पाँच वर्षमा १० अर्ब डलर वैदेशिक लगानी भित्र्याउने लक्ष्य



sf7df8f}F, @# ebf}M nufgL af]8{sf] jflif{sf]T;j sfo{qmd k|wfgdGqL z]/axfb’/ b]pjf /fhwfgLdf a’waf/ nufgL af]8{sf] !)cf}F jflif{sf]T;j ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6fÖ/f;;

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उपयुक्त वातावरण निर्माण गरी वैदेशिक लगानी भित्र्याउ सरकार तयार रहेको बताउनुभएको छ । लगानी बोर्डको १०औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो बताउनुभएको हो ।

बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले लिएका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेकाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सरकारी निकाय, निजी क्षेत्रलगायतको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने धारणा राख्दै राजनीतिक परिवर्तनपछि अब आर्थिक विकासमा मुलुक केन्द्रित भएको दाबी गर्नुभयो । ठूला र महत्वपूर्ण राष्ट्रिय परियोजना पनि सार्वजनिक, निजी साझेदारीमा अघि बढाउनुपर्नेमा जोड दिँदै सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास दिलाउनुभयो ।

‘दिगो विकास लक्ष्य हासिल गर्न कुल वार्षिक औसत ५ खर्ब ५८ अर्ब अपुग हुने देखिन्छ, कोरोनाका कारण विभिन्न देश आफैं लगानी भित्र्याउने प्रयास गरिरहेको अवस्थामा हामीले आकर्षित गर्न सजिलो छैन । तर, हामी आशावादी छौं,’ प्रधानमन्त्री देउवाले भन्नुभयो । नेपालले आर्थिक वृद्धिमा रहेको दूरी हटाएर अघि बढ्नुपर्ने भन्दै उहाँले मुलुकको विकासका लागि निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने र त्यसका लागि सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ महामारीका कारण लगानीको वातावरण बनाउन र त्यसको सही सदुपयोग गर्नु चुनौतीपूर्ण विषय रहेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन नीतिगतरुपमै अघि बढेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बन्दै गएको र त्यसका लागि आवश्यक वातावरण तयार पार्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले लगानी भित्र्याउने क्रममा आउने समस्या समाधानमा सहजीकरण हुने भन्दै ऐन नियम बनेका छन्, त्यसलाई व्यवहारमा सहजीकरण गर्नु जरुरी छ, त्यसतर्फ आफूहरुको ध्यान जाने उल्लेख गर्नुभयो । व्यापारघाटा अन्त्य गर्दै मुलुकमा समृद्धि हासिल गर्ने सन्दर्भमा आफ्नो पुँजी लगानीले धेरै ढिला हुने हुँदा वैदेशिक लगानी भित्र्याउनुपरेकाले त्यसमा निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिरहेको अर्थमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिनुभयो । मन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिनुभयो । आगामी तीन, पाँच र १० वर्षभित्र क्रमशः तीन, पाँच हुँदै १५ हजार मेगावाटसम्मको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियो । विद्युत् उत्पादनका लागि प्रसारण पूर्वाधार अहिलेको महत्वपूर्ण आवश्यकता रहेको उल्लेख गर्दै विदेशमा विद्युत् व्यापारका लागिसमेत विद्युत् प्रसारण लाइनको विकास र विस्तारको पहल भइरहेको उहाँले जानकारी दिनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढवा दिइरहेको जानकारी दिँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताउनुभयो ।

उहाँले सबैको सहभागिता र बोर्डको निर्देशन व्यवस्थापनमा थप सफलता हासिल गर्न सकिने प्रष्ट पार्दै लगानी बोर्ड एक्लैले केही गर्न नसक्ने बताउनुभयो ।निजी लगानीको परिचालनसँगै ठूला परियोजनामा निजी सार्वजनिक लगानीको दायरा बढाउनु जरुरी रहेको उहाँको भनाइ थियो । लगानी बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना बुधबार बोर्डले सार्वजनिक गरेको हो ।

उक्त योजनमा कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवद्र्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने उल्लेख छ । यस्तै रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ । परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने योजनामा छ ।

कार्यक्रममा विश्व बैंकको पूर्वाधार क्षेत्रका क्षेत्रीय निर्देशक गुञ्जे चेन, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, सार्वजनिक–निजी साझेदारीसम्बन्धी विश्व संस्थाका अध्यक्ष जिड अलेक्जेन्डर हेक, एजे भिएन लिमिडेड भारतका अध्यक्ष नन्दलाल शर्मा, होङ्सी सिमेन्टका प्रबन्ध निर्देशक लिउ सुगुङले नेपालमा गरेको लगानीको विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्