सिँचाइ र कर्णाली नदी व्यवस्थापनलाई बजेट माग



काठमाडौं, (नेस) ।

राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराई दिन बर्दियाका जनप्रतिनिधिले माग गरेका छन् । उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट अपुग भएको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाइ दिन आग्रह गरेका हुन् ।

उहाँहरूले राजापुर सिँचाइ आयोजनाको बजेट दुई करोड ५० लाख मात्र भएको भन्दै नियमअनुसार नियमित मर्मतका लागि पनि १२ करोडभन्दा बढी बजेट पाउनुपर्ने माग गर्नुभयो । त्यस्तै बर्दियाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन गर्नका लागि १२ अर्बको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएको तर प्रतिवर्ष बजेट २१ करोड मात्र प्राप्त हुने गरेको छ ।

ऊर्जामन्त्री भुसालले एकीकृत योजना बनाएर बर्दियाको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन कार्यलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले खेतीयोग्य जमिन कटान हुन नदीन र खेतीयोग्य जमिनको गुणस्तर ह्रास हुन नदीन अधिकतम पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्