उपत्यकामा मजिपा लाखे नाचको संस्कृति



  • प्रेममान डंगोल

उपत्यकाको नेवार बस्तीका विभिन्न स्थानमा नचाइने लाखे नाचको चर्चा गर्नुअघि लाखे भनेको कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । लाखे भनेको डरलाग्दो अनुहार भएको रातो राक्षसको मुखौटा लगाएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा भएको, तासको जामा (पछाडिपट्टि षट्कोण लेखिराखेको) र लुगा लगाएको, हातको औंलामा लामा–लामा नङ्ग्रा भएको, कमरमा ठूला–ठूला यंगला र रातो पटुका बाँधेको हुन्छ । उपत्यकामा जति देवीदेवता छन् त्यति नै भूतप्रेत, दैत्य र लाखे पनि छन् भन्ने मान्यता रही आएको छ ।

नागपञ्चमी आयो कि उपत्यकाका विभिन्न नेवार बस्तीमा सन्ध्याकालमा लाखे नाच नचाउन थालिहालिन्छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म विभिन्न टोलमा लाखे नाच नचाइन्छ । विशेष गरेर मतिगा लाखेलाई यसै समयमा नचाइने मुख्य लाखेको रुपमा लिइन्छ । अन्य साधारण खालका लाखेको नाच पनि विभिन्न टोलमा नचाइने गरिन्छ । विशेष लाखे नाच नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म र इन्द्रजात्राको अवधि आठ दिनसम्म लाखे नाच नचाइने चलन छ । इन्द्रजात्राको अवधिमा नचाइने लाखेलाई मजिपा लाखे भनिन्छ ।

उपत्यकामा यसरी लाखे नाच नचाउने चलन कहिलेदेखि शुरुवात भयो भन्ने सन्दर्भमा राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा भित्र्याएका हुन् भनिन्छ । नुवाकोटबाट ल्याइएको लाखेचाहिँ सबल बहालका द्यःला लाखे हो भनिन्छ । भाषा वंशावलीअनुसार लाखे नाचको चलन काठमाडौंका राजा गुणकामदेवले शुरु गराएका हुन् भन्ने भनाइछ ।

लाखे नाच विशेष गरेर धाः र मुस्याः बाजा बजाएर नचाइन्छ । खिं पछिमा, नाय्खिं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शकहरुले रमाइलो मान्छन् । लाखेनाचसँगै झ्यालिंचालाई पनि नचाइन्छ । कागज र प्लास्टिकको मुखौटा लगाएर झयालिंचा जोकरजस्तै भएर भेषभूषा पनि त्यस्तै लगाएर लाखेका नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेट्ने गर्छ । झ्यालिंचाचाहिँ दर्शकहरुको समूहभित्र छिर्दै लाखेलाई हायलकायल पार्दै दर्शकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ ।

पहिला–पहिला झ्यालिंचा थिएन रे । एकपटक एकजना झ्यालिंचा नामक उपद्रयाहा मानिसले लाखेलाई जिस्क्याउन थालेछ । अनि लाखेले रिसाएर त्यस झ्यालिंचालाई पिटेर लात्ती हानी पठाएछ । पछि त्यसैको नक्कल गरेर लाखेसँगै झ्यालिंचाको नाच पनि नचाउन थालिएको हो भनिन्छ ।

काठमाडौंको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजिपा लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ । इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउने भन्दै रथको अघि–अघि मजिपा लाखे नाच्दै–नाच्दै हिँड्ने गर्छ ।

 

मजिपा लाखेका सम्बन्धमा एउटा रमाइलो किंवदन्ती छ । एक समयमा मजिपा टोलको एक ज्यापुकी छोरीको एउटा लाखेसँग प्रेम भएछ । त्यो लाखेले मानिसको रुप लिई ज्यापुनी केटी एक्लै खेतमा काम गरिरहँदा भेट्न आउने गर्दो रहेछ । अनि लाखेले खेतीको काममा पनि सघाउँदो रहेछ । खेतीको काम चाँडै सकाएको देखेर केटीका आमाबाबु आश्चर्यमा पर्दा रहेछन् । तर खास कुरा के हो भन्ने उनीहरुलाई थाहा थिएन । पछि त लाखे केटीको घर मजिपाटमा आउने गर्न थालिछ । तर यसै समयमा टोलका बच्चा पनि हराउन थालेछन् ।

टोलवासीहरुले त्यो लाखेले गर्दा नै टोलका बच्चा हराएको हो भन्ने शंका गरेर एकदिन चियो बसी टोल लाखेलाई समातेछन् । टोलवासीहरुले लाखेलाई पिट्नसम्म पिटेर केरकार गरेपछि त्यो लाखेले आफ्नो गल्ती स्वीकार्दै केटीसँग सम्बन्ध भएको र कुनै पनि हालतमा आफ्नो प्रेमिकालाई छोड्न नसक्ने बटाउँदै, आइन्दा टोलका बच्चाहरुको रक्षा गर्ने, टोलवासीहरुलाई दुःख नदिने र टोलमा भूतप्रेतबाट सुरक्षा गर्ने बचनबद्ध भई प्रतिज्ञा गर्‍यो रे । अनि सबै टोलवासी मिलेर त्यही टोलमा एउटा घर बनाइदिएर लाखेलाई त्यहीँ राखेछन् । पछि त्यो लाखे त्यहीँ सिद्ध भएका हुन् भनिन्छ । अहिलेसम्म पनि मजिपा लाखे ननी मजिपाटमा लाखेको घर छ । लाखेको उक्त घर जीर्ण भएकोले हाल नयाँ बनाइएको छ । लाखेको पूजा गर्ने चलन छ । मजिपा लाखे हल्चोकको शान्त भैरवको एक रुप हो भनिन्छ । हालसम्म पनि राति लाखे घर भित्र–बाहिर गरिरहने र घंगलाको आवाज पनि सुन्ने गरेको कुरा स्थानीयहरु बताउँछन् ।

अन्य लाखे नचाउँदा कुनै किसिमको तालिम र पूजाविधि गर्नु नपर्ने तर परम्परागतरुपमा छिपा रञ्जितहरुले विशेषरुपमा विधिपूर्व पूजा गरेर लाखे निकाल्ने चलन छ । इन्द्रजात्रामा यो मजिपा लाखे निकालिन्छ । लाखेको मुकुण्डोमा पूजा गरिसकेपछि लाखे आजु आफ्नो घरबाट बाहिर आउनुहुन्छ । न्हूघः र चिकं मुगःको दोबाटोमा तीनपटक उफ्रिनुहुन्छ, नृत्यको शुभारम्भ गर्नुहुन्छ । अनि बाजाको तालमा नाच्दै–नाच्दै गएर सबैभन्दा पहिला यंगाल टोलको प्रधानहरुको क्लब घरमा पूजा थाप्नुहुन्छ । यसो किन गर्नुपरेको भन्दा यसको पनि कारण रहेछ ।

धेरै वर्षअगाडि भारतमा यहाँका प्रधानहरु हिरामोतीको खेप गर्न जाँदा रहेछन् । त्यसरी जाँदा समुद्र तरेर जहाजबाट जानुपर्दो रहेछ । एकपटक हिरामोतीको खेप गरी फर्केर आउँदा समुद्रको बीचमा जहाज पल्टेर डुब्ला–डुब्लाजस्तै भएछ । त्यसै बेला एउटा मानिसले सबैभन्दा बलवान् तिम्रो भगवान्लाई पुकार गर भनेछ । अनि प्रधानहरुले आफ्नो घरनजिकै रहेका लाखेलाई पुकार गरेछन् । तत्काल लाखेले यंयलाको आवाज दिंदै जहाजलाई बचाइदिएछ । अनि प्रधानहरुले घर फर्केर आएपछि लाखेलाई भव्य पूजा गरेर मुखुण्डोमा ठूलो हिराको टीका चढाइदिएछन् । त्यसै बेलादेखि लाखेले सबैभन्दा पहिला यंगाल टोलका प्रधानहरुको घरमा गई पूजा थाप्न जाने चलन चलेको हो भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्