क्रिस्टल डिष्टिलरीमा राजस्वको छापा



यमलाल भुसाल, बुटवल।

तीन साताअघि ठूलो परिमाणमा बरामद भएको अन्तःशुल्कको नक्कली स्टिकरको साइनो रहेको आशंकामा तिलोत्तमामा सञ्चालित क्रिस्टल डिष्टिलरीमा छापा मारिएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले उक्त डिष्टिलरीमा छापा मारी उद्योगमा रहेका कागतपत्र, कम्युटर, उद्योग सञ्चालकको मोबाइलसमेत नियन्त्रणमा लिई उद्योेग शिल गरेको हो ।

गत भदौ ५ गते सशस्त्र प्रहरीले २ करोड ३५ लाख ६३ हजार रुपियाँ बराबरको अन्तः शुल्कको नक्कली स्टिकर बरामद गरेको थियो । सो विषयमा राजस्व अनुसंन्धान कार्यालयले नक्कली स्टिकरबारे अनुसन्धान गर्ने क्रममा नवलपरासीको दिक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टारसोफी’ ब्रान्डका ५० कार्टुन बरामद गरेको थियो ।

आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले अन्तःशुल्क स्टिकर चोरीजस्तो मुद्दामा संलग्न जोकोही व्यक्ति वा कर्मचारीलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर कानुनी दायरामा ल्याउन निर्देशन दिनु भएको छ । त्यस्तै राजस्व अनुसंन्धान विभागका महानिर्देशक रामप्रसाद आर्चायले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराईमा अनुसन्धान जारी रहेकोले केही दिनभित्रै पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्