‘भान्छा चरुवा डरलाग्दा ढाडे बिरालाहरु’



  • बालकृष्ण मैनाली

बिराला कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको बारेमा बुझेको भनेकोचाहिँ प्रायः गरेर चार किसिमका बिरालाहरु हुन्छन् । त्यसमध्ये रंगको हिसाबले खैरो, कालो, सेतो र हिमालमा पाइने एक विशेष प्रकारको हिमाली बिरालो । सम्भवतः नेपाली जनजनले बुझेका बिरालोका प्रकार यिनै हुन् । यी मध्ये सबभन्दा डरलाग्दो बिरालो भनेको कालो ढाडे बिरालोलाई लिने गरिन्छ ।

केही मुसाहरु बिरालोलाई माया पनि गर्छन् र घृणा पनि गर्छन् । माया गर्ने मुसाहरुले आफ्नै बलि दिन्छन् र घृणा गर्ने मुसाहरु बिरालोको गन्ध थाहा पाउनेबित्तिकै दुलोमा लुक्न पुग्छन् । किनकि यी मुसाहरुलाई यो कुरा थाहा छ कि बिरालो जति सुधो देखिन्छ त्यति छँदै छैन । कुनै पनि बिरालोले मुसाबाट माया पाउने हो कि घृणा भन्ने बिरालोको व्यवहारबाट निर्धारित हुन्छ । हो, आज–भोलि पछिल्लो समयमा दलभित्रका ‘भान्छा चरुवा डरलाग्दा ढाडे बिरालाहरु’ का खबरहरु खबर बजारहरुमा चर्चा–परिचर्चा हुन थालेका छन् ।

बिरालोको पहिलो बिशेषता वा उसले दिने गरेको प्राथमिकता भनेको सकेसम्म माया गरेको देखाउनु नै हो, आफ्नो टाउकोले मानवको गोडामा लुटुपुटु गर्दै फकाएर खानेकुरा माग्नु र आफ्नो पेट भर्नु । यति गर्दा पनि मानवको मन पग्लेन र उसलाई भोकै राख्ने प्रयास भयो भने उसले आफ्नो दोस्रो विकल्प अपनाइछाड्छ, त्यो भनेको प्रायः भान्छा–भान्छा चहारेर दूध, माछा, मासु जे छ त्यसलाई चोरेर खानु नै हुन्छ । पछिल्लोपटक पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो गुटभित्रको कार्यक्रममा एउटा अनौठो र हास्यास्पद विचार व्यक्त गरेका छन् । त्यो भेलामा उनले नेकपा एस गुटका सदस्यहरुलाई चोर बिरालोको संज्ञा दिई मनोरञ्जनात्मक कटाक्ष गर्न भ्याएका छन् । उनको कटाक्षपूर्ण भाषणको सारचाहिँ हाम्रा चोर बिरालाहरु देउवाका तर चोर्न गए भन्ने थियो ।

उनको यो भनाइलाई आधार मान्ने हो र राजनीतिक वृत्तका राजनीतिक व्यवसायायीहरुलाई उनले भर्खरै भनेको चोर बिरालाहरुको कर्तुतलाई तुलामा राखेर जोख्ने हो भने कुनचाहिँ दलमा कुनचाहिँ साधु बिरालो छ त भन्ने कुराको गहिरिएर खोजी तथा छानबिन गनुपर्ने हुन्छ । यदि त्यसो गरियो भने एकाध वा अपवादमा साधु बिरालाको रुपमा एकाध देखा पर्न सक्छन्, जसलाई औंलामा गन्न कुनै कठिन हुने छैन । उहाँको चोर बिरालाको अभिव्यक्ति सार्वजनिक भएपछि थुप्रै जनले उहाँलाई पनि प्रश्न गर्ने गरेका छन्– के उहाँचाहिँ साधु बिरालो हो ? बहुमतको सरकारको नेतृत्व गरेको व्यक्तिले आफ्नै दलको बहुमत कायम रहेको हुँदाँखाँदाको संसद्लाई दुई–दुईचोटि विघटन गरेर मुसाहरुलाई हाँस्न सघाउ पुर्‍याउने उहाँचाहिँ साधु बिरालो कसरी ठहरिन्छ ?

बिरालामध्ये कालो बिरालोलाई प्रायः अपसुगनको रुपमा लिइने गर्दछन् हाम्रा पुस्ताहरु । कतिपय हाम्रा पुस्ताका जनजनहरु साइत पारेर कतै बाटोमा हिँडिरहेको बेला बीचबाटोबाट खैरो वा सेतो बिरालोले बाटो काट्यो भने आज काम नबन्ने भयो भन्दै गनगन गरी आफ्नो गन्तव्यतिर लाग्ने गर्दछन् । यदि कालो बिरालोले बाटो काट्यो भने त कतिपय जन घरै फर्केर आई आफ्नो ओछ्यानमा डङ्ग्रङ्ग लड्दै, सारा जहाज डुबेजस्तो गरी बरबाद भयो, आज कालो बिरालोले बाट्यो काट्यो भन्दै आफ्ना परिवारका सदस्यहरुसँग रोइलो गर्ने गर्दछन् । बिरालामध्ये झन् भाले बिरालो त उधुम बदमास हुन्छ । आफ्नो सन्तानलाई पनि बाँकी राख्दैन । पूर्वप्रधानमन्त्री ओलीले भनेको एउटा कटु सत्यचाहिँ के हो भने, दलका नेतालाई बिरालाकै संज्ञा दिने हो भने प्रायः प्रत्येक दलमा कालो बिरालो उसमाथि पनि भालेकै संख्या उच्चतम दरमा रहेको छ भन्ने कुरा जगजाहेर भएको छ । अत्यधिक कालो बिरालो, त्यसमा पनि भाले बिरालो भएको ठाउँमा एकाध सेतो र खैरो बिरालो भए पनि तिनीहरुको खासै अस्तित्व रहँदैन । दलभित्रका खैरे र सेते बिरालाले अलिकति मात्रै टाउको उचाले कि कालेले झम्टिहाल्ने प्रथा अहिले पनि ज्युँका त्युँ छ । त्यस्तै छ दलभित्रका बिरालोहरुको चर्तिकला ।

दलभित्रका कालो खालका भाले बिरालाहरु साखुल्ले हुन खप्पिस छन् । जुनसुकै दलको सरकार होस् उनीहरु जसको भन्छामा पुगे पनि भान्छेलाई पट्याउन खप्पिस छन् । काले बिरालो यति धुर्त छ कि जुनसुकैको भान्छामा पुगे पनि भान्छेलाई पट्याइहाल्ने क्षमता राख्छ । उसलाइ के थाहा छ भने, भान्छा परिवर्तन गर्दा यदाकदा भान्छामा भान्छे भेटिएन भने पनि उसलाई खानाको समस्याले कतै पिरोल्दैन । भान्छामा भान्छे नभेटिनु त काले बिरालोको लागि झन् स्वर्ग हो । छानी–छानी विभिन्न माछा, मासुलगायत आफूलाई मन पर्ने विभिन्न मिष्ठानहरु ग्रहण गर्ने सुअवसर हो काले बिरालोलाई ।

काले बिरालोहरुबीच पनि पाँच वर्षमा एकचोटि तँ ठूलो कि म ठूलो भन्ने होडबाजी चल्ने गर्दछ । मुसाहरुले आफैँलाई खाने जन्तु हो भन्ने थाहा पाउँदा पाउँदै पनि काले बिरालोलाई छान्न बाध्य छन् र त्यसमा मुसाहरु अभ्यस्त पनि भैसकेका छन् । काले बिरालोहरु यति चलाख छन् कि जहिले मुसाहरुबाट छानिने बेला हुन्छ सबै काले बिरालाले अबदेखि तिमी मुसाहरुलाई नखाने कसम खान्छौं भनेर विश्वास दिलाउँछन् । प्रत्येकपल्ट मुसाहरु होला त नि भन्दै त्यही काले बिरालालाई छान्छन् । केपी ओलीले आफ्नो भाषणमा आफ्नै घरको बिरालाको मात्र नाम लिए, बिरालीको नामचाहिँ लिँदै लिएनन् । बिरालीको नाम किन लिएनन् ? त्यस विषयको अनुसन्धान अनुसन्धानकर्ताले गर्लान् तर ढाडे बिरालोको तुलनामा बिरालीहरु पनि कम छैनन् भन्ने कुरामा मुसाहरु प्रायः एकमत रहेका छन् । घरपालुवा बिराली ढाडे बिरालोभन्दा खतरा हुन्छ भन्छन् जानकारहरु । कतिपय ढाडे बिरालोहरुले घरपालुवा बिरालीको लहैलहैमा लागेर आफ्नो दाह्रा र नङ्ग्रा आफैले झिकेर दराजमा थन्क्याई राखेका छन् ।

कहिलेकाहीँ रंग र वर्ग नमिले पनि विभिन्न रंगका बिरालाहरुले एकता गर्ने गरेका छन् । करिब चार वर्षअघि आफूलाई सुधो, इमानदार बिराला ठान्ने स्वयं केपी ओलीले निर्वाचनको पूर्वसन्ध्यामा अन्य रंगका बिरालाहरुसँग एकता गरेका थिए । मुसाहरुलाई फकाई–फुल्याई तिमीहरुलाई अब म कुनै पनि हालतमा खान्न भन्दै झन्डै दुई तिहाइ बिरालाहरुको समर्थनबाट ढाडे बिरालोमा रुपान्तर भई चलाएको शासनमार्फत मुसा विचराहरुलाई अन्ततः घरको न घाटको बनाइछाडे ।

अबको केही समयपछि थरी–थरीका बिरालाहरुले बेइमान गरेनन् भने स्थानीय मुसाहरुलाई फकाई–फुल्याई तिमीहरुलाई हामी खाँदैनौं भन्दै भ्रम छर्ने समय आएको थरी–थरीका बिरालाहरुले महसुस गरिसकेका छन् । त्यसका लागि थरी–थरीका बिरालाहरु एकजुट हुन थालिसकेका छन् । मुसाहरुलाई लोभ्याउन शुरु भैसकेको छ । बिरालाले आफ्नो भकारीको केही धान मुसाहरुलाई छर्ने जमर्को पनि शुरु गरिसकेको छ । केही विश्वासिला मुसाहरु जो आफूलाई बिरालोले खाँदैन भनेर ढुक्कसँग लागिपरिरहेका छन्, तिनीहरुले आफ्नो भागमा परेका धानका गेडा चपाउन शुरु गरिसकेका छन् ।

बिरालारुपी राजनीतिक व्यवसायीहरुले जुन रंगको बिरालो नामकरण गरेर न्वारान गरिएको भए तापनि कुनै पनि कालखण्डमा मुसाहरुको अभिमतलाई कदर गर्ने जमर्काे नै गरेनन् । बिरालाहरुको सत्ता प्राप्ति यस्तो विषय बन्न पुग्यो कि सत्ता प्राप्ति नहुन्जेलसम्मको लागि मात्र मुसाको समस्या सम्बोधन गर्ने नाममा मुसाहरुलाई उराल्ने र उचाल्ने कार्य हुन गयो । जुनसुकै बिरालोले सत्ता प्राप्ति गरे पनि आफ्नै नजिकका मुसाहरुलाई देखावटी माया गर्नेदेखिबाहेक जुन रंगको बिरालो हिरो भए पनि अन्य मुसाको हितमा चाहिँ सोच्न पनि समय निकाल्न सकेनन् ।

देशमा रहेका साना–ठूला वा रंगिबिरंगीका जति पनि दलीय बिरालाहरु र बिरालीहरु छन्, तिनीहरुका मूल उद्देश्य मुसाहरुलाई मार्ने नै हो । मुसाहरु नखाने बाचा त मुसाहरुलाई झुक्याउने परिपञ्च मात्रै हो । विदेशबाट आएका र झिकाइएका बिरालाहरु त झन् मापाका । विदेशी बिरालाहरुको प्रवेश र सहज पहुँचले सोझा मुसालाई देखी नसहने स्वदेशी बिरालाहरु म्याउँ पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् भने वर्तमान अवस्थामा त झनै दयनीय अवस्थामा पुगिसकेका छन् । पटक–पटक मुसाहरुले थरी–थरीका बिरालालाई सचेत गराएकै हुन् । बिरालाहरु सुध्रिनै चाहेनन् । त्यति मात्रै होइन, बिरालाहरुका भीडमा को ढाडे बिरालो बन्ने भन्ने प्रतिस्पर्धा गर्ने क्रम दिनानुदिन प्रत्येक दलमा बढ्दै गयो । आपूm ढाडे बिरालो बन्न नपाएको झोकमा वा मुसाकै सहयोगबाट ढाडे बिरालोबाट खैरे बिरालोमा झारिदिएपछि आक्रोशपूर्ण शैलीमा अन्य ढाडे बिरालाहरुलाई सत्तोसराप गर्न थालेको देखेर मुसाहरु खित्का छोडी हाँसेका हाँस्यै छन् ।

२०४६ मा भएको आन्दोलनपश्चात् देशका दलहरुमा थोरै मात्र बिरालाहरुको पहुँच थियो वा रजगज थियो । त्यति बेलै मुसाहरुले ढाडे बिरालोहरुको पहिचान गरी उनीहरुको ढाडै खुस्काइदिएको भए अहिले ढाडेहरुको रोइलो सुनिरहनुपर्ने थिएन । वर्तमानमा एमसीसी प्रसंगले व्यापकता पाएको छ । एमसीसी सामान्य दस्ताबेज मात्रै होइन, यो पनि एउटा विदेशी ढाडे त्यो पनि कालो बिरालो नै हो । हेर्दा माया गरेर गोडामा लडिबुडी खेल्दै मनोरञ्जन दिने खालको तर भित्री मनसाय दुलोमा लुकेको मुसालाई समेत खोस्रेर भए पनि ल्याउने र सिध्याउने । यो मामिलामा प्रत्येक स्वदेशी मुसाहरु बलिदान दिन तयार भएर विरोधमा डटेका छन् । यसको अस्त नहुन्जेलसम्म लडाइँ जारी राख्नुपर्दछ ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्