भक्तपुरमा डुबानको अवस्था सामान्य बन्दै



पुष्कर बुढाथोकी, भक्तपुर ।

दिउँसो बर्षा रोकिएको र डोजरको सहयोगमा पानीको निकास खोलिएकोले भक्तपुरमा बाढीको प्रभाव घटेको छ । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका थिए । मनोहरा खोलामा आएको बाढीले सुकुम्बासी क्षेत्रको बस्ती डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलमग्न भएकोमा अहिले खोलाको सतह घट्दा अवस्था सामान्य भएको छ ।

बस्तीका बासिन्दा बाढीको सतह घटेपछि घर सरसफाई गरी बस्न थालेका छन् । तर राती फेरि बर्षा र बाढी बढ्ने चिन्ताले बस्तीका बासिन्दा त्रसित बनेका छन् । बिहानै देखि उद्धारमा नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरी खटिएका थिए ।
यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढी आउँदा सूर्यविनायक ,राम मन्दिर, बाराहीस्थान आसपास परेको प्रभाव कम भएको छ ।

भक्तपुर नगरपालिकाका हनुमानघाट, राममन्दिर र बाराहीस्थान क्षेत्रमा डुबान भएको पनि सामान्य अबस्थामा फर्किएको छ ।
भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको प्रहरीले जनाएको छ । बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प हुनुका साथै अरनिको राजमार्गमा सवारी जामको लाम देखिएकोमा दिउसोदेखि राजमार्ग सुचारु भएको छ ।

वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचान गरिएकोमा अहिले भक्तपुर जिल्लाको अबस्था सामान्यतर्फ फर्किएको तर बर्षा र बाढीको जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्