तीज गीत त्यहीरूपमा गाइदिए हुन्थ्यो : मञ्जु पौडेल



करिब डेढ दशकदेखि नेपाली लोकगीत गायनमा सक्रिय छिन् गायिका मञ्जु पौडेल। गुल्मीमा जन्मेकी मञ्जु रेडियो कार्यक्रम सञ्चालिका हुँदै गीत गायनमा आकर्षित भइन्। रेडियो र टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै हिट गायिकासम्मको यात्रामा उनले दर्शकमाझ लोभलाग्दो ख्याति कमाएकी छिन् भने उस्तै कुशल कार्यक्रम प्रस्तोताको पहिचान बनाएकी छिन्। मेला–महोत्सव तथा देश–विदेशका विभिन्न कार्यक्रमका लागि डिमान्डेड गायिकाका साथै कार्यक्रम सञ्चालनमा समेत जम्दै आएकी रूपवती मञ्जुले तिमी लाइटर म भाको चुरोट, यो ज्यानलाई के भा छ, झिलिमिली झ्याइ, नाच्छु घुमेर, तल तल लाग्यो मलाई, छम्म छम्मजस्ता थुप्रै हिट गीतका साथ करिब चार दर्जन गीत दर्शक स्रोतामाझ ल्याइसकेकी छिन्। गीतसंगीत क्षेत्रमा विभिन्न अवार्ड चुम्दै आएकी उनै मञ्जुका साथ गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

  • रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ?

कोभिड जोखिमका कारण कामहरू रोकिएकाले सामान्य हिसाबले नै दिन बितिरहेको छ। पछिल्लो समय संगीत क्षेत्रमा केही कार्यक्रम हुन थालेका छन्। आगामी दिनमा सहभागी हुनुपर्ने केही कार्यक्रम छन्। अबचाहिँ संगीत क्षेत्र विस्तारै चलायमान हुन्छ कि भन्ने लागेको छ।

तीज नजिकि’दै छ, के छ तयारी ?

प्रत्येक वर्ष तीज पर्वको अवसरमा तीज गीत ल्याउने गरेकी थिएँ। लामो समयपछि यसपालिचाहिँ तीज गीत ब्रेक भएको छ। दर्शक स्रोताले तपाईंको तीज गीत कहिले आउँछ भन्ने प्रश्न गरिरहनुभएको छ।

तर, यसपालि ममीको स्वास्थ्यमा समस्या आएकाले उहाँको उपचारमा लागियो र गीतमा ध्यान गएन। फेरि अहिलेको माहोल पनि त्यस्तै छ। लगानी गरेर मात्र के गर्ने भन्ने पनि लागेकोले यसपाली तीज गीत गाइन।

तीजको व्रत पनि लिनुहुन्छ कि ?

सानो बेलामा अरूले तीजको व्रत लिएको देखेर एक दुई–पटक रहरले लिएको मात्र हो। त्यसपछि तीजको व्रत लिने गरेको छैन। व्रत लिएर मात्र चाहेको कुरा पूरा हुन्छ भन्ने मलाई लाग्दैन।

व्रत लिनेहरूलाई नलिनु पनि भन्दिन। व्रत लिनु आ–आफ्नो इच्छाको कुरा हो े। लिए पनि ठीकै छ, नलिँदा पनि फरक पर्दैन भन्ने लाग्छ। मैलेचाहिँ लिएको छैन।

तीज महिलाहरूको चाड, तर केही वर्षयता तीज गीत पुरुष गायकले पनि गाइरहेका छन् नि ?

तीजलाई केन्द्रित गरेर पुरुषले तीज गीत गाउनु नराम्रो कुरा होइन। हरितालिका तीज नारीहरूको चाड भन्ने स्लोगन नै छ। नारीको तीजमा पुरुषले पनि साथ दिएर गीत गाउनु भनेको राम्रो कुरा नै हो। तर, तीज गीत भनेपछि तीज गीतकै रूपमा गाइदि’दा हुन्थ्यो भन्ने लाग्छ। तीज गीतको नाममा जे पाए त्यही गाउँदाचाहिँ नराम्रो लाग्छ।

सधैं तीजमा विदेशका कार्यक्रममा व्यस्त हुने तपाईं यसपालि नेपालमै पर्नुभयो है ?

दुई वर्ष भइसक्यो प्यानिक सिचुएसनका कारण प्रोगाममा पहिले जसरी सहभागी हुन नपाएको। तीजमा मात्र होइन, अन्य चाडबाड र समय पनि कार्यक्रम भएका छैनन्। हुन त हामी कलाकारलाई देशमा भए पनि विदेशमा भए पनि खासै फरक महसुस भने हुँदैन। किनभने विदेशमा पनि नेपालीमाझ नै कार्यक्रम प्रस्तुत गरिने हो।

नेपालमा हुँदा आफ्नो परिवारका साथ भइन्छ भन्ने मात्र हो। त्यसमा पनि कार्यक्रममा व्यस्त भइन्छ। कोभिडका कारण कार्यक्रम नभएर घरपरिवारका साथ चाडबाड मनाउन पाइन्छ भने सकारात्मक कुरा हो। तर, व्यावसायिकताको हिसाबले खालि रहनुभन्दा देश–विदेशका कार्यक्रममा व्यस्त हुनु राम्रो हो। कार्यक्रमहरू नहुँदा इकोनमिक पक्षलाई असर गरिरहेको हुन्छ।

कोभिडका कारण देश विदेशका कार्यक्रम नहुँदा संगीत क्षेत्रबाट त अवश्य कमाइ हुन सकेन, कमाइको वैकल्पिक माध्यम पनि छन् कि ?

त्यस्तो केही छैन। अहिले कमाइको हिसाबले असहज स्थिति छ। कमाइ हुने भनेको युट्युबबाट हो। त्यसमा पनि मैले युट्युबमा सामान्य हिसाबले आफ्नो केही गीत मात्र राखेकी छु।

अन्य खालका कन्टेन्ट राखेकी छैन। सब्स्क्राइबर पनि धेरै नभएका कारण त्यसबाट खासै आम्दानी छैन। अहिले कमाइको हिसाबले असहज स्थिति नै छ। तर, परिस्थितिका कारण असहजतालाई पनि सहज बनाउने कोशिस गर्दै चलिरहेका छौँ।

कोभिडको कारण देश विदेशका कार्यक्रम कतिको मिस गरिरहनुभएको छ ?

कार्यक्रममा राम्रोसँग सहभागी नभएको लामो समय भइसकेको छ। नर्मल समय भएको भए यतिबेला तीजका कार्यक्रम, मेला महोत्सवमा व्यस्त भइन्थ्यो।

स्टेजमा पर्फमेन्स नगरेको र कार्यक्रम सञ्चालन नगरेको लामो समय भएकोले एकदमै मिस भइरहेको छ। माहोल सहज भएर कार्यक्रममा सहभागी हुने दिनको पखाईमा छु।

गायिकासँगै कार्यक्रम प्रस्तोतासमेत हुनुहुन्छ। दुई काममा सजिलो र खुसी केमा मिल्छ ?

सजिलोको हिसाबमा त गीत गायन नै सजिलो हो। गीतलँई रेकर्डिङको समयमा बाहेक अन्य बेला धेरै मेहनत गर्नु पर्दैन। गाइरहेकै गीत नै स्टेजमा प्रस्तुत गर्ने भएकाले पनि सजिलो हुन्छ।

कार्यक्रम उद्घोषण गर्नचाहिँ अलि गाह्र्रो हुन्छ र गीत गायनमा भन्दा यसमा म इन्जोय गर्छु। कार्यक्रम प्रस्तुत गर्नका लागि राम्रो तयारी गर्नुपर्छ। साथै, नयाँ कुराको रिसर्च गरिरहनुपर्ने भएकोले धेरै कुरा सिक्न पाइन्छ र सिर्जनशील पनि भइन्छ।

गायिका तथा कार्यक्रम प्रस्तोता दुवै हुनुका फाइदा वा घाटा केही छन् कि ?

घाटा त केही छैन, फाइदै फाइदा छ। स्टेज पर्फमर र प्रोगाममा होस्ट दुवै भएकाले पपुलारिटीको हिसाबले पनि प्लस प्वाइन्ट भएको छ। साथै, आयोजकले पनि एउटै कलाकारले दुई काम गर्दा सजिलो हुन्छ भन्ने हिसाबले सोच्ने भएकाले मेरो दुवै कामले एक अर्कालाई सहयोग गरिरहेको छ।

गीत संगीतमा मात्र निर्भर हुन कतिको सजिलो छ ?

अहिलेको अवस्थामा त सजिलो छ। म पनि गीत संगीतमै निर्भर रहँदै आएकी छु। धेरै एम्बिसियस नहुने हो भने गीत गायनबाटै मज्जाले सर्भाइभ हुन सकिन्छ।

अहिलेको परिस्थितिमा केही असहज हुनु फरक कुरा हो। तर, समय सहज भएको अवस्थामा पहिला पहिलाभन्दा नेपालमै पनि धेरै कार्यक्रम हुन थालेका छन् भने राम्रा कलाकारले विदेशमा पनि डिमान्ड हुन्छ। मैले पनि गीत संगीतकै माध्यमबाट धेरै मुलुकको भ्रमण गरेकी छु।

कोभिड जोखिमका कारण बन्द रहेका कार्यक्रम पुनः सुचारु गर्न के–कस्ता उपाय अउनाउन सकिएला?

सबैभन्दा ठूलो कुरा त स्वास्थ्य नै हो। त्यस कारण स्वास्थ्यलाई ठीक हुँदैन भने कार्यक्रम गर्न हतार गर्नु हुँदैन। यतिका समय पर्खिएका छौँ, अझै राम्रो माहोल होला भन्ने सोचले पर्खिरहेका छौँ। माहोल सामान्य भयो भने गीत संगीतले पहिलेको भन्दा राम्रो मोड लिनेछ।

खोप लगाएकाको बीचमा कार्यक्रम गर्न दिइनुपर्छ भन्ने कुरा पनि आउन थालेका छन् नि ?

भ्याक्सिन नभई नहुने कुरा हो। विकसित मुलुकमा भ्याक्सिन लगाएर सामान्य अवस्थामा फर्किइरहेको अवस्थामा नेपालमा पनि भ्याक्सिनेटेड मानिसको संख्या बढ्दै गएको छ। यसकारण खोप लगाएका मानिसबीच कार्यक्रम गर्दा जोखिम छ जस्तो लाग्दैन।

गीत संगीत मात्र होइन, हरेक क्षेत्रको अवस्था उस्तै छ। यस्तो अवस्था सधैँ भइरहँदैन, विस्तारै माहोल सहज हुँदै जाँदा र खोप लगाउने मानिसको संख्या बढ्दै जाँदा जोखिम कम हुने भएकाले स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गर्नु ठीक हुन्छ भन्ने लाग्छ।

प्रतिक्रिया दिनुहोस्