महिलाको बाँझोपन र उपचार



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

घटना केही समयअघिको हो । स्त्रीरोग विभागमा आएकी सरला नामकी एक महिला आफ्नो समस्या राख्नुअगाडि नै भक्कानो छोडेर रोइन् । बच्चा नभएको कारण उनी सासू, ससुरा र आफन्तहरुको टोकसोले हैरान भएकी रहिछन् । अब केही समयसम्म पनि उनी गर्भवती हुन सकिनन् भने उनको श्रीमान्लाई अर्को बिहे गरिदिने त्रास देखाइएको रहेछ । यसको अर्थ उनी गर्भवती हुन नसक्नुमा मुख्यरुपमा उनकै कमजोरीले गर्दा भएको भन्ने नै हो । सरला आमा बन्न नसकेको समस्या व्यक्तिगत मात्र नभएर पारिवारिक एवं सामाजिक समस्याको रुपमा देखा परिसकेको रहेछ । सरला दम्पतीको आवश्यक स्वास्थ्य परीक्षण शुरु गरियो । तर परिणाम उनको परिवारले सोचेभन्दा फरक किसिमको आयो । अर्थात् विस्तृतरुपमा जाँचपड्ताल र ल्याब परीक्षणबाट उनी निःसन्तान हुनुको कारण उनको श्रीमान्मा रहेको पाइयो ।

धेरै पुरुषहरु बाँझोपन हुनुमा आफ्नो कुनै कमजोरी नभएको भनेर सबै दोष पत्नीलाई मात्र लगाउने गर्छन् ।

नेपालमा महिला–पुरुष साक्षरतामा उल्लेख्य प्रगति भए पनि, विभिन्न थरीका सामाजिक सञ्जाल एवं केबुलबाट धेरै ज्ञान–सीपका कुराहरु प्रसारण भइरहेको भए तापनि बच्चा पाउन नसक्नुमा महिलालाई नै दोषी ठान्ने चलन नेपाली समाजमा अझैँ व्याप्त छ । सरला त प्रतिनिधि पात्र मात्र हुन् । अस्पतालमा यस किसिमको समस्या धेरै आउने गरेको पाइन्छ । बाँझोपनको समस्यासम्बन्धमा धेरै भ्रमहरु रहेका छन् । पति अर्थात् पुरुष पार्टनरहरुमा अहं धेरै पाइन्छ । यस्ता धेरै पुरुषहरु बाँझोपन हुनुमा आफ्नो कुनै कमजोरी नभएको भनेर सबै दोष पत्नीलाई मात्र लगाउने गर्छन् । यतिसम्म कि कतिपयले त वीर्य जाँचलगायतका परीक्षण गर्न पनि मान्दैनन् । ‘बाँझोपनको मुख्य कारण नै महिला हुन्, पुरुष त कहाँ हुन्छ र ?’ भन्ने त्यस्ता पुरुषहरुमा भ्रम रहेको पाइन्छ । तर यथार्थमा कुरा निकै फरक रहेको पाइन्छ ।

बाँझोपन हुनुको समग्र कारण खोतल्दा २० देखि ४० प्रतिशत महिलामा समस्या देखिन्छ भने उत्तिकै प्रतिशतमा पुरुषमा खराबी पाइन्छ । यस्तै गरेर १० प्रतिशत समस्या महिला र पुरुष दुवैमा खराबी भएर भएको हुन्छ । १० प्रतिशत बाँझोपनको कारणचाहिँ अज्ञात नै रहेको पाइन्छ । जे भए पनि महिलाहरुकै कारणले बाँझोपन हुनसक्ने अवस्थाहरु र त्यसका उपचारात्मक प्रक्रियाहरु के–कस्ता हुनसक्छन् भन्ने थाहा पाइराख्नु उचित हुन्छ ।

महिलामा बाँझोपनका कारण

महिलाको उमेर ३५ वर्षभन्दा बढी, अपर्याप्त सहवास, मासिक चक्रमा गर्भ रहने समयको अज्ञानता, यौनसम्पर्क राख्दा हुने अधिक पीडा, निःसन्तानका कारण अत्यधिक चिन्ता, उदासीपन आदि महिला बाँझोपनका कारण हुन् । शुक्रकीटलाई असर पुर्‍याउने (योनिमार्ग चिप्लो बनाउन प्रयोग गरिने) जेल वा क्रिमको प्रयोगका कारण पनि गर्भ रहन नसकिरहेको हुन्छ । यसको अलावा डिम्बाशयजन्य तत्वहरु, पाठेघरको मुखमा तथा योनिमा अन्तर्निहित खराबी, पाठेघर तथा डिम्बवाहिनी नलीमा खराबी, इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबी तथा इन्डोमेट्रिओसिस पनि महिलामा हुने बाँझोपनका कारण हुन् ।

बाँझोपन कसरी पत्ता लाग्छ ?

महिलाको उमेर, विवाहित समयावधि, पहिले बच्चा पाइसकेको हो/होइन, कुनै यौनरोग, मधुमेह एवं स्त्री जननेन्द्रियवरिपरि कुनै संक्रमण भएको एवं तल्लो पेटमा गरिएको कुनै शल्यक्रियाको जानकारी बाँझोपनको कारण खोज्न महत्वपूर्ण हुन्छ । यसका साथै महिनावारी, परिवार नियोजनको अस्थायी साधनको प्रयोग तथा यौनसम्पर्कका बेला अधिक पीडा हुने तथा यौनसम्पर्कमै रुचि नहुने आदि जानकारीबाट बाँझोपन समस्याको कारण आँकलन गरिन्छ ।

यसै गरी अधिक मोटोपना वा दुब्लोपना, यौनांगवरिपरि तथा काखीमा रौंको वितरण, यौनांगहरुको विकास, अन्तश्राव ग्रन्थिको गडबडीका कारण साना तथा अपरिपक्व धेरै डिम्ब उत्पादन हुने (बन्ने), ओठ–गालामा अधिक रौं पलाउने तथा स्तनबाट असामान्य श्रावको समस्यासँग बाँझोपन सम्बन्धित हुनसक्छ । महिलामा कुनै पनि बेला एउटाभन्दा बढी खराबीका कारण बाँझोपन भएको हुनसक्छ ।

ल्याब परीक्षणको हकमा नियमितरुपमा सामान्य तरिकाले डिम्ब निष्कासन हुन्छ/हुँदैन, दुवैतर्फकोडिम्बवाहिनी नली खुल्ला छ/छैन, पाठेघरको भित्री तहमा मासु पलाएको वा टाँसिएको, पाठेघरको बनावटमा कुनै जन्मजात खराबी तथा पाठेघरको मुख साँगुरिएको पत्ता लगाउन अल्ट्रासाउन्ड, हिस्टेरोसाल्पिङ्गोग्राफी वा ल्याप्रोस्कोपीको आवश्यक पर्दछ । यसको अलावा महिलामा रगत जाँचबाट मधुमेह, थाइरोइड ग्रन्थिको कामको गडबडी, डिम्ब उत्पादन गर्ने, परिपक्व बनाउने एवं निष्कासन गर्ने हर्मोनहरुमा गडबडी पत्ता लाग्छ । साथै स्त्री जनेन्द्रियको माथिल्लो भाग तथा योनिमा कुनै संक्रमण छ/छैन योनिश्रावको जाँचबाट पत्ता लाग्छ ।

महिलाको बाँझोपनको उपचार

पुरुष पार्टनरको वीर्य जाँच सामान्य छ र महिलाको योनिमार्ग, पाठेघरको मुख, पाठेघरको बनावट (भित्री तह) एवं डिम्बवाहिनी नलीमा कुनै समस्या छैन भने सम्बन्धित चिकित्सकको निगरानीमा बढी डिम्ब उत्पादन तथा निष्कासन हुने औषधि/सुईबाट गर्भ आउने सम्भावना बढ्छ । अल्ट्रासाउन्डबाट डिम्ब परिपक्व भएको निश्चित भएपछि प्राकृतिकरुपमै यौनसम्पर्क राख्न वा उनको पार्टनरको परिष्कृत वीर्य विशेष खालको क्याथेटरको माध्यमबाट पाठेघरमा राखिदिने (कृत्रिम गर्भाधान) बाट फाइदा हुन्छ ।

यदि महिला पार्टनरमा मधुमेह, अधिक मोटोपना तथा शरीरमा प्रोल्याक्टिनको मात्रा बढी छ भने वा स–साना डिम्ब धेरै उत्पादन हुने तर अपरिपक्व हुने समस्या छ भने आवश्यक उपचार गर्नुपर्दछ । यसै गरी इन्डोेमेट्रिओसिस, स्त्री जननेन्द्रियको माथिल्लो भागको संक्रमण, पाठेघरको मुख साँगुरिएको, पाठेघरको भित्री तहमा मासु पलाएको, भित्री तह टाँसिएको, डिम्बवाहिनी नलीवरिपरि आन्द्रामा टाँसिएको, पाठेघरको बनावटमा जन्मजात खराबी छ भने शल्यक्रियामार्फत उपचार गर्नुपर्ने आवश्यकता हुनसक्छ ।

पहिलेको स्त्री जननेन्द्रिय संक्रमण वा शल्यक्रियाका कारण दुवै डिम्बवाहिनी नली थुनिएको वा काम नलाग्ने छ भने टेस्ट ट्युब भनेर चिनिने कृत्रिम गर्भाधान विधिको जरुरत पर्न सक्छ । यस क्रममा पुरुष पार्टनरको शुक्रकीटको संख्याको आधारमा आईभीएफ (महिलाको डिम्बवरिपरि शुक्रकीट राखिदिने) वा इक्सी (महिलाको डिम्बमा एउटा शुक्रकीट छिराइदिने) जस्ता कृत्रिम गर्भाधान विधिबाट फाइदा पुग्छ ।

बाँझोपनको उपचारको क्रममा गर्भ तुहिने, पाठेघरबाहिर गर्भ रहने सम्भावना दोब्बर र शिशु वा नवजात बच्चाको मुत्यु हुने सम्भावना पनि छ । तर पनि बाँझोपनको समस्या भएका दम्पतीमा जाँचपड्तालको दुई वर्ष अवधिमै आवश्यक उपचारपछि ३० देखि ४० प्रतिशतले गर्भाधान गर्न सक्छन् । यदि कृत्रिम गर्भाधानको सहायता लिएको खण्डमा यो सफलता ६० प्रतिशतसम्म पुग्दछ ।

बाँझोपनको उपचारको क्रममा औषधि वा शल्यक्रियाको अलावा तिनीहरुमा व्याप्त हुने मानसिक चिन्ता तथा उदासीपनका लागि राम्रो परामर्श दिने, आवश्यक परे खानपिनमा परहेज गरी शारीरिक वजनलाई नियन्त्रणमा राख्ने तथा धूमपान एवं मद्यपान त्याग्ने र महिनावारी अर्थात् मासिक चक्रको उर्वरा (गर्भ रहने) समयबारे प्रस्ट हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्