दोस्रो पुस्ताका भरोसायोग्य नेता को ?



  • केशव अधिकारी

नेपालका वामपन्थी धारका हुन् कि प्रजातान्त्रिक धारका हुन्, कुनै पनि राजनीतिक दलमा प्रभावशाली नेता जन्मन सकेनन् । नेपाली कांङ्ग्रेसका विश्वेश्वरप्रसाद कोइरालालाई उनका कार्यकर्ताले राजनेताको पदवी भिराएर सफल राजनेता भनाए पनि उनी राजनीतिको क्षेत्रमा थोरै हदसम्म मात्र सफल बनेका पक्कै हुन् । तर पूरै राजनीतिलाई एउटा सही बाटोमा हिँडाउन र व्यवस्थापन गर्न असफल नै रहे । यदि उनका कार्यकर्ताले भनेजस्तै उनी एउटा सफल राजनेता नै भएका भए त २००७ सालमा राणा शासनको अन्त्य भएर हासिल भयो भनिएको प्रजातन्त्र एक दशक पनि बित्न नपाउँदै २०१७ सालमा आएर प्रतिबन्धित हुने नै थिएन ।

बीपीपछिका गणेशमान सिंह उच्च पदमा आसीन हुँदासमेत निर्लोभीचाहिँ बने, दागरहित बने तर राजनीतिलाई सही बाटोमा हिँडाउन र दिगो व्यवस्था बसाल्न उनी पनि सक्षम बनेनन् । त्यसपछिका गिरिजालगायतका प्रजातन्त्रबादी नेताहरु राजनीतिमा एउटा व्यवस्था बसाल्ने काममा भन्दा अधिक लोभ र पापमा डुबेर नै बिदा भए ।

उता वाम राजनीतिमा हेर्ने हो भने पनि कमरेड पुष्पलालले राजनीतिमा बसालेको थोरै नियमलाई पछिकाले उल्लङ्घन गर्ने काम गरेर विनाबाटो नै अगाडि बढ्न खोजेको देखिन्छ । पुष्पलालको अवसानपछिका वाम नेतृत्वमा पनि लोभ र पापका मात्रा बढेर जनाले खासै ब्यवस्था बाँधिन नसकेको अवस्थामा नै अगाडि बढेको पाइन्छ । पुष्पलालको अवसानसँगै टुटफुटको बाटोमा लाग्न थालेको वाम राजनीति आजसम्म आइपुग्दा धेरै टुक्रामा विभाजित बन्दै र टुक्रिँदै गएको अवस्थामा अगाडि बढेको पाइन्छ ।

चाहे प्रजातन्त्रवादीको राजनीतिमा होस्, चाहे बामपन्थी राजनीतिमा होस्, पहिलो पुस्ताको नेतृत्वले ‘बूढो गोरुले गाई ओगटेर बसेको’ अवस्थामा राजनीति अगाडि बढेका कारण कुनै पनि राजनीतिक दलका दोस्रो पुस्तामा आमकार्यकर्ता र आमजनतामा आशा जगाउने अनि भरोसा गर्नलायकका नेता उत्पादन हुन नसकेको रिक्तता खड्कन पुगेको छ । यो रिक्तता जहिलेदेखि पुरानो पुस्ताका नेताले करबलले होइन कि रहरले राजनीति छोडेर एउटा उदाहरणीय र अनुभवी अभिभावकको भूमिका निर्वाह गर्न सक्षम हुनेछन् त्यसको एक वा दुई वर्षपछिदेखि नै दोस्रो पुस्तामा आश लाग्दा नेता जन्मन थाल्नेछन् ।

यति लामो समय कम्युनिस्ट पार्टीमै रहेर सहयात्रा गर्दै आएका केपी ओली र माधव नेपालबीचको जुँगाको लडाइँले गर्दा आज माधव नेपालले अर्को नयाँ कम्युनिस्ट पार्टीको स्थापना गर्न बाध्य हुनुपरेको अवस्था छ । त्यो कम्युनिस्ट पार्टीको स्थापना गरेर आफू त्यस राजनीतिक दलको अध्यक्षको कुर्सीमा विराजमान भई पत्रकार सम्मेलन गर्दै गर्दासम्मको उनलाई घमण्डले यति धेरै छोपेको थियो कि आफू पनि त्यति राजनीतिक दल खोलेर त्यसको अध्यक्ष बन्न सक्दो रहेछु त भन्ने भावनाले उनलाई उचालेको थियो । यो केही बेरको गौरवी उचालाइले गर्दा उनले केपी ओलीलाई धेरै गालीगलौजका उपहार बर्साए पनि । तर यति गरिसक्दा नसक्दै उनलाई उनका भनिएका कार्यकर्ताले झन्डै एक्लो पारेरै आ–आफ्ना स्वार्थका तानाबाना बुन्नतिर लागे ।

उनको त्यो अवस्था निकै अत्यास लाग्दो भयो । यही अत्यासको वातावरणबाट मुक्त हुनको लागि उनी दोस्रो पुस्ताका कार्यकर्ता र नेतालाई आफ्नो राजनीतिक दलमा आउनको लागि आह्वान गरिरहेका छन् । माधव नेपालको यो आह्वान दोस्रो पुस्ताका नेतालाई पूरै जिम्मेवारी सुम्पेर आफू असल र शुभचिन्तक अभिभावक बन्ने सोचले होइन कि आएर मेरो जयजयकार गर्दै ढोग अनि मैले भनेको काम गर भनेर गुहार मागेका मात्र हुन् ।

हुन त उनको राजनीतिक दल नै ओलीलाई कसरी जितेर पछार्ने भन्ने अपवित्र चिन्तनको उपजको रुपमा स्थापित भएको जस्तो लाग्छ । यदि देशको बृहत् उन्नतिको, युवा विदेश पलायनलाई रोक्ने उपायजस्ता सकारात्मक चिन्तनका उपज भएको भए त सबैले साथ दिने थिए होलान् । हिँड्दै गएको सद्दे मान्छे बाटोमा अचानक लडेको देख्नेले सहानुभूतिका साथ उसलाई उठाउने र उपचार गराउनेसम्मको सदासयता देखाऊलान् तर मादक पदार्थ सेवनले लडेको कोही भए उसलाई बेवास्ता गरेर हिँडेकै धेरै देखिन्छ ।

माधव नेपाल मात्र होइन, राजनीतिका माहिर खेलाडी तथा १० बर्से युद्धका नायक कमरेड प्रचण्डसमेत राजनीतिमा असफल बन्दै जाँदा र उनीहरुका असफलताका गोप्य विषयको रहस्य खुल्दै जाँदा ती कुराबाट वाक्क भएर राजनीतिबाट संन्यास लिने घोषणा गर्दै छन् । यो आत्मसन्तुष्टिको मानसिकताले गरेको घोषणा हुँदै होइन । राजनीतिप्रतिको वितृष्णा बढेर गएकोले पनि त्यस्तो अभिव्यक्ति आएको होइन । केवल एउटा बर्बराहट वा गुहार मगाइ मात्र हो ।

नेपालका पहिलो प्रधानमन्त्री भनेर चिनिने भीमसेन थापाले आफू प्रधानमन्त्री भएर पूरै शक्ति आफ्नो हातमा लिएपछि आफ्ना विरुद्धका पाण्डेहरुको दोहोलो काढेका थिए । उनले पाण्डेहरुका वयष्क सदस्यलाई निमिट्यान्न परेरै छोडे भने दूधे बालकलाई समेत छोडेनन् भनेर इतिहासले बताउँछ । पछि अन्तकालमा उनको मरण पनि सामान्य अवस्थामा सोच्नै नसकिने त्रासादीपूर्ण बन्यो भनिएको छ । शायद उनले आफ्ना वैरी मानिने पाण्डेहरुप्रति थोरै मात्र भए पनि सदासयता देखाएका भए उनको मृत्युमा रोएर ‘गुहार मलाई बचाऊ’ भन्नुपर्ने अवस्था आउने थिएन होला । त्यसैले अहिलेका माधव नेपालको यो गुहार पनि केवल अरण्यरोदन सिवाय केही होइन ।

आजका दिनमा साँच्चै त्याग गर्न सक्छन् भने हाम्रा पुराना पुस्ताका नेताहरु, शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, रामचन्द्र पौडेललगायतकाले सक्रिय राजनीतिबाट फुर्सद लिएर सारा लोभ–पाप त्याग गरी दोस्रो पुस्ताका केही भरोसायोग्य नेताहरुलाई राजनेता बनाउने काममा लागे हुन्छ । यदि आफ्नै जीवनकालमै कुनै भरोसायोग्य नेताहरुमध्येका कुनै एक नेतामात्र भए पनि राजनेता बन्न सकेछन् भने त्यो एउटा आत्मसन्तुष्टिको बाटो वा विषय बन्नेछ । एउटै नेता भए पनि इमानदार र सफल नेता बनेर निस्कन सकेको खण्डमा त्यो सिङ्गो देशको प्रतिष्ठाको विषय बन्नेछ ।

आजसम्मका दिनमा हाम्रा पुराना नेताले दोस्रो पुस्ताका नेतालाई अनियमित कार्य कसरी गर्ने, कार्यकर्तालाई कसरी काबुमा राखेर नेतृत्व तहले आ–आफ्ना स्वार्थ पूरा गर्दै जाने ? आम जनतालाई ढाँट–छल गरेर भए पनि कसरी थुमथुम्याई राख्ने वा बल प्रयोग गरेरै भए पनि काबुमा लिने ? भन्नेजस्ता भन्दा अरु खासै राजनीतिक चिन्तनका बारेमा प्रशिक्षण दिइने गरेको पाइँदैन । अनि मौका नै नदिएर कहिलेकाहीँ झुक्किएर काम गरेका भरमा कसरी राजनेता बन्न सक्छन् राजनीतिको दोस्रो पुस्ता ?

माओवादी राजनीतिक दलका दोस्रो पुस्ता भनिएका नेतृत्वमा पनि भरोसायोग्य नेताको अभाव खट्केकै पाइन्छ । किनभने त्यस राजनीतिक दलमा पनि शीर्ष नेताले गरेका कुनै पनि खराब कामको आलोचना गर्न मनाही छ । बरु आफना नेताको पूजा भने भक्तले भगवान्को दैनिक पूजा गरेजसरी दैनिकरुपमा गर्नु नै पर्ने हुन्छ । कुनै कार्यकर्ताले कुनै शीर्ष नेतृत्वको आलोचना गर्‍यो कि ऊ बहिष्कार भएर बाहिर परिजाने डर रहन्छ । एउटा जीवन्त राजनीतिक दलमा यसरी गुम्स्याहट हुन्छ कि आफ्ना असन्तुष्टिहरु नेतृत्वसमक्ष प्रस्तुत गर्न पाइँदैन ।

यसरी प्रकट हुन नपाएको गुम्स्याहटको विस्फोट भएर नै माधव नेपालले सम्हाल्न नसक्ने हुँदाहुँदै पनि नयाँ राजनीतिक दल (नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी) स्थापना गर्नुपरेको हो । माधव नेपालले नयाँ राजनीतिक दल त खोले तर त्यसमा गाँठी विषयको कमी रहेको छ । सर्वप्रथम त यो राजनीतिक दल कुनै राजनीतिक अभीष्ट पूरा गर्नको लागि स्थापना भएको होइन । यो राजनीतिक दल केवल केपी ओलीलाई जितेर देखाएँ नि भन्ने लघु स्वार्थ पूर्ण गर्नका लागि स्थापना भएको हो । यस राजनीतिक दलको पनि कुनै राजनीतिक उद्देश्य रहेको छैन । केवल शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुन अलि ढिला हुन्छ कि भनेर चाँडै स्थापना भएको हो । यस राजनीतिक दलले पनि नेता र कार्यकर्ताका विचारहरुको गन्थनमन्थन गर्दैन र केन्द्रबाटै अराउपराउ लादेर बस्छ । यस राजनीतिक दलमा नेतृत्व पूजाको त झन् अधिक अपेक्षा गरिएको छ ।

यी सबै कारणले गर्दा माधव नेपालको भर्खरै स्थापित राजनीतिक दलमा दोस्रो पुस्ताको कोही पनि स्वाभिमानी नेता वा कार्यकर्ता जाने कुरो भएन । देशको उन्नतिका लागि काम गरौँ वा गर्नुपर्छ भन्ने सद्भावपूर्ण विचार बोकेको नेता वा कार्यकर्ता पनि कोही जाँदैन । जो झोला भिरेर हो–हजुरमा रमाउने नेता र कार्यकर्ता छन्, त्यस्ता कार्यकर्ता र नेतामात्र त्यहाँ समावेश हुने हुन् । माधव नेपालको राजनीतिक दलको मात्र होइन, प्रचण्डको राजनीतिक दल होस् कि देउवा वा बाबुराम भट्टराईको राजनीतिक दल होस्, ती सबैमा यस्तै र यिनै नियम लागू हुनेछन् ।
कसैले कुनै राजनीतिक दल खोल्नु भनेको चानचुने कुरो नभई निकै गहन विषय हो । तर यतिको गहन विषयलाई पनि केटाकेटीको खेल, झगडाजस्तो ठान्ने हाम्रा पहिलो पुस्ताका नेताले दोस्रो पुस्ताबाट के आशा र भरोसाका लागि रोएर गुहार मागेका होलान् अनि तिनले उनीहरुका गुहारलाई पूरा गरिदिएर पूर्ण सन्तुष्टि दिन सक्लान् त ? यदि सके भने त देशकै लागि पनि गौरवको विषय बन्नेछ तर सकेनन् भने योे असमर्थताको दोष कसले बोक्ने होला ?

प्रतिक्रिया दिनुहोस्