पार्टीलाई चलायमान बनाउन मेरो उम्मेदवारी : निधि



सत्तारूढ दल नेपाली कांग्रेसको चौधौं महाधिवेशनको रौनक देशभर छाएको छ ।  महाधिवेशनको मिति नजिकै गर्दा पार्टी सभापतिमा दाबी गर्नेहरुको संख्या पनि बढ्दै छ । लामो समयसम्म नेपाली कांग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आउनुभएका नेता विमलेन्द्र निधिले यसपटक पार्टीको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यसअघि पार्टी सभापति शेरबहादुर देउवा निकट रहेर काम गर्नुभएको थियो । अहिले पार्टीको उपसभापतिसमेत रहनुभएको छ ।  पछिल्लो समय पार्टी सभापति देउवासँग टाढिनुभएका निधिले सभापतिमा उठ्ने घोषणा गर्नुभएको छ । यसै सन्दर्भमा रहेर सभापतिका उम्मेदवार निधिसँग नेपाल समाचारपत्रका लागि भूपराज बस्यालले गर्नुभएको कुराकानीको सम्पादित अंश :

यहाँले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको छ ? सभापतिमा  दाबी गर्नुका आधारहरु के–के छन ?

आधार र उद्देश्य दुवैमा कुरा गर्नुपर्छ पहिलो आधार त नेपाली कांग्रेसको विभिन्न भातृ संघ–संस्थामा काम गर्दै अहिले उपसभापति भएकको छु । दोस्रो आधार भनेको नेपाली कांग्रेसको विधानले तोकेअनुसारको मापदण्ड पूरा गरेको छु । तेस्रो आधार भनेको पार्टीका गतिविधिमा निरन्तर लागेको छु । त्यसैले नेपाली कांग्रेस पार्टीप्रति जुन मेरो त्याग र समर्पण छ त्यही नै मेरो बलियो आधार हो । चौधौं महाधिवेशनमा म आफूलाई सभापतिको दाबी प्रस्तुत गर्दैगर्दा उद्देश्य के हो भने नेपाली कांग्रेसलाई जामबाट निकाल्ने, जामबाट किन निकाल्ने भने अहिले देशमा संघीय गणतन्त्रात्मक राज्यको जुन परिकल्पना हामीले गरेका थियौं त्यो आज पूरा भएको छ ।  त्यसका लागि हामीले संविधान बनायौं यी दुवैको स्वामित्व दुवैको संरक्षण र सम्वद्र्धन आज जरुरी छ । संघीय गणतन्त्रात्मक राज्य प्रणाली हामीले ल्याएका छौं ।

नेपालमा यस्तो ऐतिहासिक परिवर्तन भएको छ । पहिले यो गणतन्त्र थिएन गणतन्त्र आयो संघीयता थिएन संघीयता पनि आएको छ । समावेशिता थिएन समावेशिता आयो धर्म निरपेक्ष थिएन धर्म निरपेक्ष आयो मिश्रित निर्वाचन प्रणाली थिएन मिश्रित निर्वाचन प्रणाली आयो । विविधतायुक्त समाज भएको हाम्रो देश छ । हिमाल, पहाड, तराई मधेस झापादेखि कञ्चनपुरसम्मको जहाँ भौगोलिक विविधता, सामाजिक विविधता, भाषिक विविधता र लैंगिक विविधता छ । थरीथरीका विविधतालाई समेट्ने खालको प्रणाली हामीले निर्माण गरेका छौं । त्यहीअनुरूप संविधान निर्माण गरेका छौं । यसमाथि अहिले केही खतरा आइरहेको म बुझ्छु । त्यो खतरासँग जुध्न नेपाली कांग्रेसले मात्रै सक्छ । अरू पार्टीले सक्दैनन् । त्यस कारण नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट नेपाली कांग्रेसलाई वैचारिकरूपले प्रतिबद्ध र प्रस्ट हिसाबले जनतासामु प्रस्तुत गराउन चाहन्छु ।

नेपालका अन्य पाटी यो प्रणालीप्रति अथवा संविधानप्रति इमानदार छैनन् । उनीहरु यो प्रणालीप्रति विश्वास गर्दैनन् । जुन पार्टीले यो प्रणालीको विश्वास नै गर्दैन त्यो पार्टीको सफलता कसरी हुन्छ । नेपाली कांग्रेस यो प्रणाली र संविधानप्रति विश्वास गर्छ । नेपाली कांग्रेसको सभापतिको उम्मेदवारको हैसियतले मतदाता र जनतालाई  आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिह्नले बहुमत प्राप्त गर्न सकोस् । रुख चिह्नले बहुमत प्राप्त गर्न सकेन भने यो प्रणाली यो संविधानको सफल कार्यान्वयन गर्न सकिँदैन, अरू कुनै पार्टीले संरक्षण गर्न पनि सक्दैन । त्यसैले आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त गर्ने पार्टी बनाउनु नै मेरो उद्देश्य हो ।

तपाईंकै नेतृत्वमा पार्टीले बहुमत प्राप्त गर्न सक्छ भन्ने आधार चाहिँ के हो ?

मैले अघि पनि भनिसकें रुख चिह्नलाई जिताउनु छ । नम्बर एकमा नेपाली कांग्रेसमा अहिले करिब ९ लाख जति क्रियाशील सदस्य छन् । यो भनेको नेपाली कांग्रेसमा युवा जमातको ठूलो आकर्षण बढ्दै गएको छ । युवाहरु नेपाली कांग्रेसप्रति आकर्षक भएर क्रियाशील सदस्यता लिनुभएको हो । ती युवालाई नेपाली कांग्रेसका विभिन्न तह वडा, क्षेत्र केन्द्रतिर आउनुहोस् भन्ने हो । त्यसरी आउनका लागि निर्वाचन प्रणालीमा भाग लिन आग्रह गर्दछु । नेपाली कांग्रेसमा युवा पुस्ता आउँदा पार्टी ताजा भएर आउँछ । नेपाली जनताले पनि त्यही चाहेका छन् । पुस्ता हस्तान्तरण चाहेका छन् । म यो पुस्ता हस्तान्तरणको भूमिकालाई सहजकर्ताका रूपमा प्रस्तुत हुन चाहन्छु । त्यसैले पार्टीलाई नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्दछ भन्ने अडानमा म रहेको छु । मेरो सभापतिमा उठ्ने आधार पनि यही हो ।

अर्को कुरा पार्टीको आन्तरिक संगठन सुधारका लागि युवा जमातसँग सहकार्य गरेर सबैलाई समेट्ने गरी दलित, जनजाति, पीछडिएका वर्ग, आदिवासी, महिला, मधेसी, मुसलमान, अल्पसंख्यक, पीछडा वर्ग, अपांग, तेस्रोलिंगीलगायतलाई नेपाली कांग्रेस सबैको पार्टी हो भन्ने अभियान पनि मेरो मुख्य एजेन्डा हो । पार्टीभित्रबाट अवसरको खोजी गर्न उहाँहरु नीति निर्माणको तह आउने गरी आवश्यक परामर्श गरी आवश्यकताअनुसार सुधार गर्दै लैजाने मेरा लक्ष्य छ । अहिले महासमिति सदस्यबाट विधान संशोधन हुँदै आएको छ । यदि म पार्टी सभापति निर्वाचित भएँ भने छुट्टै विधान महाधिवेशन गरेर सबैलाई समेट्ने गरी पार्टीको विधान निर्माण गर्ने सोच बनाएको छु । म नेपाली कांग्रेसलाई युवाहरुको पाटी बनाउन चाहन्छु । म नेपाली कांग्रेसलाई नयाँ संविधान अनुकूलको पार्टी बनाउन चाहन्छु ।

नेपाली कांग्रेसको सभापतिका लागि अन्य नेतृत्वले पनि उम्मेदवारीको आकांक्षा राख्नुभएको छ । यो परिवर्तन तपाइँ सभापति हुँदा मात्रै हुने र अन्य हुँदा नहुने भन्ने  हो  ?

अहिलेसम्म यसरी पार्टी र सभापतिको उम्मेदवारको यस्तो प्रस्ट धारणा कसैले प्रस्तुत गरेको मैले सुनेको छैन । मैले पाटीलाई प्रस्ट ढंगले अगाडि लैजान सक्ने भिजन भएर न पार्टी सभापतिको दाबी गरेको छु । अरूले के एजेन्डा प्रस्तुत गर्नुहुन्छ अरूलाई नै सोध्नुस् । त्यसैले पार्टीलाई अगाडि लैजाने प्रस्ट खाका छ मसँग, त्यसैले सभापतिमा मेरो दाबेदारी हो ।

चुनाव नजिकिँदै जाँदा राम्रा एजेन्डाहरु प्रस्तुत भएको पाइन्छ तर चुनाव जितेपछि ती एजेन्डाहरु कार्यान्वयन भएको कमै मात्र पाइन्छ । तपाइँले प्रस्तुत गर्नुभएको एजेन्डा कार्यान्वयन हुन्छ भन्ने आधारचाहिँ के छ ? अथवा यी एजेन्डाप्रति आम जनता अथवा मतदातले विश्वास गर्ने आधारचाहिँ के हो ?

म अहिलेसम्म नेपाली कांग्रेसमा लागेर जुन समय देश र जनताको लागि खर्च गरेको छु त्यही नै मलाई विश्वास गर्ने आधार हो । साधारणतया एउटा उदाहरण हेर्नुस् न हामीले घर बनाउँदा टायल कसले राम्रो हाल्छ, रङ कसले राम्रो लगाउँछ अथवा घर कसले राम्रो बनाउँछ भनेर खोजी गर्छांै । उसलाई मन पाएर खोजी गरिएको हैन उसले विगतमा गरेका कामको आधारमा उसलाई खोजी गरिएको हो । त्यसैले मैले प्रस्तुत गरेका एजेन्डा कति कार्यान्वयन हुन्छन् भन्ने कुरा विगतका मेरा गतिविधिबाट प्रस्ट हुन्छ ।

चौधौं महाधिवेशनमा सर्वसम्मतमा नेतृत्व चयन हुने सम्भावना कतिको छ ?

मैले उम्मेदवारीको आकांक्षा गर्दैगर्दा आठ जना सभापतिका आकांक्षी हुनुहुन्थ्यो । अहिले त धेरै हुनुभएको छ । मैले उहाँहरु सबैसँग छलफल पनि गरेको छु र सर्वसम्मत नेतृत्व चयन भए आफू बाधक नहुने कुरा पनि व्यक्त गरेको छु । तेह्रौं महाधिवेशन हेर्ने हो भने सभापतिको उम्मेदवार तीन जना हुनुहुन्छ । उहाँहरु तीनैजना मिलेर निर्णय गरे पनि मेरो लागि स्वीकार्य छ भनेर भनेको छु । अहिले झन् धेरै सभापतिको आकांक्षी बढ्दै गउका छन् । सहमति भए हुन्छ नत्र लोकतन्त्रमा विश्वास गर्ने पार्टी सहमति सहमति भनेर बसेर पनि  हुँदैन । लोकतान्त्रिक प्रक्रियामा जाने जसले मन जित्छ उसैले नेतृत्व गर्ने हो ।

यसो भन्दै गर्दा अब सहमतिको बाटो बन्द भयो भनेर बुझ्न सकिन्छ ?

नेपाली कांग्रेसमा मात्रै नभए कुनै पनि पार्टीमा सहमति कमै रूपमा भएको देखेको छु । हुन त धेरै स्थानीय तहमा सहमति पनि भएको छ । केन्द्रीय तहमा होला कि नहोला यसै भन्न सकिँदैन तर कोशिस जारी राख्नुपर्छ ।

सभापतिको उम्मेदवारी घोषणा गर्दैगर्दा जुन युवा नेतृत्वको कुरा उठान गर्नुभयो, त्यहीअनुसार युवाको टिम तयार गर्नुभएको छ त ?

सभापतिको उम्मेदवार भएपछि टिम त हुने नै भयो । तर, अहिलेसम्म त्यस्तो टिम बनिसकेको छैन सबैसँग छलफल र परामर्श गर्दै छु । सबै वर्ग समुदायलाई समेट्दै धेरैभन्दा धेरै युवालाई कसरी सहभागी गराउन सकिन्छ भन्नेमा म लागिपरेको छु ।  मेरो चिन्ता भनेको नेपाली कांग्रेसको नेतृत्वमा युवा पंक्तिलाई धेरैभन्दा धेरै कसरी सहभागी गराउन सकिन्छ भन्ने हो । त्यसो भन्दैगर्दा पुराना नेतृत्वलाई अपमानित गर्नुपर्छ भन्ने होइन उहाँहरुको भूमिकालाई सम्मानित गर्दै अगाडि बढ्ने हो ।

एउटै व्यक्तिले धेरै पद ओगटेका कारण पार्टी चलायामान हुन सकेन भन्ने आरोप पनि बेला–बेलामा लागेको देखिन्छ । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

यो प्रवृत्ति नेपाली कांग्रेसमा मात्रै नभएर नेपालका प्रायः पार्टीमा देखिएको छ । राजनीति गर्नेहरुमा आकांक्षा बढ्दै जानु स्वाभाविक पनि हुन्छ । तर, यहाँले उठान गर्नुभएको पार्टी सभापतिपछि प्रधानमन्त्री बन्ने कुरामा मेरो भनाइ के भने मलाई अहिले प्रधानमन्त्री बन्न कुनै हतार छैन । पार्टी सभापतिकै उम्मेदवारीको कुरा गर्दा कतिले मेरो अन्तिमपटक हो मलाई सहयोग गर्नुस् पनि भन्नुभएको छ । धेरैका लागि अन्तिमपटक होला मेरो लागि पहिलोपटक हो । त्यसैले अन्तिमलाई भन्दा अब पहिलोलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।

प्रतिक्रिया दिनुहोस्