उत्तर कोरियाद्वारा लामो दूरीका क्रुज क्षेप्यास्त्र परीक्षण



प्योङयाङ,(एजेन्सी) ।

उत्तर कोरियाले जापानको अधिकांश भूभागमा मार हान्न सक्ने नयाँ लामो दूरीका क्रुज क्षेप्यास्त्रहरूको सफल परीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ । गत सप्ताहान्तमा गरिएका ती क्षेप्यास्त्रहरूले १ हजार ५ सय किलोमिटर दूरी तय गरेको बताइएको छ । आर्थिक समस्या र खाद्यान्नको अभावका कारण पनि उत्तर कोरिया हातहतियार विकास गर्न सबल छ भन्ने यस घटनाले पुष्टि गरेको छ ।

संयुक्त राज्य अमेरिकाका सेनाले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणका कारण अन्तर्राष्ट्रिय जगत्माथि खतरा महसुस भएको जनाएको छ । यसै गरी जापानले पनि यस घटनालाई ‘महत्वपूर्ण चिन्ता’ को संज्ञा दिएको छ ।

उत्तर कोरियाको दैनिक अखबार रोदोङ सिन्मुनमा प्रक्षेपक सवारी साधनबाट एउटा क्षेप्यास्त्र प्रक्षेपण हुँदै गरेको तस्विर छापेको छ । त्यसमा उडिरहेको क्षेप्यास्त्रको अर्को तस्विर पनि छापिएको छ ।

केसीएनएले क्षेप्यास्त्रहरू भनेको निकै महत्वपूर्ण सामरिक हतियार भएको उल्लेख गरेको छ । शनिबार र आइतबार गरिएका ती प्रक्षेपणका दौडान प्रक्षेपित क्षेप्यास्त्रहरू उत्तर कोरियाकै जलीय क्षेत्रमा खस्नुअघि आफ्नो लक्ष्य भेदन गर्न सफल भएका थिए । उत्तर कोरियासम्बन्धी विश्लेषक अंकित पान्दाले सम्भवतः पारमाणविक हातहतियार बोक्न सक्ने प्योङयाङको यो पहिलो लामो दूरीको क्रुज क्षेप्यास्त्र भएको जनाएका छन् ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि यस्ता क्रुज क्षेप्यास्त्र नभई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्