फिल्म क्षेत्रमा बलेकै आगो तापिन्छ : दीपक श्रेष्ठ



निर्माता, निर्देशक, लेखक तथा सञ्चारकर्मी दीपक श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । आप्mनो जमानामा बिकाउ निर्देशक कहलिएका श्रेष्ठले निर्देशन यात्राका क्रममा करिब तीन दर्जनको हाराहारीमा फिल्म निर्देशन गरेका छन् भने गाउँले, आमाको आर्शिवाद, अजम्बरी माया, हिम्मत, जीवन साथी, आफ्नोपन, भाइ, भाइ भाइ, कृष्ण अर्जुन, पहिलो पहिलो माया, पापी मान्छे, पर्खी बसेंजस्ता हिट फिल्म दिएका छन् । उनले यी फिल्ममार्फत राजबल्लभ कोइराला, युना उप्रेती, नवीन श्रेष्ठजलगायतका कलाकारलाई फिल्म नगरीमा भित्र्याए । यति धेरै हिट फिल्म र योगदान दिएका श्रेष्ठ करिब आधा दशकयता गुमनाम भएर बसेपछि फेरि उही जोश र जाँगरका साथ फिल्म र सञ्चार क्षेत्रमा फर्किएका छन् । रेडियो एनआरएन ९९ पोइन्ट १ मा नाइन ओ क्लक नामक कार्यक्रम सञ्चालन गरी सञ्चार क्षेत्र तथा घिन्ताङ. नामक फिल्मको निर्देशन गरी पुनः फिल्म क्षेत्रमा फर्किएका दीपकले पछिल्लो समयमा म्युजिक भिडियोसमेत निर्देशन गरिरहेका छन् । उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

  • रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

हालै मात्र जोड घटाउ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेर सार्वजनिक गरेँ । जसको राम्रो प्रतिक्रिया पाइरहेको छु । केही दिनअघि मात्र अर्को नौलो कथामा आधारित नयाँ म्युजिक भिडियो निर्देशन गरेर पोखराबाट फर्किएँ । मेरो निर्देशनमा बन्दै गरेको फिल्म घिन्ताङको पनौतीबाट फेरि छायाकंन शुरू भएको छ ।

तपाईंले पुरानो पुस्ताका धेरैसँग काम गर्नुभयो, अहिले नयाँ पुस्तासँग पनि काम गरिरहनुभएको छ । के फरक पाउनुभयो ?

त्यस्तो धेरै त होइन, तर पहिले र अहिलेका कलाकारमा केही न केही फरक महसुस गरिरहेको छु । शायद समयको कारणले पनि होला पहिले हामीहरू फिल्ममा काम गर्दा सबै कलाकार एकै परिवार जस्तो भएर काम गर्थ्यौँ । पहिलेका कलाकारहरू कामप्रति हन्ड्रेड पर्सेन्ट दिऔँ भन्ने हिसाबले काम गर्नु हुन्थ्यो । आफूले गरेको कामप्रति जिम्मेवारी थियो ।

तर, अहिलेचाहिँ काम सकेर मोबाइलमा व्यस्त हुने र कुराकानी गर्ने तर केही सिक्न नचाहेको हो कि जस्तो महसुस हुन्छ । अहिले एकै परिवारका बुबा आमा र छोराछोरी पनि आ-आफ्नो मोबाइलमा व्यस्त हुने गर्नुुहुन्छ । समयको प्रभाव होकि भन्ने लाग्छ ।

आफूले काम गरे पनि कुनै पनि प्रोजेक्ट सफल र लोकप्रिय होस् भन्ने हिसाबले काम गर्नुपर्ने हो । तर, अहिलेका कलाकारमा कामप्रति शतप्रतिशत लगाव नभएको हो कि, बुझ्न नचाहेको हो कि या नजानेको हो या कामप्रति नै जिम्मेवारी नभएको जस्तो महसुस हुन्छ ।

अहिले बनाइरहनुभएको फिल्म घिन्ताङ कस्तो फिल्म हो ?

पहिले म पारिवारिक पृष्ठभूमिको गीत संगीत र फाइट आदि समावेश गर्दै फिल्म बनाउँथें । यसपालि भने आफूले बनाउँदै आएकोभन्दा फरक किसिमको फिल्म बनाउँदैछु । घिन्ताङ समसामयिक कथामा निर्माणाधीन फिल्म हो । एक बिहान चिया पिउँदै गर्दा कथाकार मन्दिरा मधुश्रीको कथा मासुको मूल्य अनलाइनमा पढ्ने मौका पाएँ ।

उक्त कथालाई फिल्ममा रूपान्तरण गर्ने सोचअनुरूप घिन्ताङ नाम दिएर बनाउन लागेको छु । फिल्ममा गाउँघरमा रहेका जातपातको कुरा, एकल महिला र एकल पुरुषहरुले सहनुपर्ने भेदभावलगायत पृथक विषय वस्तु समावेश छन् ।

तपाईंलाई अवस्था खराब भएको समयमा फिल्म क्षेत्रमा फर्किए जस्तो लाग्दैन ?

यो कथा पढ्दा पहिलो चरणको कोरोना भाइरस महामारीको कारण लकडाउन थियो । कथा पढेपछि मन छोयो र त्यही बेला फिल्म बनाउने सोच आएको थियो । तर, कोभिडले पहिलो दोस्रो तेस्रो हुँदै हामीलाई जकडिरहन्छ भन्ने लागेको थिएन ।

कथावस्तु् पृथक भएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डका लागि पनि उपयुक्त हुन्छ भन्ने लागेको थियो र त्यो बेला छिट्टै नै माहोल सहज होला भन्ने हिसाबले काम गरौँ न भन्ने सोच भयो । पछि केकी अधिकारीलाई कोरोना संक्रमण भएको कारण काम रोकियो । यसो गर्दागर्दै कति ब्याक हुने अब माहोल राम्रो होला भन्ने सोचले फेरि काम शुरू गरेका छौँ ।

सुटिङको दौरानमा तपाईं आफैँ पनि कोरोनाबाट संक्रमित हुनुभयो । के रहेछ कोरोना भनेको ?

कोरोनाबारे सबैलाई थाहा नै छ । मैलेचाहिँ आफैँले भोगेँ । २०/२२ दिन आइसोलेसनमा बसेँ । यसले मानिसलाई सचेत गराउँदै आएको छ । मास्क लगाउने बानी बसालेको छ, साबुनपानीले बेला-बेला हात धुनु भनेको कोरोना आएपछि मात्र होेइन, सधैँको लागि राम्रो बानी हो ।

यसले पारिवारसँग बस्ने वातावरण सिर्जना गरिदिएको छ । तर, त्योभन्दा दुःखको कुरा संसारभर महामारीको रूपमा फैलिएको यसले धेरै मानिसको ज्यान लिएको छ । यसले हामीलाई पाठ सिकाएको छ ।

यत्रो लामो समय फिल्म क्षेत्रबाट हराउनुको कारण के थियो ?

यो मैले आफूले आफैंलाई सोध्नुपर्ने प्रश्न हो । म किन फिल्म क्षेत्रबाट टाढा रहेँ भन्ने प्रश्न जीवनभर आफैँलाई सोधिरहनेछु । फिल्म क्षेत्रबाट टाढा भएकोमा आफैंलाई आत्मग्लानी हुन्छ ।

हुन त मेरो समय अनुकूल नभएर पनि हुन सक्छ, केही गर्न खोज्दा खोज्दै पनि काम नबन्ने भइरहेको थियो । हुन त, काम नै नगरेको होइन, बीचमा डकुमेन्ट्रीहरूमा कामहरू गरिरहेको थिएँ । तर, ठूलो पर्दाको फिल्म मात्र नगरेको हो ।

पछिल्लो समय आफ्नो निर्देशनको फिल्म चल्न छोडेकाले हराउनुपरेको हो ?

मैले हालसम्म २८/२९ वटा फिल्म निर्देशन गरेँ । जसमा धेरै फिल्म लगातार हिट भए । काम गर्दै जाँदा आफूलाई ठीक लागेका कामहरू दर्शकलाई ठीक नलाग्न पनि सक्छ । त्यही कारण मैले गरेका केही काम राम्रो हुन सकेनन् । काम गर्दै जाँदा सधैँ सफलतै सफलता भन्ने पनि हुँदो रहेनछ । आफ्नै कमी कमजोरीका कारण कहिलेकाहीँ असफलता पनि भोग्नुपर्ने रहेछ ।

फिल्मले राम्रो नतिजा नदिएर या मैले काम नपाएर यो क्षेत्रबाट टाढा भएकोचाहिँ होइन । प्रोड्युुसरहरूले फिल्म निर्देशनको लागि लगातार फोन गरिइरहनुहुन्थ्यो, तर म आफैँले फिल्म गर्न चाहिनँ । जुन मेरै गल्ती थियो । मैले फिल्म सफल भए पनि नभए पनि निरन्तरता दिनुपथ्र्यो । तर, ठीकै छ सधैँ सफलता मात्र भयो भने मान्छे मातिन्छ । असफलताले मानिसलाई लेसन सिकाउँछ, त्यसकारण जीवनमा असफलता पनि चाहिन्छ ।

फिल्म क्षेत्रको आफ्नो विगतलाई कसरी सम्झनुहुन्छ ?

फिल्म क्षेत्रमा लागेको यो समयसम्म मैले २८/२९ वटा फिल्म निर्माण निर्देशन, लेखन आदि गरेँ । यो बीचमा धेरै कलाकार, प्राविधिक दर्शक आदिको माया पाएँ । फिल्म क्षेत्रले मलाई सबैमाझ परिचित गरायो, सबैको माया दियो । धेरैसँग घुलमिल गरायो ।

ती क्षण अविस्मरणीय र स्वर्णीम छन् । जुन क्षेत्रमा रहे पनि कर्र्म गर्नै पर्छ र सुख दुःख, सफलता असफलता भन्ने आइरहन्छन् । मैले गरेका कर्मको क्रममा पनि कति सुखका क्षण छन्, कति दुःखका क्षण छन् । जे—्जस्तो भए पनि मसँग यो विधाका स्वर्णीम अनुभव छन् । यो विधा आफैंमा विचित्रको रमाइलो र अचम्मको विधा हो । धेरै साथीहरूले मलाई तिमी त अझै पहिलेझै योङ छौ नि भन्नुहुन्छ ।

यो क्षेत्र नै यस्तो छ, अरू मानिसहरू वर्षमा एकदिन पिकनिक गइरहेका हुन्छन् भने हामी फिल्मकर्मीहरू कहिले यो डाँडा, कहिले त्यो डाँडा, कहिले चौतारी विभिन्न ठाउँमा गएर पिकनिक मनाइरहेका हुन्छौँ । एकदमै रमाइलो क्षेत्र छ । यो क्षेत्रप्रति मलाई सदैव स्नेह, माया र लगाव छ ।

यति धेरै काम गरेको मानिस अचानक हराउँदा कतैबाट खोजीनीति भएन ?

हुन त जुन क्षेत्रमा पनि बलेकै आगो ताप्ने नै हो । जुन बेला मेरो फिल्म हिट थिए, मैले डेब्यु गराएका कलाकार गायक गायिका लेखक, गीतकार संगीतकार आदि रातारात हिट हुन्थे । त्यो बेला त मलाई धेरैको फोन आउने गथ्र्यो । अर्को फिल्ममा चाहिँ मलाई पनि अवसर दिनुप-यो भनेर घरमा नै मलाई भेट्न मानिसहरू आउने गर्थे ।

समयअनुसार मानिसहरू आउने जाने सफलता पाउने हराउने भन्ने कुरा आलोपालो भइरहन्छ । मेरो सफलतामा घरमै भेट्न आउने अनि वरिपरि घुमिरहने मानिसहरू मेरो फिल्मले राम्रो गर्न नसक्दा र म फिल्म क्षेत्रबाट टाढा हुँदा मेरो खोजी नहुुनु स्वाभाविकै हो ।

तर, पनि त्यत्रो फिल्म गरेको फिल्म क्षेत्रको लागि केही न केही त दिएको छ है, यो मान्छेले तर कसरी हरायो, किन हरायो भनेर खोजीनीति कहिल्यै भएन । शायद मानिसहरूलाई फुर्सद नभएको हो कि, खोज्ने सिस्टम नै नभएको हो कि जस्तो लाग्छ । काम गरिरहेको मानिस अचानक नदेख्दा हाम्रोमा चाहिँ सितिमिति खोज्ने, किन हरायो केही प-यो कि भन्ने र सहयोग गर्ने चलन यो क्षेत्रमाचाहिँ रहेनछ । यो बडो विचित्रको क्षेत्र रहेछ ।

तपाईंको अनुभवमा त फिल्म क्षेत्र बैगुनीहरूको क्षेत्र रहेछ है ?

होइन फिल्म क्षेत्र बैगुनी होइन । म यो क्षेत्रलाई कदापि बैगुनी भन्दिनँ फिल्म क्षेत्र बैगुनी हो भने त म पनि बैगुनी भएँ नि । फिल्म, गीत संगीत, कला साहित्य आदि बलेकै आगो तापिने क्षेत्र हो ।

थुप्रै कलाकारलाई यो क्षेत्रमा भित्र्याउनुभयो, उनीहरूलेचाहिँ सम्झिन्छन् कि सम्झिँदैनन् ?

अहिलेसम्म सम्झिएका छैनन् । मैले फिल्म गर्दा धेरै कलाकार, गीतकार संगीतकार आदि आगामी फिल्ममा मलाई पनि लिन प-यो भनेर भेट्न आउनुहुन्थ्यो । उहाँहरूको कुरा सम्बोधन गरेर मैले धेरैलाई आफ्नो फिल्मबाट ब्रेक दिएँ ।

तर, म यो क्षेत्रबाट टाढा रहँदा उनीहरूले मलाई सम्झिएका छैनन् । अब म म्युजिक भिडियो, फिल्म आदिमा सक्रिय हुँदैछु । एकपछि अर्को काम निरन्तरता दिने सोचमा छु । अबचाहिँ पहिलेजस्तै फोन तथा घरमा भेट्न आउने समय सिर्जना हुन्छ भन्ने लाग्छ ।

तपाईंको समयको फिल्म मेकिङ र अहिलेको कस्तो अन्तर पाउनुभएको छ ?

भास्ट डिफ्रेन्ट महसुस भएन । तर, नयाँ प्रविधि र भीएफएक्स आदिका कारण काम गर्न सजिलो भएको छ । पहिले मैले निर्देशन गर्दा त्यो सट क्यामेराम्यानबाहेक कसैले हेर्न सकिदैनथ्यो ।

अहिले क्यामेरामा कस्तो आयो कुन एंगलबाट खिचिएको छ मजाले हेरेर यदि मिलेको छैन भने तुरुन्त नयाँ खिच्न सकिन्छ । कुनै डाँडामा हिरोलाई नचाएर त्यहाँ चरा उडाउन मन लाग्यो भने मैले साँच्चिकै चराहरूलाई पर्खिनुपर्दैन, भिएफएक्सको सहाराले चरा उडाइदिन सक्छु । पहिलेभन्दा अहिले काम गर्न धेरै सजिलो भएको छ ।

अबको योजना के रहेको छ ?

फिल्म निर्माण भइरहेको छ । त्यस्तै, म्युजिक भिडियोको कामहरूमा पनि सक्रिय छु, डकुमेन्ट्रीहरूमा पनि काम गर्ने योजना छ । रेडियो एनआरएन ९९ पोइन्ट वानमा नाइन ओ क्लक नामक कार्यक्रम सञ्चालन गरिरहेको छु ।

२०४७ सालदेखि नै नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेको थिएँ । अब छिट्टै टेलिभिजनमा कार्यक्रम पनि सञ्चालन गर्ने सोच छ ।अब पहिलेजस्तै यो क्षेत्रमा निरन्तररूपमा सक्रिय हुने र पहिलेजस्तै मानिसहरू बोल्न आउने माहोल तयार गर्दैछु ।

प्रतिक्रिया दिनुहोस्