जनै खटिरा र बाघ लेखाउने चलन



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

जनै खटिरा नेपालीको जनजिब्रोमा उच्चाहरण भैरहने एउटा रोगको नाम हो । यो गाउँले बोलीको भाषा हो । वास्तवमा यसको वैज्ञानिक नाम ‘हर्पिस जोस्टर’ हो । धेरैजसो जनै लगाउने ठाउँमा आउने भएको हुनाले यो खटिरालाई जनै खटिरा भनिएको हो । हुन त जनैसँग यसको खासै सम्बन्ध छैन । साथै जनै लगाउने ठाउँबाहेक अन्य ठाउँमा पनि यो खटिरा निस्किन्छ । शरीरको जुनसुकै भागमा निस्किए पनि यो जनै खटिराकै नामबाट परिचित छ ।

यो ‘भ्यारिसेला जोस्टर’ नामक भाइरसको संक्रमणका कारण छालामाथि ठेउला आएजस्तै गरी साना, राता, रस भरिएका र झुप्पा–झुप्पा भएर आउने अनि साह्रै दुख्ने खटिरा हो । धेरैजसो यो छातीको दाँया र बाँयापट्टि कोखातिरबाट शुरु भएर एउटै रेखामा सीधा बढ्दै जान्छ र जनैको रुप लिन्छ । छालामाथि धेरै संख्यामा उत्पन्न साना खटिराहरु बिस्तारै फुट्छन् र सुकेर जान्छन् । कहिलेकाहीँ यिनीहरुमा पीप भरिने र पाक्ने पाक्ने हुन्छ । यिनीहरु सुकेर गएपछि छालामा दाग बस्छ । बाहिरबाट हेर्दा ठीक भएको जस्तो देखिए पनि यो रोग ठीक भएको हुँदैन । यो खटिरा छालाभित्र नसाहरुको जरासँगसँगै भित्रभित्रै फैलिँदै जान्छ । यसले नसाका जराहरुलाई असर पार्ने हुनाले साह्रै पीडा गराउँछ । नसाहरुमा पर्ने असर धेरै लामो समयसम्म रहिरहन्छ । कहिलेकाहीँ ६ महिनादेखि १ वर्षसम्म पनि यसको दुखाइ रहिरहन्छ । जनै खटिरा हेर्दा सामान्यजस्तो देखिए पनि पीडाका कारण ज्यादै दुःख दिने रोगहरुमा पर्दछ । प्रत्येक मान्छेलाई आफ्नो जीवनकालमा एकपल्ट यो खटिराले प्रायः दुःख दिन्छ ।

शरीर कमजोर भएको बेला, प्रतिरक्षात्मक शक्ति घटेको बेला, धेरै मानसिक तनाव भएको बेला, धेरै शारीरिक चोट लागेको बेला र शरीरको प्रतिरक्षात्मक शक्तिलाई कमजोर गराउने औषधिहरु सेवन गरेको बेला जनै खटिराको संक्रमण हुने सम्भावना बढी हुन्छ । उमेरका हिसाबले ५० वर्ष काटेका र वृद्धवृद्धाहरुलाई यसले अझ बढी सताउँछ । वृद्धवृद्धाहरु जनै खटिराको नामै सुनेर डराउँछन् । किनकि यसले गराउने पीडा उनीहरुका लागि असह्य हुन्छ । कहिलेकाहीँ यो खटिरा मुख, आँखा वा कानको वरिपरि आउन सक्छ । टाउकोभित्र पसेर मगजलाई असर पार्न सक्छ । यसरी मुख, आँखा, कानमा आएका जनै खटिरा खतरनाक प्रकृतिका हुन्छन्, जसले अन्धोपना, बहिरोपना र मुखको प्यारालाइसिस गराउन सक्छ । घाँटीभन्दा माथि आउने जनै खटिराबाट अत्यन्तै होसियार हुनुपर्छ ।

यो खटिराको मुख्य विशेषता भनेको दुख्नु हो । खटिरा निस्किनुअगाडि पनि दुख्छ । किनकि यसको भाइरस पहिलेदेखि नै छालामुनि नसाका जराहरुमा निष्क्रियरुपमा बसिराखेका हुन्छन् । वास्तवमा यी ठेउला रोग गराउने ‘भ्यारिसेला भाइरस’ नै हुन् । तर विशेष अवस्थामा यी भाइरसहरु पुनः सक्रिय भएर आउँछन् । यिनीहरु सक्रिय हुनेबित्तिकै नसाका जराहरुलाई खान्छन् । यसकारण खटिरा देखिनुभन्दा केही दिनअगाडिदेखि नै दुख्न थाल्छ । पछि दुखेको ठाउँबाट खटिरा निस्किन्छ । खटिरा फुटेर सुकेपछि फेरि नसालाई असर पार्छ र पुन झन् बढी दुख्न थाल्छ । यसकारण जनै खटिराको विशेषता खटिरा नभई पीडा हो । खटिरा आउँछ जान्छ तर पीडा लामो समयसम्म रहिरहन्छ ।

जनै खटिराको खासै उपचार छैन । भाइरसका कारणले लाग्ने रोग भएका कारण एन्टिबायोटिकले काम गर्दैन । भाइरस फैलिनबाट रोक्ने औषधि दुख्न शुरु भएको ३ दिनभित्र शुरु गर्न सक्यो भने खटिरा धेरै फैलिनबाट रोक्न सकिन्छ । यो औषधि ढिला शुरु गर्‍यो भने कुनै फाइदा छैन । खटिरा चिलाउने हुनसक्छ । कन्याएर खटिरा फुटाउनुहुँदैन । यी खटिराहरु आफैं फुट्छन् र २ देखि ४ हप्तामा आफैं सुकेर जान्छन् । खटिरालाई जति चलायो त्यति बिग्रिन्छ । यसकारण खटिरालाई चलाउने, मलम पट्टी गर्नेभन्दा पनि व्यक्तिगत सरसफाइ र पोषणमा ध्यान दिनुपर्छ । खटिरामा हलुकासँग क्यालामिन लोसन लगाउन मिल्छ तर छोपेर बाफिने गरी राख्नुहुँदैन । खुला छोड्दा बेस हुन्छ । नदुख्ने र नचिलाउने औषधिले यी लक्षणहरु कम गर्न सहयोग गर्छ ।

बाघ वा सिंह लेखाउने

जनै खटिरा आएको ठाउँमा विशेष प्रकारको रंगहरु प्रयोग गरी बाघ वा सिंहको चित्र बनाउने चलन नेपालमा विभिन्न समुदायमा रहेको पाइन्छ । नेवार समुदायमा यो चलन धेरै छ । गुभाजुहरुले बिरामीको छालामा बाघको चित्र कोर्न थालेका हुन् । यो अभ्यास फलदायी भएरै होला चित्र कोर्ने चलन विस्तारित हुँदै धेरै समुदायहरुमा पुगिसकेको छ । जनै खटिराको उपचार भन्नेबित्तिकै नेपालमा बाघ लेखाउने उपचार विधि एक नम्बरमा आउँछ । बाघले खटिरालाई खाइदिन्छ र खटिरा मर्छ भन्ने विश्वास रहेको पाइन्छ ।

वैज्ञानिक विश्लेषण गर्ने हो भने, बाघको चित्र कोरेर जनै खटिरा निको हुने कुरामा कुनै आधार छैन । चित्र कोरे पनि, नकोरे पनि २–४ हप्ताभित्र यो खटिरा आफैँ हराएर जान्छ । यो भाइरसले गराउने रुघा–खोकीजस्तै हो, औषधि नखाए ७ दिन लाग्ने तर औषधि खाए एकै हप्तामा चट हुने । यसो भनेर मैले बाघ लेखाउने चलनलाई हाँसोमा उडाउन खोजेको होइन । यसका केही सकारात्मक पक्षहरु पनि छन्, जुन यस प्रकार छन् :

१. बाघको चित्र कोरेपछि अब ठीक भैहाल्छ भन्ने आत्मविश्वास जागेर आउँछ । आत्मविश्वासले रोगसँग लड्ने शक्ति प्रदान गर्दछ ।

२. बाघको चित्र कोरेको ठाउँको छालामा एक प्रकारको अनौठो अनुभूति भैरहन्छ, जसले गर्दा सोचाइ ‘डाइभर्ट’ हुन्छ र दुखाइ कम गर्न मद्दत पुग्छ ।

३. बाघको चित्र बनाउने रंग विशेष प्रकारको औषधीय गुण भएका जडीबुटी र रसायनबाट बनेको हुन्छ । यो घरको भित्तामा लगाउने इनामेल वा डिस्पेम्पर रंग होइन । यो रंगमा जिंक अक्साइड नामक रसायन हुन्छ, जसको औषधीय गुण हुन्छ । औषधीय गुण भएको रंगको प्रयोग गरी चित्र कोरिएको छ भने पक्कै पनि यसले सकारात्मक असर पार्छ । बाघको मुख खटिरा विस्तार हुँदै जाने बाटोतर्फ बनाइएको हुन्छ । औषधीय गुण भएको रंगको प्रभावले केही मात्रामा खटिराको विस्तारलाई रोक्ने विश्वास गर्न सकिन्छ । यो रंगले एन्टिसेप्टिकको पनि काम गर्छ । यसकारण बाघ लेखाएपछि खटिरा पाक्ने सम्भावना कम हुन्छ र खटिरा चाँडै सुक्छ । यसप्रकार अन्धविश्वासबाट शुरु भएको भए तापनि बाघ लेखाउने उपचार विधि सकारात्मक रहेको देखिन्छ ।

अन्त्यमा सबैले सुनेको जनै खटिरा रोगबारे निम्न लिखित कुराहरु बुझिराख्नु उपयोगी ठान्दछु :

१. यो शरीरभित्र निष्क्रिय रुपमा वर्षौंदेखि बसिराखेको भाइरस सक्रिय भएर उत्पन्न हुने रोग हो । ५० वर्ष उमेर काटेकालाई यसले बढी सताउँछ।

२. जनै लगाउने ठाउँको छालामा खटिराहरु देखा पर्छन्, जुन फुट्छन्, सुक्छन् र २–४ हप्तामा ठीक हुन्छन् ।

३. खटिरा आउनुअगाडि र सुकेर झरिसकेपछि पनि कडा खालकै दुखाइ महिनौंसम्म रहिरहन्छ ।

४. नदुख्ने औषधि खानेबाहेक यसको खासै प्रभावकारी औषधि छैन ।

५. नेपालमा प्रचलित यस रोगको उपचारमा बाघ लेखाउने चलन ‘अन्धविश्वास’ भए पनि यसका केही सकारात्मक पक्षहरु भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्