दिक्क लाग्नबाट कसरी बच्ने ?



  • प्रेम रावत

तपाईँको कथा के हो ! के तपाईँलाई आफ्नो कथाका बारेमा थाहा छ ? के तपाईँको कथा एउटी श्रीमतीको कथा हो ! एउटी बहिनीको कथा हो ! एक श्रीमान्को कथा हो ! एक छोरीको कथा हो ! कुनै दाजुभाइको कथाजस्तो हो या त्यो कथा तपाईँको एउटा फरक कथा हो ? के तपाईँ आफ्नो जीवनमा त्यो कथालाई पूरा गरिरहनुभएको छ या छैन ? त्यही कथालाई पूरा गर्नका लागि तपाईँको जन्म भएको हो तर त्यसपश्चात् तपाईँको ध्यान बाँडिन पुग्यो । तपाईँको ध्यानलाई यताउता लैजानु आवश्यक छैन, किनभने त्यो कथालाई तपाईँले अहिल्यै पूरा गर्नुपर्छ । तपाईँको कथा के हुन सक्छ भने, तपाईँ आफ्नो हृदयलाई त्यो आनन्दले, त्यो वास्तविक आनन्दले भर्न सक्नुहुन्छ । यो राम्रो कथा हो । लडाइँ, दुःख, पीडा या चिन्ताका बारेमा होइन । म जीवनमा आफ्नो कथालाई पूरा गर्न चाहन्छु । यो मेरो प्रयास हो ।

चिन्तै गर्ने हो भने त के कुरामा गर्नुपर्छ भने, के म आफ्नो कथालाई पूरा गरिरहेको छु या छैन ? यसका बारेमा म सोच्छु कि सोच्दिन ? यसतर्पm मेरो ध्यान जान्छ कि जाँदैन ? किनभने, चिन्ता कुन कुराको छ ? ‘मेरो परिवारलाई के हुने हो ! मेरा बालबच्चालाई के हुने हो ! मैले कहिले जागिर पाउँछु !’ यी कुराको चिन्ता हुने गर्दछ ।

यो जीवनमा एउटा कुरा के छ भने, ‘शान्ति सम्भव छ’ । तपाईँ जीवित हुनुहुन्छ । कुरा त्यतिखेरको होइन जतिखेर तपाईँ हुनुहुन्नथ्यो । अनि, कुरा त्यस बेलाको पनि होइन जुन बेला तपाईँ हुनुहुनेछैन । जबसम्म तपाईँ जीवित हुनुहुन्छ तबसम्मको कुरा हो । तपाईँ जीवित रहुन्जेलसम्म तपाईँका लागि कुन–कुन कुरा सम्भव छन् ! के असम्भव छ भन्ने कुरा थाहा पाउने कोशिश गरिराख्नु आवश्यक छैन । के–के सम्भव छन् भनेर थाहा पाउने कोशिश गर्नुहोस् । तपाईँ ती सृष्टिकर्तालाई भेट्न सक्नुहुन्छ । भेट्न सक्ने कारण के हो ? किनभने, ती सृष्टिकर्ता तपाईँभित्रै छन् । तपाईँबाट अलग्ग छैनन् ।

तपाईँलाई के प्राप्त भएको छ भन्ने कुरालाई बुझ्ने कोशिश गर्नुहोस् । यो तपाईँका लागि मौका हो । हाम्रा लागि अवसर हो । जीवित रहेका सबैका लागि अवसर हो । अनि, धेरै कुरा सम्भव छ । यदि हामीले जान्ने कोशिश गर्‍याैँ, बुझ्ने कोशिश गर्‍याैँ भने के कुरा सम्भव छ भने, वास्तवमा हामी आफ्नो जीवनमा त्यस आनन्दको अनुभूति गर्न सक्छौँ । त्यसको आनन्द लिन सक्छौँ ।

यदि कुनै मानिसलाई दिक्क लागिरहेका बेलामा उसको तौल जोख्ने हो भने तौल बढेको देखिन्छ कि घटेको हुन्छ ? किनकि, यदि उसले दिक्दार भएको अनुभूत गरिरहेको छैन भने के उसको तौल कम हुनुपर्ने हो ! उदासीनताको पनि कुनै तौल हुन्छ ? हुँदैन ! त दिक्दारी के हो ! दिक्दारीको अर्थ के हो भने ‘दिक्क लाग्नु’ । यो जीवनमा श्वास आइरहेको छ अनि गइरहेको छ । यो श्वासको आउनु–जानु नै कृपा हो । तपाईँभित्र कृपा भइरहेको छ । अनि, तपाईँलाई चाहिँ दिक्क लागिरहेको छ । जेलभित्र मानिसहरूलाई दिक्क लाग्दो हो नै तर आफ्नै घरभित्र पनि मानिसलाई दिक्क लागिरहेको छ । यस्तो कसरी हुन्छ र !

मानिसले आफू के हो अनि को हो भन्ने कुरा बुझ्यो भने वास्तवमै यो संसारमा एकदमै छिटो शान्ति हुनसक्छ । शान्तिको स्थापना गर्नका लागि चन्द्रमामा जानु आवश्यक छैन । समुद्रलाई सुकाउनु आवश्यक छैन । यदि मानिसले मानवतालाई मात्रै महसुस गर्ने हो भने पनि वास्तवमा यो संसार बदलिन सक्छ । केवल यही कुराको आवश्यकता छ ।

कुनै पनि हालतमा हिम्मत नहार्नुहोस् अनि दिक्दार नहुनुहोस् । ‘परमानेन्ट’ (स्थायी) र ‘परमानन्द’ सुन्दाखेरि धेरै फरक सुनिदैन । जब दिक्क लाग्न थाल्छ नि तब ‘परमानेन्ट’ (स्थायी) लाई याद गर्नुहोस् । यदि ‘परमानेन्ट’ (स्थायी) को याद आएन भने पनि परमानन्दलाई सम्झनुहोस् । त्यो तपाईँभित्र छ ।

तपाईँले आफ्नो जीवनमा कैयौँ रुखबिरुवा देख्नुभएको होला । तर, कहिल्यै तपाईँले यो पनि सोच्नुभएको छ– त्यो रुख जुन बीउबाट उम्रियो, त्यसको स्वभाव कस्तो छ ? त्यसको क्षमता के हो ?

यदि मरुभूमिमा बालुवाभित्र दबिएर रहेको बीउको धैर्यतालाई हेर्ने हो भने त्यसले वर्षौँसम्म त्यहाँ रहेर आफ्नो अनुकूलको मौसम र वर्षालाई प्रतीक्षा गरिरहेको हामी पाउँछौँ । कुनै बेला ऋतु आफ्नो नियमानुकूल नहुँदा त वर्षा पनि हुँदैन । यद्यपि त्यो बीउले आफ्नो उद्देश्यलाई कहिल्यै भुल्दैन । उसको लक्ष्य स्पष्ट हुन्छ । चाहे जतिसुकै समयसम्म वर्षा नहोस्, उसले आफ्नो तयारी गर्न छोड्दैन । यदि त्यस बीउको ठाउँमा मानिस हुने हो भने ‘यत्तिका वर्षसम्म त वर्षा भएन अब के हुन्छ ?’ भन्ने सोच हुन्थ्यो । आफैँलाई असहाय सम्झेर हिम्मत हार्ने थियो । तथापि, त्यो बीउले त्यस्तो गर्दैन । त्यसले कहिल्यै हिम्मत हार्दैन । ऊ सधैँ तत्पर रहन्छ । पानी परेपछि त्यो बीउ क्रियाशील भएर बिस्तारै अङ्कुराउन (टुसाउन) थाल्छ । रातारात त्यो उम्रिन थाल्छ । आफ्नो लक्ष्य प्राप्तिका लागि ऊ सदैव तम्तयार भइरहन्छ ।

हरेक मानिसभित्र पनि मानवता र शान्तिको एउटा बीउ छ । त्यो बीउले पनि उम्रेर फूल फुल्ने अनि सफल हुने मौका मिलोस् भन्ने चाहन्छ । तपाईँको जीवनमा विचार, विवेक र आत्मविश्वासको वर्षा भएपछि त्यो बीउ तपाईँको हृदयमा अवश्य उम्रन्छ । यो निश्चित कुरा हो । त्यो बीउजस्तै मानिसलाई पनि अघि बढ्नका लागि आत्मबल र आत्मविश्वासको आवश्यकता पर्दछ । मरुभूमिमा रहेको बीउ आफ्नो जीवनमा आँधी, तुफान, जाडो–गर्मी, सुख–दुःख सबै सहँदै एकदिन प्रस्फुटित हुन्छ । अनि मरुभूमिको शोभा बन्दछ । त्यसै गरी तपाईँ पनि आफूभित्र रहेको मानवता र शान्तिको बीउलाई विकसित हुने मौका दिनुहोस् । त्यो वृक्षको छायामा बसेर आफ्नो जीवनको आनन्द र सन्तुष्टिको अनुभव गर्नुहोस्, जसले गर्दा यो जीवनको शोभा बढोस् । तपाईँ पनि आफ्नो जीवनलाई सफल बनाउनका निम्ति त्यो बीउलाई उम्रने मौका दिनुहोस् र त्यसलाई धेरैभन्दा धेरै विकसित हुन दिनुहोस् ।

एउटा नरिवलको उदाहरण लिऊँ । यदि तपाईँले कहिल्यै समुद्रको बीचमा कुनै विकट उष्ण टापुलाई हेर्नुभयो भने तपाईँले त्यहाँ देख्नुहुन्छ– त्यस निर्जन टापुमा नरिवलका अग्ला–अग्ला रुखहरू हुन्छन् । यो अचम्म भएन त ? आखिर त्यस टापुमा ती रुख कसरी पुगे ?

के तपाईँलाई थाहा छ ? त्यस नरिवलले एकदमै प्रतिकूल वातावरणमा एउटा असम्भव लाग्ने यात्रा गरेको छ । के तपाईँलाई लाग्छ– त्योसँग कुनै नक्सा थियो होला त ? पक्कै पनि थिएन । न त त्यस नरिवलसँग कुनै नक्सा थियो, न आजकलको उपकरणजस्तो कुनै जीपीएस नै थियो । ऊसँग त्यहाँसम्म पुग्नका लागि कुनै डुङ्गा वा इन्जिन थियो भन्ने पनि होइन । तर, साँचो कुरा के हो भने, यो लामो र दुरुह यात्रा गर्नका लागि त्यस सानो नरिवलभित्र उसलाई आवश्यक पर्ने सबैथोक रहेको हुन्छ । समुद्रमा जीवित रहनका लागि सफा पानीको आवश्यकता हुन्छ । यसका अतिरिक्त त्यो नरिवल कतै किनारातिर पुग्यो भने त फेरि अङ्कुरित हुनका लागि पनि उसलाई पानी चाहिन्छ ।

यसरी पूरा यात्राका क्रममा नरिवलले आफूभित्र मीठो पानी राखिरहन्छ । नरिवलको जटायुक्त खोल पूरै यात्राभरि एउटा रक्षा कवचजस्तै हुन्छ । तैरिनमा उसलाई सहयोगी भूमिकामा हुन्छ । यसै कारण नरिवल पानीमा डुब्दैन । बरु पानीको सतहभन्दा माथि तैरिरहन्छ र डुङ्गाको पालले जस्तै यसले हावाको बेगलाई समात्ने काम गर्दछ ।

ठूलो उत्साहका साथ यो नरिवल आफ्नो अज्ञात गन्तव्यतिर बढिरहन्छ । रुखबाट झरेर त्यसले सागरको फिँजयुक्त छालद्वारा बार–बार तरङ्गित हुनुपर्छ । यो पटक–पटक खुल्ला सागरमा पुग्ने प्रयास गरिरहन्छ । एकपटक जब त्यो नरिवल सागरमा पुग्दछ अनि चाँडो समुद्रको छाल र हावाको गति समातेर आफ्नो गन्तव्य स्थलतिर बढिरहन्छ । कहिल्यै सोच्नुभएको छ, यति विशाल सागरको माझमा प्रचण्ड छालहरूको झापड सहेर त्यो सानो नरिवल पटक्कै आत्तिँदैन । मानवले त विशाल–विशाल जहाज, ट्याङ्कर बनाएका छन् । तर, जब समुद्रमा तुफान आउँछ, ती ठूला–ठूला जलयानहरू पनि नजिकको बन्दरगाहमा शरण लिन्छन् । आफूलाई सुरक्षित राखेर तुफान हट्ने प्रतीक्षा गर्दछन् । तर, यो नरम नरिवलले कहिल्यै त्यसो गर्दैन । हरेक वेगवान छालसँगसँगै माथि उचालिन्छ र हरेक दोस्रो छालले तल पछारिदिन्छ । तुफानले यसका लागि एउटा यस्तो उपकरणको जस्तो काम गरिदिन्छ मानौँ त्यो एक किसिमले उसको यात्राको सहयात्री हो ।
एक दिन समुद्रको कुनै ठूलो छालले त्यो नरिवललाई कुनै नयाँ किनारामा पछारिदिन्छ । त्यसले नयाँ ठाउँमा पुगेर चुपचाप आफ्नो जरालाई फिजाउँछ । अनि फेरि, एक दिन यस्तो पनि आउनेछ– त्यो नयाँ ठाउँमा नरिवलको एउटा रूख हुन्छ । अब त ऊ आफ्नो फललाई फेरि समुद्रका छाललाई सुम्पिनका निम्ति तयार हुनेछ । जे–जति कुरा नरिवलसँग छ, त्यसले बढीभन्दा बढी आफ्नो क्षमताको उपयोग गर्दछ । विनाहिच्किचाहट, केही नसोची यस्ता हरेक अवसरलाई पाएसम्म उसले समात्छ र अन्ततः त्यो त्यस गन्तव्यसम्म पुग्न सफल हुन्छ, जहाँ उसले आफूलाई फेरि पनि सृजनशील तुल्याउन सक्छ । पुनः स्थापित तुल्याउन सक्छ ।

हामीसँग पनि ती सम्पूर्ण अत्यावश्यक तागत छन्, ती तमाम शक्ति छन् । यिनको सही प्रयोग गरेर हामी पनि त्यस लक्षित विन्दुलाई, त्यस गन्तव्यलाई प्राप्त गर्न सक्छौँ । आफ्नो जिज्ञासा र आफ्नो साँचो उत्साहले हामीले आफूभित्र त्यो स्थानलाई प्राप्त गर्न सक्छौँ, खोज्न सक्छौँ । जहाँ सही अर्थमा, हामी आफैँ आफूसँग, आरामपूर्वक, शान्तिमय वातावरणका साथ त्यस आनन्दलाई अनुभूत गर्न सक्छौँ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्