लगानीको सम्भावनाबारे भारतीय उद्योगीसँग छलफल



काठमाडौं, (नेस) ।

नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ ।

भर्चुअलमार्फत् भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले नेपालको नीति नियम र लगानीको सम्भवाना बारे प्रकाश पार्नुभएको थियो ।

उहाँले फन्डिङ मोडालिटी, ज्वाइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरुसँग सम्बन्ध विस्तार गर्न सहभागीहरुलाई प्रोत्साहित पनि गर्नुभएको थियो ।

भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेकोे उल्लेख गर्नुभयो ।

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्