निर्माण व्यवसायीको असहयोग बनेपाको चुनौती



  • कविराज उप्रेती
    (प्रमुख प्रशासकीय अधिकृत, बनेपा नगरपालिका)

बनेपा नगरपालिकाको हालसम्मको प्रगति कस्तो छ ?

समग्र अवस्था सन्तोषजनक छ । धार्मिक, ऐतिहासिक, प्रशासनिक दृष्टिकोणले निकै ठूलो महत्व राख्ने बनेपा नगरपालिका नेपालकै पुरानो नगरपालिकामध्ये एक हो । विगत १५ महिनादेखि यहाँ कार्यरत मैले सबैभन्दा जोड सहजरूपमा नगरवासीलाई सेवा प्रवाह गर्नमा नै दिइरहेको छु । म यस पालिकामा हाजिर हुन आउँदा आर्थिक वर्ष जम्मा ४० दिनमात्र बाँकी थियो, करिब दुई तिहाइ काम बाँकी नै थिए र मुलुक लकडाउनबाट गुज्रिरहेको अवस्था थियो । कोभिड रोकथाम, नियन्त्रण र उपचारको उत्तिकै दायित्व थियो । आर्थिक वर्षको अन्त्यतिरको कार्यसम्पादन दबाबबीच पनि करिब सबैजसो योजना तथा अन्य कार्यहरु तोकिएकै समयमा सम्पन्न गराउन सफल भएकोमा मलाई खुसी लागेको छ । कोभिड रोकथाम र नियन्त्रणमा पनि सबै जनप्रतिनिधिज्यूहरूको सक्रिय सहभागिता र निर्देशनमा अपेक्षाकृत राम्रा काम हुन सकेका छन् । प्रशासनिक सबै सयन्त्र पूर्णरूपमा क्रियाशील छन् ।

यसबीचमा पुण्यमाता कोरिडर निर्माणकार्य अघि बढ्नु, नियमितरूपमा फोहोर उठ्नु– यद्यपि अहिले केही दिनदेखि सिसडोलको समस्याका कारण केही दिनलाई समस्या आएको छ, घर नक्सापासमा भएका विभिन्न समस्या न्यूनीकरण हुनु, रोकिएका सबै विकास निर्माणका कार्यहरु सुचारु हुनु, प्राथमिक अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापनको प्रशासनिक कार्य सम्पन्न हुनु, आर्थिक वर्षको अन्त्यमा आएको एक वडा एक स्वास्थ्य चौकीको बजेट खर्च उल्लेख्य हुनु, बजेट फ्रिज नगन्य मात्रामा हुनुु, कोभिड रोकथाम र नियन्त्रणमा सबै क्षेत्र सक्रिय हुनु, जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुमधुर हुनु राम्रा पक्ष हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा केलाई प्राथमिकता दिनुभएको छ ? कृषि तथा पशुपक्षीतर्फ के–के काम भइरहेका छन् ?

यस नगरपालिकाले मुख्यतः पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेको देखिन्छ । यसै आर्थिक वर्षमा सुविधासम्पन्न बहुतले पार्किङ तथा बाजेबजै पार्कको अवधारणालाई कार्यान्वयन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सबै वडामा एक स्वास्थ्य चौकी निर्माणाधीन छन् । काभ्रे जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यापर्यटन विकासका लागि चण्डेश्वरी वन क्षेत्रमा १ हजार ६ सय सिँढी निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पूर्वाधार क्षेत्र सँगसँगै आर्थिक विकास र सामाजिक विकासलाई पनि उत्तिकै जोड दिएको छ ।

व्यापार व्यवसाय क्षेत्रको अलावा बनेपा नगरपालिका क्षेत्रका धेरैजसो वडाहरु कृषिमा निर्भर छन् । सफलतापूर्वक व्यावसायिकरूपमा नै कृषि तथा पशुपक्षी विकासका लागि विभिन्न कार्यक्रम प्रत्येक वर्ष सञ्चालनमा ल्याइएका छन् । कृषकहरुको प्रत्यक्ष संलग्नतामा कृषि प्रवद्र्धन समितिको व्यवस्था गरिएको छ । यस समितिले कृषकलाई प्रत्यक्ष लाभान्वित हुने गरी कार्यक्रमहरुको तर्जुमा तथा विकासको कार्य गर्दै आएको छ । हातेट्याक्टर वितरण, मकै छोडाउने मेसिन वितरण, उन्नत जातका तरकारीका बीउबिजन वितरण, पाडी वितरण, बोयर जातका बोका तथा पाठा वितरण, मागमा आधारित विभिन्न कृषक तालिम तथा क्षमता विकास, अन्तरपालिका कृषक वितरणजस्ता केही प्रभावकारी कार्यक्रम सञ्चालनमा ल्याइएका छन् । यस्ता कार्यक्रमले कृषक दाजुभाइ तथा दिदीबहिनीहरुलाई नगरपालिकाप्रति अगाध आस्था, विश्वास तथा सम्मान जागेको विभिन्न कार्यक्रममा व्यक्त गरेको सुनिन्छ ।

कोरोनाबाट नगरवासीलाई सुरक्षित राख्न के–के कार्यक्रमहरू गरिरहनुभएको छ ?

बनेपा नगरपालिका जिल्लाकै व्यापारिक केन्द्र तथा बसोबासका दृष्टिले समेत देशभरिका मानिस बसोबास गर्ने स्थान भएकाले कोभिडको जोखिम यस नगरपालिकामा तुलनात्मकरूपमा अलि बढी छ । हालसम्मको अभिलेखमा ६० जना नगरवासीको कोभिडका कारण दुःखद निधन भएको छ । यद्यपि हामीले नगरपालिकाको तर्फबाट आवश्यक सम्पूर्णरूपमा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारको उचित व्यवस्थापन मिलाएका छौं ।

पारिवारिक वातावरणको क्वारेन्टिन, आइसोलेसन सेन्टर, नियमित चिकित्सकको व्यवस्था, समय–समयमा पौष्टिक खाना तथा खाजाको व्यवस्था, २४सै घण्टा एम्बुलेन्सको व्यवस्था, नियमित निःशुल्क स्वाब संकलनका साथै पीसीआर जाँचको व्यवस्था २४सै घण्टा स्वास्थ्यकर्मी परिचालन गरी घरदैलो स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको छ । शिर मेमोरियल अस्पतालसँगको सहकार्यमा र भोमी अस्पतालसँगको सम्झौतामा आईसीयू, एचडीयू तथा भेन्टिलेटर सुविधासहितको कोभिड डेडिकेटेड उपचार कक्षहरूको निर्माण तथा सञ्चालन गरिएको छ । हाल १० जना थप स्वास्थ्यकर्मी नियुक्ति गरिएको छ । सबै वडा कार्यालयबाट आधारभूत स्वास्थ्य सेवा प्रवाहको समेत व्यवस्था मिलाइसकिएको छ ।

कोभिडको खोप प्राप्त भएपछि तोकिएका नागरिकलाई खोपको कार्यक्रमहरु नियमितरूपमा सञ्चालन गरिएको छ । हालसम्म यस नगरभित्रका अत्यावश्यक सेवा प्रवाह गर्ने सबै किसिमका व्यक्तिहरुलाई खोप लगाइसकिएको छ । सबै राष्ट्रसेवक कर्मचारी, शिक्षक, जनप्रतिनिधि, पत्रकारले खोपको पूरा मात्रा प्राप्त गरिसक्नुभएको छ भने खोप लगाउने उमेर समूहका ६० प्रतिशत नगरवासीले खोप लगाइसक्नुभएको छ ।

बनेपामा लामो समयदेखि खानेपानी, फोहोर व्यवस्थापन र अव्यवस्थित पार्किङ, फुटपाथ र अरनिको हाइवेको व्यवस्थापन किन हुन सकिरहेको छैन ?

तपाईंले उल्लेख गरेका विषयहरु बनेपामा समस्याका रूपमा रहेको देखिए पनि नगरपालिकाले ती समस्यालाई समाधानका लागि सूक्ष्मरूपमा छलफल तथा रणनीति तयार गरिरहेको छ । खानेपानीको सम्बन्धमा विभिन्न बहानामा निर्माण व्यवसायीले समयमा कार्य सम्पन्न गर्न सकिरहेको छैन । यो विषय धुलिखेल र पनौती नगरपालिकासमेतको सहकार्यमा समाधान गर्नुपर्ने विषय हो । यसका लागि नगरपालिकाले अहिले खानेपानीमा थप प्राविधिक जनशक्ति खटाएको छ । खानेपानी बोर्डको बैठकबाटै केही निर्णय हँुदै छ जसबाट बनेपा क्षेत्रले यसको लाभ लिन सक्नेछ ।

त्यसै गरी, फोहोर व्यवस्थापनको सन्दर्भमा नगरपालिकाले विभिन्न प्रयास गरे पनि सफल हुन सकिरहेको छैन । आधुनिक प्रविधिको प्रयोगबाट यसको व्यवस्थापन गर्न खोजिए पनि अवरोधका कारण निर्माण तथा व्यवस्थापन हुन सकेन । हाल बनेपाको फोहोरसमेत नुवाकोटको सिसडोलमा पुर्‍याई व्यवस्थापन गरिएको छ । हाल फोहोर नियमित उठ्ने व्यवस्था मिलाइएको छ । नगरक्षेत्रभित्रै कम्तीमा एउटा फोहोर छुट्याउने र व्यवस्थापन गर्ने स्थलको व्यवस्था गर्नु अति आवश्यक भएको छ । यसका लागि बनेपा नगरभित्रका सबै जिम्मेवार पदाधिकारी, राजनीतिक दल, सम्बद्ध निकाय तथा नगरवासी एक भए साझारूपमा यसको समाधान हुनेछ । सबै सरोकारवाला व्यक्तिमा म यस कार्यका लागि तपाईंको पत्रिकामार्फत हार्दिक अनुरोधसमेत गर्न चाहन्छु ।

यसै गरी अरनिको हाइवे र पार्किङ एक–अर्कामा सम्बन्धित विषय हुन् । हाल नगरपालिकाले बहुतले पार्किङका लागि नगर विकास कोषसँग सम्झौता अघि बढाएको छ । भर्खरै डिभिजन सडकसँगको सहकार्यमा नगरले अरनिको हाइवे थप कालोपत्रे गरी मर्मत गरेको छ र साँगादेखि पुलबजारसम्म एकतर्फी ट्रयाक खोल्ने कार्य सकेको छ । यसै गरी, पुलबजारदेखि बुडोलसम्मको अरनिको दायाँ–बायाँ कालोपत्रे गर्ने कार्य दशैंअघि नै सम्पन्न हुने गरी काम हुँदै छ ।

बनेपा नगरपालिकामा रहेका पर्यटकीय स्थलको संरक्षण र विकासका लागि के गर्दै हुनुहुन्छ ?

बनेपा नगरपालिकामा पर्यटकीय स्थल धेरै छन् । नगरकोट, साँगा भञ्ज्याङ, वासुकी थुम्का, टनचोक, चण्डेश्वरी वनक्षेत्र केही पर्यापर्यटनका उदाहरण हुन् भने धार्मिकरूपमा चण्डेश्वरी मन्दिर, धनेश्वर मन्दिर, साँगा नासिकास्थान, विभिन्न गणेशस्थान, नाला भगवती, आशापुरीहरु धार्मिकरूपमा प्रसिद्ध पर्यटकीय स्थल हुन् । बनेपाबाट नगरकोट जाने वडा नं. २ र ३ बाट नयाँ ट्रयाक निर्माण गरिएको छ । यसै गरी, यसै वर्ष नगरकोटबाट बनेपा प्रवेश स्थलमा प्रवेशद्वार निर्माण गर्ने योजना राखिएको छ । चण्डेश्वरी वन क्षेत्रमा १ हजार ६ सय सिँढी निर्माण कार्य करिब ५ करोडको लगानीमा निर्माणाधीन छ । बनेपा–९ मा बुद्धपार्क निर्माणका लागि आवश्यक तयारी मिलाइएको छ । वडा नं. ३ मा पर्ने हिले जलजले क्षेत्रमा पर्यटकीय ताल निर्माणका लागि आवश्यक प्रबन्ध गरिँदै छ । वडा नं ११ मा करिब ३ करोडको लगानीमा शान्तिपार्क निर्माणको ठेक्का बन्दोबस्तीको चरणमा छ ।

नगरपालिकाले युवालाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

नगरपालिकाले यस वर्ष युवा लक्षित कार्यक्रम सञ्चालनका लागि ५० लाख विनियोजन गरेको छ । यसबाट नगरभित्रका युवाहरू लाभान्वित हुने अपेक्षा छ । युवाहरूलाई सीपमा आधारित विभिन्न तालिम व्यवस्थापनका लागि सीटीईभीटी तथा इभेन्ट परियोजनाका साथै विभिन्न संघ–संस्थासँग सहकार्य भएका छन् । यसका साथै विभिन्न उपभोक्ता समितिमार्फत रोजगारी सिर्जना भएका छन् । कृषिमा आधारित युवाहरूका लागि पाडा, पाठी, बोका वितरण गरिएका छन् । मौरीपालन, कौसीखेती, तालिम सञ्चालन गरिएका छन् । सहकारीमार्फत समृद्धिका लागि सहकारी व्यवस्थापनसम्बन्धी विभिन्न तालिम चलाइएका छन् ।

कर्मचारी र जनप्रतिनिधिहरूको कस्तो सम्बन्ध छ ?

बनेपा नगरपालिकाको हकमा कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध मैले सुमधुर पाएको छु । जनप्रतिनिधिको नेतृत्वकर्ता प्रमुखज्यू नै लामो समय प्रशासन क्षेत्रमा काम गरेर आउनुभएकाले पनि यहाँ प्रशासनिक कार्य सञ्चालनमा सहज छ । सबै कार्यपालिका सदस्य तथा नगरसभा सदस्य सहयोगी भएको र कर्मचारीहरु पनि नगरको विकास तथा हकहितमा लागेका हुनाले सौहाद्र्र सम्बन्धमा पालिका अघि बढेको छ ।

प्रस्तुति : मोतीराम तिमल्सिना

प्रतिक्रिया दिनुहोस्