धराको पूजा गर्न पारिजात फूल स्वर्गमा नभएकोले खोजेर ल्याऊ भनी पठाइन् । काठमाडौंमा आई इन्द्रले भीमसेन टोलको ख्यः क्यबः बारीमा पारिजात फूल टिपिरहँदा जग्गाधनी ज्यापुले देखेर इन्द्रलाई चोर भन्दै डोरीले बाँधे अनि सबैलाई देखाउन आठ दिनसम्म मरु टोलको सिंहसत्तलअगाडि दोबाटोमा प्रदर्शन गरी राखेको हुन्छ । इन्द्रलाई खोज्न आएका हात्ती ऐरावतलाई यहाँका मानिसहरुले पुलुकिसी भन्दै यताउता घुमाउँदै नचाउन थाले । उता स्वर्गमा इन्द्रकी आमाले इन्द्र फर्केर नआउँदा इन्द्रका छोरा जयन्तलाई पारिजातको फूल ल्याउन अराउँछिन् । जयन्तले भने भक्तपुरमा आई पारिजात फूल टिप्न खोज्दा जग्गाधनी ज्यापुले चोर भन्दै डोरीले बाँधेर दोबाटोमा राखेको हुन्छ । जयन्तलाई खोज्न आएका जयन्तका हात्ती ऐरावतलाई पनि भक्तपुरका मानिसले समातेर नचाउँदै नगर परिक्रमा गराइरहन्छन् ।

उता इन्द्रकी आमा पारिजात लिन गएका छोरा र नाति दुवै नफर्केकाले स्वर्गबाट खोज्न आइन् । कान्तिपुरी नगरीमा इन्द्रलाई पाता कसेर राखेको उनले देख्छिन् । उनले आफ्नो र इन्द्रको पहिचान गराएर ज्यापुसँग माफी माग्छिन् । किसानलाई धान पकाउन कुहिरो दिने र मृतकहरुलाई सुगतिमा पारिदिने वचन दिन्छिन् । तर यहाँका मानिसले पत्याउँदैनन् र स्वर्गका राजा इन्द्र र तपाईं आमा हुनुहुन्छ भने हामीलाई हाम्रा दिवंगत बाबुबाजे सबैलाई स्वर्गमा भेटाइदिनुस् भन्छन् । इन्द्रकी आमा भन्छिन्, ‘त्यसो भए मेरो खास्टोको फेरो एकजनाले समाउनु र उसको खास्टोको फेरो अर्कोले समाउनु अनि यसरी सबैले एक–आपसमा खास्टोको फेरो समातेर सत्बीज छर्दै मेरो पछि–पछि आउनु । यसरी स्वर्गमा पुगेर आफन्तहरुलाई भेट्नु । त्यसपछि सत्बीजमा टेक्दै फर्कनु । फर्केपछि थानकोटको इन्द्रदहमा नुहाएर घरमा जानु ।’

इन्द्रकी आमाले यति भनेपछि यहाँका मानिसले इन्द्रलाई सम्मानसाथ डोरी फुकाली छोडिदिए । त्यसपछि कान्तिपुरका दिवंगत परिवारका एक–एकजनाले इन्द्रकी आमाले भनेजस्तै उनको खास्टोको फेरो समाएर सत्बीज छर्दै स्वर्गमा पुगी दिवंगत आफन्तहरुको अनुहार हेरेर फर्केका रहेछन् । त्यस बेलादेखि इन्द्रजात्राको बेलामा नेवारहरुले दिवंगत भएका घरका आफन्त सुगतिमा परुन् भनी दागीं जाने चलन चलेको हो । यसैको स्मरणस्वरुप दुवै हात फैलाएको इन्द्रको मूर्ति बनाई डोरीले बाँधेर इन्द्रजात्रा मनाउने गरिंदै आएको हो । लिच्छवि राजा गुणकाम देवले चिकंमुगलको अट्कोनारायणअगाडि इन्द्रध्वज ठड्याएर इन्द्र देवता प्रदर्शन गरी इन्द्रजात्रा मनाउने चलन चलाएका हुन् भनिन्छ । पछि राजा प्रतापसिंह शाहले ने.सं. ८९५ मा तिब्बतलाई युद्धमा हराएको खुशीयालीमा दरबारनजिकै रहेको कालभैरवको सामुन्ने इन्द्रध्वज ठड्याएर मनाउन थालेको हो भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा शुरु गरिन्छ । इन्द्रध्वज ठड्याउन चाहिने ३२ हात लामो रुख भक्तपुर र काभ्रेको बीचमा रहेको चित्तपोलको जंगलबाट ल्याउनुपर्दछ । कुन रुख काट्ने हो भनी निर्णय गर्न बलि दिन लगेको बोकालाई त्यहाँ छोडिन्छ । बोकाले जुन रुखलाई हान्छ त्यही रुखमा बोकाको बलि दिएर इन्द्रध्वजको रुख भनी काटेर ल्याइन्छ । यो लिंगो ठड्याउँदा गुरुजुको पल्टनले तोप पड्काउँछन् । ब्यान्ड बाजा र मालश्री धुनले वातावरण नै रमाइलो पारिरहेको हुन्छ ।

इन्द्रको प्रतिकको रुपमा काठको मूर्ति बनाई इन्द्रचोक, मरु, नरदेवी, किलागल, ज्याबहाल, ब्रह्मटोल आदिमा प्रदर्शन गरिन्छ । भाद्र शुक्ल द्वादशीकै दिन दिवंगतहरुका आफन्तले विभिन्न देवी–देवता र चैत्यहरुमा पालामा बत्ती बालेर बलेको धूप पनि समाई उपाकु जाने भन्दै दिवंगतहरुको आत्मा शान्तिको लागि प्रार्थना गरी नगर परिक्रमा गर्दछन् । यही दिन मध्यरातमा इन्द्रचोकका आजुद्यः आकाश भैरवलाई मन्दिरअगाडि मञ्च बनाई प्रदर्शनका लागि राखिन्छ । यी आकाश भैरव किराती राजा यलम्बर हुन् ।

पाँच हजार वर्षअघि हिन्दुस्थानको कुरुक्षेत्रमा हुन लागेको महाभारत युद्ध हेर्न राजा यलम्बर गएका रहेछन् । महाभारत युद्ध हुने मैदान कुरुक्षेत्रमा गएर राजा यलम्बर एक्लै यताउता हेर्न थालेछन् । महाभारत युद्ध हुने घोषणा भएकै थिएन । भगवान् श्रीकृष्णको मनमा मात्र थियो महाभारत युद्ध हुन्छ भन्ने । एक्कासी यो किराती किन यो युद्ध मैदानमा आइपुग्यो भनी कृष्णले बुझे । राजा यलम्बरले आफ्नो परिचय दिँदै पाण्डव र कौरवमध्ये जुन पक्षले हार्छ उसैको पक्षमा युद्ध लड्छु भने । महाभारत युद्ध हुने कुरा पत्ता लगाएर यहाँ आउने यलम्बर यति शक्तिशाली थिए कि उनले जसको पक्षमा युद्ध लड्थे उसैको जीत हुने थिया । तर हार्नेको मात्र साथ दिइरहे भने महाभारत युद्ध कहिल्यै पनि नसकिने भन्ने ठानी श्रीकृष्णले छल गरेर सुर्दशन चक्रले यलम्बरको टाउको काटिदिए । महादेवको अंश भएका राजा यलम्बर आफैं तान्त्रिक पनि भएकाले तन्त्रको शक्तिले आफ्नो टाउको जीवितै राखी आकाशबाटै महाभारत पूरै हेरेर आकाश मार्गबाटै आफ्नो देशमा फर्केका रहेछन् ।

यसरी आकाश मार्गबाट उडेर आएकाले आकाश भैरव भनी मान्ने गेरेको हो । काठमाडौंका जनताले इन्द्रचोकमा राजा यलम्बरको टाउको झरेर सिद्ध भएको स्थानमै स्थापना गरी आजुद्यःको रुपमा मान्दै आएको हो भनिन्छ । यही दिनको स्मरणमा हरेक वर्ष आजुद्यः आकाश भैरवको टाउको मूर्ति र अर्कोतर्फ बाकाःद्यः भनी आजुद्यःका मित्रको टाउकोको मूर्ति पनि तान्त्रिक विधिबाट पूजा गरी सार्वजनिक रुपमा प्रदर्शन गरिँदै आएको हो ।

भाद्र शुक्ल अनन्त चतुर्दशीका दिन अर्थात् जीवित कुमारी रथयात्राको पहिलो दिन वसन्तपुर गद्दी बैठकमा राष्ट्रप्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि एवं विशिष्टि व्यक्तिहरुको उपस्थितिमा कुमारीको रथयात्रा चलाइन्छ । साथै जीवित गणेश र भैरवको रथयात्रा पनि गरिन्छ । यही समयमा मजिपाः लाखे, सवःभकु र दश अवतार, महालक्ष्मी र पुलुकिसीको नाच पनि नचाइन्छ । यो दिन क्वःने याः (तल्लो टोलको जात्रा) भन्दै कुमारी, गणेश र भैरवको रथ वसन्तपुरबाट अट्कोनारायण, चिकंमुगल, लगन, गोफल, ब्रह्मटोल, बन्दे, हिउमत, जोशीदेगल, क्वःहिति, भीमसेन टोल, मरु, इलाछेँ, तहबिल हुँदै कुमारीघर वसन्तपुरमा फर्काएपछि त्यस दिनको रथयात्रा सकाइन्छ । यो क्वःने याःको समयमा जोशीदेगलको डबलीमा दि प्याखं देवी नाच नचाइरहेको हुन्छ । यही दिन कुमारीको रथयात्रा सकिएपछि दांगीलाई थःने, क्वःने अर्थात् माथिल्लो टोल र तल्लो टोल घुमाइन्छ । इन्द्रकी आमाको प्रतिकको रुपमा मरुटोलबाट सेतो मुकुट र सेतै जामा लगाएकी दांगीलाई धिमे, भुस्या बाजा बजाई नगर परिक्रमा गराइन्छ । दांगीको पछि–पछि लाग्दै काठमाडौंका नेवारहरुले सोही वर्षमा दिवंगत भएका आफन्तहरुको नाममा नौथरी गेडागुडीसहितको सत्बीज छर्दै हिँड्छन् । यो दिन स्वर्गजाने बाटो मानिएको थानकोटको इन्द्रदहमा मेला लाग्छ ।

कुमारी रथ यात्राको दोस्रो दिन थःने याः माथिल्लो टोलको जात्रा मनाइन्छ । थःने याः गरिँदा पनि कुमारीका साथै गणेश र भैरवको रथ तानेर वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्यःखा, बांगेमुढा, न्ह्य्कंतल्ला, असन, केलटोल, इन्द्रचोक, मखन हुँदै वसन्तपुरमा पुर्‍याएर रथयात्रा सकाइन्छ । यसरी थःने याः माथिल्लो टोलमा रथयात्रा गरिरहँदा बांगेमुढा र इन्द्रचोकमा दी प्याखं देवी नाच नचाइरहेको हुन्छ ।

आश्विन कृष्ण चौथीका दिन नानीचा याः भन्दै कुमारीको रथयात्रा गरिन्छ । नानीचा याःलाई दथुयाः अर्थात् बीच टोलको यात्रा भनिन्छ । यो इन्द्रजात्राको अन्तिम दिन हो । यो दिन कुमारी, गणेश र भैरवको रथलाई वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलागल, भेंडासिं, इन्द्रचोक, मखन र हनुमानढोका दरबार हुँदै वसन्तपुर पुगेपछि नानीचा याःको समापन गरिन्छ । राजा जयप्रकाश मल्लले भित्रिनी रानी नानीलाई देखाउन कुमारीको रथयात्रा किलागलसम्म पु¥याउने गरिएको हो भनिन्छ । यही दिन इन्द्रध्वज विसर्जन गर्ने भन्दै लिंगो ढालेर टेकु दोभानमा लगी विसर्जन गर्नेबित्तिकै इन्द्रजात्रा सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्