३ करोड ९ लाख जनामा इन्टरनेटको पहुँच, एक करोड फोरजी प्रयोगकर्ता



काठमाडौं, (नेस) । 

नेपालको कुल जनसंख्याको ३ करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त तथ्यांक असारसम्मको हो ।

गत जेठसम्म २ करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । प्राधिकरणका अनुसार असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६ दशमलव शून्य ३ प्रतिशत रहेको छ । एक करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ । त्यस्तै फिक्स ब्रोडब्यान्डको हिस्सा २५ दशमलव ६६ प्रतिशत रहेको छ । यसमा एडीएसएलका ७ लाख २८५ हजार र एफटीटीएच इन्टरनेट ७ लाख २७ हजार बढी रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तथ्यांकअनुसार फोरजीका प्रयोगकर्ता करिब एक करोडको रहेका छन् । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् । जसमध्ये टेलिकमका प्रयोगकर्ता जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेकोमा असारमा ४७ लाख ४४ हजार प्रयोगकर्ता पुगेका छन् । त्यस्तै एनसेलका फोरजी ग्राहक सोही अवधिमा ४८ लाख ५ हजारबाट ५० लाख ४२ हजार पुगेका छन् । स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन् ।

यसको जेठ महिनामा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए । तीनवटै कम्पनीको गरी कुल ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता रहेका छन् । गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए । एक महिनामा २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्