तत्काल ‘भेइकल स्क्यानर’ राख्न निर्देशन



काठमाडौं, (नेस) ।

प्रमुख भन्सार बिन्दुमा सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ तत्काल जडान गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । भन्सार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो ।

मालवस्तुको वर्गीकरण र मूल्यांकनमा इमान्दारिता कायम गरी राजस्व संकलन वृद्धि गर्ने कार्यमा लाग्नसमेत अर्थमन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभयो ।

त्यस्तै अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सरुवाका लागि नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभयो ।

सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन त्यो आफैं बुझ्नुपर्ने उहाँको भनाइ छ । राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत् स्वदेशी उद्योगको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएको भन्दै स्वगात गर्नुभयो । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्षअनुसारको राजस्व संकलन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्