ठूला पार्टी ‘डाइनोसर’ बन्दै



  • पेशल आचार्य

एकजना प्रसिद्ध राजनीतिज्ञले भनेको सुनेको ‘नेपालको राजनीति जहिल्यै वृत्तमा घुम्छ । त्यसैले दस÷बीस वर्षको अन्तरमा देश पहिलेकै ठाउँमा पुग्छ । यो नेपाली राजनीतिको महारोग हो । यसरी वृत्तमा घुम्दा देश अघि बढ्ने सम्भावना अत्यन्त कम हुन्छ । पात्र र उसको कार्यशैली केही फरक होला तर प्रवृत्ति उही पुरानै देखाइहाल्छ ।’

गएको सरकारका नेतृत्वकर्ता केपी ओलीलाई संसद्मा अंकगणितीय रूपमा नपुग्दो केही थिएन । एमाले र माओवादी केन्द्रलाई मिलाउँदाका बखत प्रचण्डसँग भएको भनिएको लिखित वा भद्र सहमतिमा अडिएर ‘सादा जीवन उच्च विचार’ लिई ओली सरकार प्रमुख भएर हिँडिदिएका मात्रै हुन्थे भने अहिले आफ्नो घर बालकोट बार्दलीमा बसेर आकाशतिर परेवाहरू उडेको हेर्दै कविता कथिरहनु पर्दैनथ्यो । आफूले विघटन गरेको संसद्को रोस्टममा उभिएर सरकार र विपक्षीलाई धारे हात लगाउँदै तथानाम गर्नु पर्दैनथ्यो ।

भन्नेले जे भनून् या ओली विपक्षमा गालीका पर्रा नै छुटाऊन् तर अहिले क्रियाशील सबै खाले राजनीतिज्ञहरूमा भाँती पुर्‍याएर बोल्न सक्ने, ह्युमोरियस स्टायल (हास्य चेत) भएका, मौखिक भाषणमा कुरो पुर्‍याएर विपक्षीलाई भित्तामै ठेल्न सक्ने, आफ्ना मुद्दाहरू मज्जाले राखी विपक्षका तर्कलाई हल्का ढङ्गले साबित गर्न सक्ने तागतका नेता गनिन्छन् । जनताको मुख थुन्न सकिन्न, कारण अजेय शक्ति हुन् ।

प्रचण्डलाई अझै स्थिरता नभएका नेतामा गणना गरिन्छ । उत्तरार्धमा लागेका झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम जीवनकै गोल सेट नहुने, देश तथा जनतालाई कति वर्षमा कहाँ पु¥याउने भिजन, मिसन र गोल नभएका नेतामा गनिन्छन् । गृहनिर्माण कलामा विद्यावारिधि गरेका डा. बाबुराम भट्टराईको राजनीतिक दर्शन चटपटे खालको छ । उनी हाल भएका नेतामा पढेका, बुझेका र तर्क गर्न सक्ने मानिन्छन् तर उनका तर्कहरू पानीपुरीमा हाल्ने अमिलो जति पनि अग्र्यानिक नभएर मिसावटी हुन्छन् । उनी सत्तामा हुँदा पत्नी र परिवारवादको घेरामा परेका निरीह प्रधानमन्त्री भन्दै टिप्पणी गरिएथ्यो । अहिले यो वा त्यो कोणबाट नातिको बखान गरेर अनेकन गनगने टिप्पणी र फोटाहरू सामाजिक सञ्जालमा हाल्छन् । देशलाई नयाँ केही भन्न नसकेबाट के बुझिन्छ भने, उनका दर्शनका दाउन अब क्रमशः तुरिँदै गएका भान हुन्छन् ।

त्यसै गरी एमालेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली र कांग्रेसका कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, रामशरण महत लेभलका नेतालाई पनि वैचारिक स्पष्टता र दह्रा अडान नभएकामा लिइँदो रहेछ । यिनीहरूले ओलीको सक्रियता भएको शासनका समयमा सत्ता पक्षमा वा विपक्षमा आफ्ना निजी खूबी देखाएनन् । मुख्यमन्त्री बनाइने लेभलका नेता भनिएका व्यक्तिहरूमा समेत एकातिर कार्यदक्षता देखिएन भने अर्कातिर पदीय लालसा नै अन्तिम सत्य हो भन्ने कुरा देखिए । ज्यान छाडेर माधव गुटमा लागेका अष्टलक्ष्मी शाक्य र भीम आचार्यजस्ता खारिएका र व्यावहारिक नेताहरू पनि पदका लागि कतिसम्म झर्न सक्छन् भन्ने देखाए । यो प्रवृत्ति वास्तवमा राजनीतिक ‘पपेट’ हो याने सोकेसमा सजाइने पुतली ।

बेट्री डाउन नहुन्जेलसम्म मात्र त्यसपछि पपेट निष्प्राण हुन्छ । अहिले यी दुवैलाई घाँटीमा चुलेँसी अड्किएजस्तो भैरहेछ । समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अहिले यिनीहरूलाई सार्वजनिक रूपमै हप्काइरहेकी छिन्– ‘शाक्य र आचार्य दुवैले निःसर्त एकीकृत समाजवादीलाई समर्थन गर्नुभयो भने उहाँहरू मुख्यमन्त्रीमा निरन्तर हो नत्र विकल्प खोजिनेछ ।’ झाँक्रीभन्दा धेरै सिनियर हुन् शाक्य र आचार्य तर अहिले संख्यामा झाँक्रीको पल्ला भारी छ । उनले माधव नेपाललाई समाएर तानेको फोटोले देखाउँछ कि राजनीति सोझो बाटोमा हिँड्दैन ।

वामदेवलाई धेरैले याँत्याँ भन्छन्, फुक्र्याउँछन् तर गौतमजस्तो पिँध नभएको लोटा प्रवृत्तिका नेता अहिले एमालेमा छैनन् । उनले ओलीका साथ छोडिसके । मुखमुखमा आएको भनिएको प्रधानमन्त्री पदको सपना अब ओलीबाट कहिल्यै पूरा हुने नदेखेपछि माधव पक्षमा लेपसिए । केही हप्ताअघि जापान ओलम्पिकमा जुडो खेलमा अफिसियल टिममा गौतम पत्नी तुलसा गौतम कर्मचारी भएर जापान गएको कुरा समाचारमा भाइरल भयो । अलि पछि उनी माधव समूहबाट मन्त्री बन्ने लिस्टमा छिन् भनेर लोग्ने–स्वास्नीको फोटै फेसबुकमा सार्वजनिक भएको थियो । यी सब फन्डा हेर्दा वर्तमानमा मात्र रमाउने प्रवृत्तिका नेताका सुदूर भविष्यको यात्रा कस्तो होला, त्यो कसैले कल्पना गर्न सक्दैन ।

त्यो भन्दा तलको पुस्तामा आउँछन् घनश्याम भुसाल, योगेश भट्टराई, भीम रावल र गोकर्ण विष्टहरू । यिनीहरूले जनतालाई कर्मकाण्डी राजनीतिका केही संकथनहरू र सामान्य उपस्थितिभन्दा बढी दिन सकेनन् । सत्तामा रहेका बेला मन्त्रीमा फटाफट नियुक्ति हुने भानुभक्त ढकाललाई सार्वजनिक लेखा समितिले १ अर्ब २५ करोड बराबर स्वास्थ्य सामग्री खरिदमा ओम्नीमार्फत घोटाला गरेको देखायो । यी तिनै मन्त्री हुन् जो कानुनबाट स्वास्थ्य हुँदै पर्यटन मन्त्रीमा सरुवा गरिए तर हटेनन् । ढकाललाई मोहरा बनाएर अरूले नै तर मारेको आशंका गरिन्छ स्वास्थ्य सामग्री खरिदमा ।

गतवर्ष नेपालको शासन सञ्चालनको शैली हेर्दा जो–कोहीले कोरोनालाई बहाना बनाएर ओलीले अध्यादेशतन्त्रबाट देश हाँक्न चाहेका भन्थे । हिजो आफूले अरूको पार्टी फुटाउन गरेको हर्कत आज देउवाले नबोलीकन एमाले फुटाउनै प्रयोग गरेर देखाए । यद्यपि एमसीसीजस्तो देशघाती सम्झौतामा देउवा र ओलीको भित्री अन्तर्यदेखि सबै बोली मिल्छ । हो, जुन विन्दुमा उनीहरूका कुरा मिल्छन् यहीँबाटै नेपालको राजनीतिलाई विश्लेषण गर्नुपर्छ कि यिनीहरूका सारमा कुरा मिल्नुले दुवैको निर्देशक एउटै हो र छ ।

पूर्वमाओवादी हाल एमाले भएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र मणि थापाजस्ता दोस्रो पुस्ताका नेता भनिएकाले पनि पदलाई नै सर्वोपरि ठानेर माओवादीलाई ऐनमौकामा लात मारी जुन तरिकाले एमाले भए त्यसले नेपालमा जो जतिखेर पनि पार्टी मात्र होइन दल अदलबदल गर्न सक्छन् भन्ने देखायो । यो प्रवृत्ति ‘आयाराम गयाराम’ हो ।

अब युवापुस्ताले सार्वजनिकरूपमा नेपाली राजनीतिमा हस्तक्षेप नगर्ने हो भने यी अहिलेसम्म सबै ठालु पार्टीमा रहेर पद ओगटिरहेका बूढाले देशको भलो हुने र नयाँ चिजबाट देशमा पुनर्जागरण ल्याउने काम केही गर्दैनन् । विदेशी रिन खानका लागि जो जहिले पनि मरिहत्ते गर्ने प्रवृत्तिले देशलाई आफ्नो खुट्टामा नउभ्याउने कुरा निश्चित छ । केही पहिले एमालेका लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा डीभी र पीआर लिएका उच्च पदस्थ कर्मचारी र बेतलबी बिदा लिएर युरोप, अमेरिकातिर भासिएका कर्मचारीबारे वास्तविक निर्णय गरे । तिनलाई निर्णयमा कर्मचारीहरूबाटै घुमाइफिराई असहयोग गरियो ।

नयाँ र फरक काम गरी जनताको मन जित्छु र पार्टीको गिर्दो साख जोगाउँछु भन्नेहरू एकादुई मात्रामा कुनै न कुनै पार्टीबाट फुत्तफुत्त नआउने होइनन् तर तिनलाई माउ भनिएका पार्टीबाटै जुन हिसाबले एक्ल्याउने गरिन्छ त्योचाहिँ दुःखद हुन्छ । अहिले नयाँ भनिएका पार्टीका आपसमा नेता–नेताका कुरा बाझ्ने, दम्भका कुराहरू बाहिर आउने र मै हुँ भन्ने प्रवृत्तिले गाँजेका देखिए । केही हप्ताअघि मात्र रवीन्द्र मिश्र संयोजक रहेका विवेकशील साझाको घरझगडा जुन हिसाबमा बाहिर आयो त्यसले सुखद सन्देश जनतामा गएन ।

रवीन्द्र मिश्रको अन्तर्य ढिलो–चाँडो बाहिर आउने नै थियो । त्यो आयो, उनको गल्ती छैन, बरा–विचरा ! उनी राजावादी बाउकै छोरा हुन् । बाउ–बराजुको रगत, जीन र शीलस्वभाव आफ्ना सन्तानमा सर्लक्क आउनु अनौठो होइन । जीव वैज्ञानिक चाल्र्स डार्बिनले त्यो कुरा आफ्ना वैज्ञानिक सूत्रमा भनेका छन् । मिश्रले नयाँ पुस्ताको सोचमा जुन घात गरे त्यसबाट फेरि कुनै न कुनै हिसाबले कांग्रेस, एमाले, माओवादी, समाजवादी र जसपाकै भोटर बढ्ने हुन् । करिब एक दशक लगाएर बनाएको संगठन पार्टीका होनहार नेता उज्ज्वल थापाको असामयिक देहावसानपछि धराशयी देखियो । यसले नेपालमा नयाँ पार्टीहरू आउन, टिक्न र सत्तामा जान समय लाग्ने देखायो । नयाँ पुस्ताले रवीन्द्र र मिलन पाण्डेहरूबाट धेरै आशा राखेका थिए जसमा तुषारापात भएको छ ।

राजतन्त्र, हिन्दू राष्ट्र, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलाई जनताले चाहे भने बिस्तारै संविधान संशोधन गरी थप्न सकिन्छ । यस्ता कुरामा राष्ट्रिय सहमति गरेर सबैको एकमत पारी जनमत सङ्ग्रहमा जान सकिन्छ तर जुन हिसाबले बेला न कुबेला मिश्रले राजनीतिको पानी छाम्ने गरी बोले त्योचाहिँ उनीजस्ता पढालेखा र हाइट भएका नेतासँग कम्तीमा युवापुस्ताले आश गरेका थिएनन् । नेपालमा नेताहरूले जुनसुकै कुरा बोल्ने बेलामा पनि के, कति, किन र कहाँ बोल्ने भनेर होमवर्क नगर्दा दुःख पाइने रहेछ भनेर बुझ्दा भयो । कहिलेकाहीँ बाबुरामका अभिव्यक्तिहरू सुनेर र पढेर जनतामा दिक्दारीको भाव बढेको पाइन्छ ।

तर्क भएका केही पार्टीहरूसमेत सत्तामा जाने÷आउने क्रममा फितला भएका देखिए । कहिले ओली र कहिले देउवाका पुच्छर बनेर सत्तामा गएका महन्थ ठाकुर र राजेन्द्र महतोको राजनीतिलाई पनि जनताले राम्रै गरी ठम्याइसके । बुद्धि पु¥याएका भए महन्थ ठाकुर राजनीतिक अंकगणितका हिसाबले देउवा प्रधानमन्त्री हुने बेलामा झन्डै प्रधानमन्त्री भैसकेका थिए । तर उनले समयको पदचाप र आफ्नो नायकत्व चिन्न सकेनन् । हुन त उनी प्रधानमन्त्री हुँदा भारतलाई नेपाली राजनीतिमा खेल्न झन् सजिलो हुन्थ्यो । समय नचिनेर भएनन्, एक हिसाबले ठिक्कै गरे पनि ।

राजनीतिका कहिरन र किस्सा लेखेर कहिल्यै सकिँदैन । अहिले एमसीसीका लागि कांग्रेसभित्र नानीदेखिको बल लगाएर देउवाहरू लागिरहेका छन् भने ओलीको समेत भरमार समर्थन छ । संसद्बाट यो पास हुनासाथ नेपाली राजनीतिले नयाँ करेक्सन नलेला भन्न सकिँदैन । यतिखेर कम्फर्टहरूको गठबन्धनले करिब–करिब ४५ दिन पुग्दासमेत मन्त्रिमण्डल पूरा गर्न सकेन । यो नयाँ सरकारका लागि लाजमर्दो विषय हो ।

जाँदाजाँदै के भन्न सकिन्छ भने, यहाँ दार्शनिक लेभलका राजनीतिज्ञ या राजनेताहरू जन्मिनै सकेनन् । यहाँ जसको पउल सम्भावना देखियो तिनीहरूलाई समेत सबै ठालु पार्टीका माउ नेताहरूले ह्याकुलाले मिचेर उठ्नै नदिने भए । यस्तो अवस्थामा अब हरेक पार्टीबाट नयाँ पुस्ताले विद्रोह गर्नुको विकल्प छैन । किनकि ठालु पार्टीहरू क्रमशः चाँडै ‘डाइनोसर बन्दै छन्’ यहाँ । यो समयले बिस्तारै देखाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्