नेकपा एमाले : मौरीको घारमा झिँगाको रजाइँ



  • मनिषा कार्की

प्रगतिशील धारमा जन्माएको नेकपा एकीकृत समाजवादी पार्टीले नयाँ दलको मान्यता पाएसँगै नेकपा एमाले ‘मौरीविनाको घार’ भएको छ भने झिँगाहरुको रजाइँको थलो बनेको छ ।

नेकपा एमालेका धरोहरहरु नै एमाले शुद्धीकरण अभियानमा लागेर प्रगतिशील धारमा रूपान्तरित हुँदै नेकपा एकीकृत समाजवादी पार्टी बनाउने अभियानमा लागेपछि अहिले सर्वत्र चर्चाको विषय बनेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले नयाँ दलको मान्यता पाएसँगै समाजवादी पार्टी किन, कसको र केको निम्ति भन्नेजस्ता दर्जनौं प्रश्नहरु जन्मिएका छन् । हरेक गल्लीका चिया पसलदेखि देशका महत्वपूर्ण केन्द्रमा समेत यसको आगामी रणनीतिक लक्ष्य र कार्यदिशा कस्तो रहने भन्ने बहस भैरहेको छ ।

दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेको ओली समूहबाट प्रगतिशील विचार र लक्ष्यसहित विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिस्ट घटकहरुलाई एक बनाउने अभियानमा लाग्छ वा बृहत् वैकल्पिक शक्तिशाली पार्टी निर्माण गर्ने अभियानमा लाग्छ भन्ने आम चासो र चिन्ताको विषय बनेको बेलामा मूलधारको पार्टीबाट विभाजन हुँदा आगामी दिनमा नेकपा एकीकृत समाजवादी पार्टीले कस्तो असहजता झेल्नुपर्ला वा कसरी युवाहरूको अवसर र सहजताको केन्द्र बन्ला भन्ने प्रतीक्षाको विषय बनेको छ ।

वैज्ञानिक समाजवाद, राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने अभियानमा लागेको नेकपा एकीकृत समाजवादी पार्टीको हरेक पार्टी कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्षमुनिका युवालाई राखिने विधानमा प्रस्ताव आमयुवाहरुको निम्ति युगान्तकारी सफलता हो ।

नेकपा एमालेभित्रै दर्जनौंपटक पुस्ता हस्तान्तरण र पुस्तान्तरणको विषय चर्कोरुपमा उठ्दै आए पनि उनै पुरानो अनुहार बारम्बार दोहोर्‍याएर युवाहरूको ऊर्जा निस्तेज गर्ने काम निरन्तर चलिरहेको बेलामा प्रगतिशील धारहरुले पार्टी नै विभाजन गरेर युवाहरूको पार्टी बनाउने अभियानमा लाग्दा युवाहरूमा अवसर र चुनौती दुवै उत्तिकै छन् र यसको निम्ति हामी युवाहरू तयार छांै भन्ने हाम्रो सन्देश पनि हो ।

नेकपा एमालेको नवौँ महाधिवेशनबाट नीति माधव नेपाल समूहको तर नेतृत्वमा निर्वाचित केपी ओली भएकै कारण पार्टी विभाजित अवस्था सिर्जना भएको सत्य हो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दुईवटा महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने, तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्ति चयन गर्ने काम वा ओली प्रवृत्तिले नेपाली कम्युनिस्ट आन्दोलनको एकतामा गम्भीर क्षति पु¥याएको स्वीकार गर्नुपर्छ ।

पार्टीभित्र जबर्जस्ती माधव नेपालले गणतन्त्रात्मक नीति पारित गर्दै गर्दा नेतृत्वमा गणतन्त्रात्मक नीतिका विरोधी ओलीलगायत टिमको विजयले नेकपा एमाले सुदृढ एमाले हुन सकेन । फलस्वरूप जसले महाधिवेशनबाट पारित नीति कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी दिशामा अघि बढायो र अन्ततः पार्टी विभाजित गर्न बाध्य हुन पर्‍यो ।

महाधिवेशनका निर्णय पालना नगरी आफूखुशी चल्ने कुराले गम्भीर मतभेद उत्पन्न गर्‍यो, जसको उपज तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीच एकता गरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधिअनुसार नचलेर स्वेच्छाचारी बन्दै, पार्टीमा गम्भीर मतभेद र विवाद सिर्जना गरे । परिणामस्वरुप ०७७ पुस ५ मा असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन सिफारिस गर्दा नेकपा राजनीतिकरूपले दुई भागमा विभाजित हुन पुग्यो ।

पार्टीको नीति, सिद्धान्त विपरीत गएर दक्षिणपन्थी अवसरवादी भासमा भासिएको ओली कम्युनिस्ट आन्दोलन एकताका विरोधीको रुपमा बारम्बार पुष्टि गर्दै आए । आफ्नो पार्टीका प्रगतिशील धारलाई निषेध गर्दै गणतन्त्र विरोधी, राजावादी कमल थापासँग घाँटी जोड्दै, विभिन्न खालका दक्षिणपन्थी तत्वहरूसँग गठबन्धन बनाउँदै, दक्षिणपन्थी कित्तामा उभिएर क्रान्तिकारी धारमा निरन्तर राजनीतिक हमला जारी राखे ।

पार्टीलाई निजी कम्पनीको रुपमा विकास गर्दै पार्टीलाई निजीकरण गरी प्रगतिशील धारलाई एमाले पार्टीभित्र श्वास फेर्न अवसरसमेत नदिँदा नेकपा एमालेको प्रगतिशील जगमा नेकपा एकीकृत समाजवादी जन्मिएको छ ।

नेकपा एकीकृत समाजवादी किन, कसको र केको निम्ति ? भन्ने कुरालाई विचार गरौं । हाम्रो यो समाजवादी क्रान्तिलाई कुनै एउटा निश्चित फाँटमा लडिने वा कुनै एउटा मोर्चामा लडिने एउटा लडाइँको रूपमा मात्र लिनुहुँदैन । क्रान्ति चौतर्फी वर्गसंघर्ष, सम्पूर्ण सामाजिक विसंगति, सम्पूर्ण राजनीतिक–आर्थिक अवस्थाविरुद्ध, नयाँ आर्थिक–सामाजिक सम्बन्ध स्थापित गर्न लडिएको संघर्ष हो ।

समाजवादी क्रान्ति, सारभूतरूपमा नै विगतमा मानव समाजमा भएका यावत् क्रान्तिकारी परिवर्तनहरूभन्दा भित्री चरित्रको सामाजिक क्रान्ति हो । यसको लक्ष्य शोषणयुक्त पूँजीवादी सामाजिक–आर्थिक संरचनाको पूर्ण निषेध गर्दै वर्गीय शोषणविहीन समाजवादी आर्थिक–सामाजिक संरचनामा समाजलाई संक्रमण गराउनु हो ।

समाजवादी क्रान्ति वर्गीय विभाजन र वर्गीय शोषणको आधार नै समाप्त गरी समाजलाई वर्ग र वर्गीय शोषणविहीन नयाँ अवस्थामा संक्रमण गराउने क्रान्ति हो र यो अभियानमा हामी छौं । र, यो अभियानमा सम्पूर्ण न्यायप्रेमी समुदायलाई लामबद्ध हुन अपिल गर्दछौं ।
एकीकृत समाजवादी पार्टीभित्र राजनीतिक मुद्दाहरूको पछाडि संकट र सम्भावना उदयमान देखिन्छन् तर पनि राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर एउटा निकासको बाटो देख्न सक्छौं । जनस्तरबाट राजनीतिक मुद्दाहरूको समग्र परिवर्तनको लागि नेपाली जनताको उल्लेखनीय सहभागिता र बलिदान त्यत्तिकै रहेको छ । दुर्भाग्य, राजनीतिक नेतृत्वले जनताको भावना विपरीत शासन व्यवस्थाको सञ्चालन गर्नुले समय–समयमा जनतामा कुण्ठा, निरासा उत्पन्न हुनु स्वाभाविक हो ।

राष्ट्रियताको मुद्दामा सामाजिक सामन्तहरुको सहभागी हुन्छ तर उनीहरुको जनतन्त्रको मुद्दामा विमति रहन्छ । फेरि सत्ता र सरकार उनै पुराना सामन्तीहरुको घेराबन्दीमा पर्छ । जुन कुरा हिजोको नेकपा एमाले वा नेकपा स्वयंले भोगेको दुर्गति हो ।

त्यसैले नेकपा एकीकृत समाजवादी पार्टी व्यापक टुटफुट, ध्रुवीकरण, संघर्ष, सुदृढीकरण र एकताबाट निर्माण भएको छ । यसकारण पनि नेकपा समाजवादी पार्टी हिजोको दिनको शिक्षा लिँदै, पुरानो गल्तीहरु नदोहो¥याएर एमालेको प्रगतिशील एवं क्रान्तिकारी धारमा जन्मिएको छ । यो धारमा समाहित हुन सम्पूर्ण वामपन्थी अग्रगमनकारी धार अर्थात् प्रगतिशील विचारहरु एकजुट हुन आवश्यक छ ।

(लेखक कार्की नेकपा एकीकृत समाजवादी पार्टी निकट केन्द्रीय विद्यार्थी नेतृ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्