बलिउड अभिनेता सिद्धार्थ रहेनन्



बलिउड कलाकार तथा चर्चित रियालिटी शो बिग बोस सिजन—१३ का विजेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ।

आजतकको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार बुधबार बेलुकी स्वास्थ्यमा समस्या देखिएपछि केही औषधि सेवन गरेर सुतेका उनले बिहीबार बिहान करिब तीन बजे आमालाई बोलाएर आफ्नो छातीमा दुखेको महसुस भएको र शरीरमा बेचैनी भएको बताएपछि उनकी आमाले उनलाई पानी पिलाएर सुताएकी थिइन्। तर, बिहान अबेरसम्म सिद्धार्थ नउठेपछि उनको कोठामा परिवारका सदस्य पुग्दा उनी अचेत अवस्थामा फेला परेका थिए। तत्कालै मुम्बईस्थित कपर अस्पतालमा लगिए पनि अस्पतालले उनको हृदयघातबाट मृत्यु भइसकेको घोषणा गरेका थियो। सिद्धार्थले बुधबार बेलुकी कस्तो खालको औषधि सेवन गरेका थिए भन्ने खुलेको छैन। सिद्धार्थको परिवारमा माता पिता तथा दुई दिदीबहिनी छन्। सिद्धार्थको अल्पायुमै भएको निधनपछि बलिउड शोकमा डुबेको छ भने कलाकारहरूले उनको निधनप्रति दुःख व्यक्त गरिरहेका छन्।

सन् २००८ ताका निकै चर्चित टेलिसिरियल बालिका वधुमार्फत लोकप्रियता कमाएका सिद्धार्थले बाबुलका आगन छुटे ना नामक टेलिभिजन कार्यक्रमबाट अभिनय करिअर शुरू गरेका थिए। त्यसपछि जाने पहचाने से अजनबी, सीआईडी, बालिका वधु, लभ यु जिन्दगीजस्ता सिरियल तथा केही रियालिटी शोमा पनि देखिएका थिए। साथै, शम्टी हर्माकी दुल्हनिया नामक फिल्ममा पनि काम गरेका थिए। उनी चर्चित रियालिटी शो खतरों के खिलाडीको सातौं सिजनको विजेतासमेत थिए।

प्रतिक्रिया दिनुहोस्