स्वतन्त्र प्रेसमाथिको आक्रमण



नेपाल समाचारपत्र, काठमाडौं ।

खबर संकलनका लागि काठमाडौंको होटल मेरियट पुगेका एभिन्युज खबरकर्मीमाथि प्रहरीले हातपात गरेको घटनाप्रति मिडिया एलायन्स नेपालले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो घटना निन्दनीय भएको ठहर गरेको छ ।

भदौ २५ गते काठमाडौंको नक्सालस्थित होटलमा खबर संकलनका लागि पुगेका संवाददाता शीतल रिजाल र क्यामरा पर्सन सुरेश रजकमाथि प्रहरीले हातपात गरेको थियो । मिलेनियम च्यालेन्ज कर्पाेरेसन ‘एमसीसी’ को विषय अहिले नेपालमा सर्वाधिक चासो र सरोकारको मुद्दा रहँदै आएको छ ।

‘सो घटनासँग सम्बन्धित विषयका जानकारी र सूचना जनतालाई पु¥याउनु सञ्चारकर्मीको कर्तव्य हो’, मिडिया एलायन्स नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘तर शुक्रबार राति मेरियट होटलमा एभिन्युजकर्मीमाथि गरिएको आक्रमण स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको हाम्रो ठहर छ ।’

खबर संकलनमा खटिएका सञ्चारकर्मीलाई प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले केही घन्टा नियन्त्रणमा लिनु आपत्तिजनक भएको एलायन्स बताएको छ ।

एलायन्सले घटनाको छानबिन गरी त्यसमा संग्लनलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरोकारवालासँग माग गरेको छ । संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेसविरुद्धका गतिविधि तल्काल बन्द गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न तथा आगामी दिनमा यस्ता घटना नदोहोराउने प्रतिबद्धता गर्न समेत एलायन्सले विज्ञप्तिमार्फत माग गरेको छ ।

यसैबीच समाचार संकलनका लागि काठमाडौंस्थित मेरियट होटल पुगेको एभिन्युज टेलिभिजनका संवाददाताद्वय शीतल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्र्यवहार गर्दै हातपात गर्नुका साथै उनीहरूको क्यामेरा खोसेर तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार र केही राजनीतिक दलका नेताबीच भेटघाट हुने खबर पाएपछि समाचार संकलनका लागि शुक्रबार राति ११ बजे मेरियट होटल पुगेका पत्रकारद्वय रिजाल र रजकलाई प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएको थियो । समाचार संकलनमा किन रोक लगाएको भनेर प्रहरीसँग सोधखोज गर्दा प्रहरीले उल्टै पत्रकारद्वयमाथि दुव्र्यवहार र हातपात गर्दै उनीहरूको क्यामेरासमेत तोडफोड गरेको छ ।

स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यो हर्कतले प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर हो । महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्