मुलुकको राजनीतिमा राप्रपाको अवस्था



  • अष्ट महर्जन

मुलुुकको वर्तमानलाई हेर्दा भ्रष्टाचार र अनियमितता तलदेखि माथिसम्म मौलाइरहेको छ । देशको नेतृत्वमा जोसुकै आए पनि देशलाई खोक्रो पारिरहेका छन् । जोसुकै सरकारमा आए पनि विदेशीको गोटी बनिरहेको देखिन्छ । सत्तामा पुुग्नुभन्दा एउटा कुरा, सत्तामा पुुगेपछि अर्को कुरा गर्ने गरिरहेका छन् । आफू सत्तामा पुुग्दा कसरी कमाउने भन्ने ध्याउन्नमा लाग्ने नेताहरु सत्ताबाहिर रहँदा अर्कै कुरा गर्छन् । ग्लोबमा एकाधिकार जमाउने सिलसिलामा अमेरिका, बेलायत, युरोपियन युनियन, दक्षिण कोरिया, जर्मनीलगायतका देशहरुले नेपाल भूमिमा खेल्ने काम भइरहेको छ । उनीहरुले एकमना सरकार, ठूलो पार्टी भएको रुचाउँदैनन् । अस्थिर राजनीतिबाट मात्र उनीहरुको स्वार्थ पूरा हुने कारणले गर्दा नेपालमा अहिलेको अवस्था सृजना गराइएको हो । पार्टी–पार्टीमा द्वन्द्व बढाउने काम विदेशी चलखेलबाटै भएको हो ।

केपी ओलीलाई जनताले ५ वर्ष शासन सञ्चालन गर्न म्यान्डेट दिएकै हो । अरुको कारणभन्दा आफ्नै पार्टीका नेताका कारण ओली सरकारबाट बाहिरिनुपर्‍याे । त्यसो त कांग्रेसमा पनि गुटबन्दी छ । ओलीबाट अचाक्ली भएपछि माधव नेपालले नयाँ पार्टी खोल्नुपरेको भनिन्छ । ओली माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न संसद् सचिवालयसम्म पुगे तर सभामुख अग्नि सापकोटाले समयमा निर्णय नगर्दा माधव नेपालले पार्टी खोल्न सकेको ओली पक्षको भनाइ छ । त्यसो त सभामुख सापकोटाले नेपालको भविष्य बचाइदिएको पनि एककोणबाट हेर्दा देखिन्छ भने माधव नेपाल एमालेमा रहनै नसक्ने स्थितिमा एमाले विभाजन भएको हो । आगामी निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धनलाई लग्ने भनिएको छ । तर राप्रपाजस्तो वर्तमान व्यवस्थाभन्दा फरक अभिमत राख्ने दलले कोसँग मिल्ला ? यो प्रतीक्षाको विषय बनेको छ । वर्तमान अवस्थामा मुलुकको राजनीति पर्ख र हेरको अवस्थामा छ ।

वास्तवमा भन्दा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसनले सिंगो मुलुक तरंगित भएको छ । एमसीसीको उपाध्यक्ष फातिमा सुमार नेपाल आएर राजनीतिक दलका नेतालाई सम्झाउने मात्र होइन, यो परियोजना सक्नुहुन्छ भने नेपालमा राख्नुस् होइन भने अन्तै लैजान्छौ भनेर सल्लाहपूर्ण धम्की दिएकी छन् । उनले एमसीसी छिटो पास गर्ने वा फिर्ता गर्ने भन्नेमा चाँडो निर्णय गर्न पनि प्रधानमन्त्रीसमेतलाई आग्रह गरिन् । त्यसो त एमसीसीको बारेमा प्रमुख प्रतिपक्ष दल एमाले नरम भए पनि सत्तारुढ गठबन्धनमा फरक–फरक धारणा छ । पाँच दलीय सत्तारुढ गठबन्धनमा कांग्रेसमात्र एमसीसीबारे नरम देखिन्छ । त्यसैले एमसीसीको प्रस्तावको बुँदा नसच्याई हुबहु पारित हुन सक्ने अवस्था देखिँदैन । केही नेता भने एमसीसीको नाममा अमेरिकाले आफ्नो स्वार्थपूर्ण नीति लाद्न खोजेको बताइरहेका छन् । यदि यस्तै नियत बोकेर एमसीसी आएको हो भने एमसीसी सच्याएर, जनतामाझ पु¥याएर, बुँदा–बुँदामा छलफल गरेर नेपालको हित हुने किसिमबाट पारित गरिनुपर्छ ।

म त केपी ओलीको सरकारभन्दा यो सरकारलाई फरक देख्दिन । देउवाले नयाँ केही ल्याएका पनि छैनन् । भ्रष्टाचार, अनियमितता रोक्न देउवा लागेको पनि देख्दिन । वास्तवमा भन्नुपर्दा यो सरकार, जनअभिमतबाट नभई सर्वाेच्च अदालतको परमादेशबाट बनेको हो । यदि सत्ता गठबन्धनमा कुरा नमिलेमा देउवा पनि सरकारबाट बाहिरिनुपर्ने हुन्छ । हुन त मुलुकका प्रमुख दल (एमालेबाहेक) सबै सत्ता गठबन्धनमा छन् । देश र जनताको लागि यो सरकारले धेरै काम गर्न सक्छ । कोरोनाको खोप समयमै सबै जनतालाई लगाउन सरकारले सक्यो भने एकहदसम्म यो देउवा सरकारलाई सफल नै मान्नुपर्ला । किनकि कोभिड–१९ (कोरोना) विश्वकै समस्या हो । कोरोनाले सबै देशलाई चिन्तित तुल्याइरहेको अवस्था छ । ठूला र धनी देशलाई कोरोनाले सताएको छ भने हाम्रो जस्तो गरिब देश कोरोनाबाट पर भाग्ने कुरै छैन । तर नेपालमा कोरोना घट्दो छ, कोरोनाबाट निको हुनेको संख्या दिनानुदिन घट्दो छ । यसरी हेर्दा सरकारी निकायमा हुने भ्रष्टाचार रोक्न देउवा एक कदम किन अघि नबढ्ने ? देउवाले देश चलाउने जुन मौका पाएका छन्, त्यो मौका फेरि–फेरि पनि नआऊला त भन्न सकिन्न तर यही पटकको प्रधानमन्त्री बनेको मौका देउवाले सदुपयोग गरुन् ।

सर्वाेच्चको आदेशपछि देशमा नयाँ परिस्थिति सृजित भएको छ । यो अवस्थामा राप्रपा जनतामा जान चाहन्छ । मुलुकमा अस्थिरता भएपछि निर्वाचनबाहेक विकल्प हुँदैन । जनताले दिएको जनमत नवीकरण गर्ने जनता नै हो । यस कारण निर्वाचनबाहेक विकल्प छैन । निर्वाचनमा हारिन्छ कि भनेर डराउनेले मात्र निर्वाचनको विरोध गरिरहेका छन् । यो अवस्थामा निर्वाचन भयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीको राम्रो स्थान रहनेछ । निःसन्देह यो अवस्था निर्वाचनकै लागि वातावरणमय छ । गणितीय रुपमा हेर्दा अरु पार्टीभन्दा विचारको दृष्टिकोणले हामी पहिलो पार्टी र पहिलो प्रतिपक्षी पनि हो । संवैधानिक राजतन्त्र, धर्मसापेक्ष हिन्दू राष्ट्रमा राप्रपा कहिल्यै विचलित भएको छैन । यस पार्टीका शीर्ष नेताहरुलाई कहिलेकाहीँ आलोचना गर्ने गरिन्छ । पश्चिमी मुलुकको इच्छा पूरा नहुने बेलामा यस पार्टीका नेताहरुको आलोचना गरिने गरेको छ । यस पार्टीका नेताहरुले चट्टानझैँ उभिएर आफ्नो एजेन्डालाई संसद्मा लिपिबद्ध गरेको कुरा रेकर्डबाट स्पष्टै देखिन्छ । त्यसलाई वास्तै नगरी अनर्गल प्रचार गर्न खोजिएको देखिन्छ । यसबाट जनता सजग हुन जरुरी छ ।

पार्टीले लिएको विचार, नीति, सिद्धान्तप्रति म सधैँ, निष्ठावान् भएकाले यसपटकको अधिवेशनबाट म राप्रपा ललितपुर जिल्ला कार्यसमितिमा निर्विरोध अध्यक्ष पदमा चयन हुन पाएँ । यो देशैभरका नेता–कार्यकर्तालाई राम्रो सन्देश भएको छ भन्ने मलाई लाग्छ । अरु जिल्ला, क्षेत्र, प्रदेश, नगर, वडादेखि केन्द्रीय महाधिवेशनसम्म यसै गरी निर्विरोधरुपमा नेतृत्व चयन भएमा जनतामा राम्रो सन्देश जानेछ । पार्टीप्रति आस्थावान् साथीहरु फुटेर होइन जुटेर लाग्नुपर्छ, भन्ने सन्देश ललितपुरमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएबाट प्रमाणित हुन्छ । यो सन्देश देशैभर जानेछ भन्ने विश्वास लिएको छु ।

हामीले हिन्दू राज्य र संवैधानिक राजतन्त्रको एजेन्डा छाडेका छैनौं । पार्टीको अधिवेशनहरु गर्नतिर ध्यान दिएकाले हामीले हाम्रा एजेन्डा लिएर जनतामा जान नसकेको सत्य हो तर हामीले यसअघि निरन्तररुपमा हाम्रा एजेन्डा जनतामाझ जोडदाररुपमा राखिरहेकै छौं । पार्टी कामले हामी राजसंस्था र हिन्दू राज्यका बारेमा सडकमा आउन भ्याएका छैनौं तर हाम्रो मूल सिद्धान्त हिन्दू सत्य र राजसंस्था नै हो, यसमा हामी अडिग छौं । यो कुरा जनताले बुझिरहेकै होलान् भन्ने हामीलाई लागेको छ ।

यसै मेसोमा भन्नुपर्दा देशको हावापानी, माटो सुहाउँदो हिन्दू राष्ट्र र राजसंस्थाको पहिचानसहितको देश र जनताले विश्वास गर्ने सरकार यति बेला आवश्यक छ । देशलाई समृद्ध पार्ने सरकार आवश्यक छ । र, त्यो सरकारले देशको स्वाभिमान कायम गरोस् । हुन त जनताको म्यान्डेट लिएर आगामी निर्वाचनपछि राप्रपाकै नेतृत्वमा सरकार बने राम्रो हुने थियो । हाम्रो पार्टीका अध्यक्ष कमल थापाले विप्लव माओवादीदेखि राजासम्म अटाउने व्यवस्था राखौं र देशलाई निकास दिऊँ अनि परराष्ट्र नीति पनि पञ्चशीलको सिद्धान्तअनुसार नजिक र टाढाका छिमेकीहरुसमेतलाई समदूरीमा राखेर जानुपर्छ भनेर पार्टीको धारणा राख्नुभएको थियो । तर संविधान बनाउँदै पूर्वाग्रही ढंगले बनाइयो । दक्षिण अफ्रिकामा रंगभेद नेता नेल्सन मण्डेलाले उहाँलाई २७ वर्ष थुनामा राख्ने तत्कालीन राष्ट्रवादी डब्लु हटक्लकलाई समेत साथमा लिई मेलमिलापको रुपमा कुनै पूर्वाग्रह नगरी देश चलाउनुभयो । र, उहाँ विश्वको नेता हुनुभयो । हामीकहाँ २४० वर्षको इतिहास रहेको राजसंस्थालाई पार लगाएर विदेशीको एजेन्डामा पूर्वाग्रही ढंगले संविधान बनाइयो । हिन्दू राष्ट्र खारेज गरियो । धर्म निरपेक्षता ल्याइयो । आपसमा मिलेर बसेका सम्पूर्ण जातजातिलाई जातीय भेदभावको नाममा झगडामा फसाइयो । पैसाको लोभमा धर्म परिवर्तन गराइयो । २१६ राष्ट्रले शान्ति क्षेत्रको प्रस्तावमा सही गरेको देशमा अराजकता, अशान्ति, बलात्कार, हत्या, हिंसा गराइयो । संविधान बनाउँदा जनताको सुझाव लिने सिलसिलामा ९४ प्रतिशत जनताले हिन्दू राष्ट्रको पक्षमा दिएको सुझावको पोकै नखोली संविधान जारी गर्ने काम गरियो । यस्तो निषेधको राजनीतिले कुनै पनि देश उँभो लाग्दैन ।

राप्रपा जहिले पनि फुटको विरोधी हो । एमाले फुटाएर माधव नेपालले जुनरुपमा नयाँ पार्टी गठन गर्नुभएको छ, त्यो देश र कार्यकर्ताको लागि धोका हो । माधव नेपाल पार्टी फुटाएर भन्दा आफ्नै मातृ पार्टीमा संघर्ष गरेर बस्नुपथ्र्याे । हिजोको दिनमा राप्रपा फुटेर जाँदा कस्तो हालत भयो, आज त्यो दिनलाई स्मरण गर्नुपर्ने हुन्छ । जनताले जुन हिसाबले नेकपालाई दुई तिहाइ बहुमतसहित सरकारमा पुर्‍याएका थिए तर आज व्यक्तिगत स्वार्थमा लागेर नेताहरु अलग–अलग मात्र होइन पार्टी नै फुटाएका छन् । यो जनता र सम्पूर्ण कार्यकर्तालाई विश्वासघात हो । एमाले नेताहरुको स्वार्थकै कारण फुटेको हो ।

खासरुपमा भन्नुपर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको देशव्यापी जनमत हुँदा पनि संसद्मा यस पार्टीको एक सिटमात्र छ । यो पार्टी संसद्मा राष्ट्रिय पार्टीसमेत छैन । त्यसको मूल कारण विगतको निर्वाचनमा राप्रपा एक थिएन । फुटेर जनतामाझ जाँदा जनतालाई कुन राप्रपालाई मत दिऊँ भन्ने अन्योल थियो । जनता राप्रपा एक भएको हेर्न चाहन्थे । बल्ल राप्रपाको इमानदार कार्यकर्ताको सोचअनुसारको पार्टी भएको छ । त्यसैले अब राप्रपाले आगामी निर्वाचनमा शानदार परिणाम ल्याउनेछ भन्ने यस पार्टीलाई लागेको छ ।

(लेखक महर्जन राप्रपा ललितपुर जिल्ला कार्यसमितिका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्