अनलाइनबाटै खोप प्रमाणीकरण प्रमाणपत्र लिन आग्रह



नेपाल समाचारपत्र, काठमाडौं ।

खोप लगाएको प्रमाणीकरणका लागि अनलाइनबाटै आवेदन दिन गृह मन्त्रालयले सार्वजनिकरूपमा आग्रह गरेको छ ।

कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र लिन आउँदा स्वास्थ्य सेवा विभागमा परिसरमा मानिसहरूको भीडभाड बढ्न थालेपछि मन्त्रालयले सो आग्रह गरेको हो । सो प्रमाणपत्र अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरे पनि मानिसहरू सरासर राजधानीको टेकुस्थित विभागमा पुग्ने गरेका छन् । वैदेशिक रोजगारमा जानको लागि सो प्रमाणपत्र अनिवार्य लिनैपर्ने नियम रहेको छ ।

खोप लगाएको प्रमाणपत्र लिन मानिसहरूको भीड अचाक्ली बढेपछि गत बुधबार प्रमाणपत्रका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो । कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ । त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो ।

अनलाइनबाट मात्र दिनमा हजार आवेदन पर्ने गरेको तर अनलाइनको भर नपर्ने र भर्न नजान्नेहरू सिधै विभागमा जाने गरेका छन् । यसले गर्दा विभाग वरपर झन् ठूलो भीड छ । त्यसैले मन्त्रालयले क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने विभिन्न माध्यमबाट जानकारी गराउँदै आएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । मन्त्रालयले यस सम्बन्धमा एक विज्ञप्ति प्रकाशित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्ने जानकारी दिएको छ ।

खोप लगाएको प्रमाण ‘क्यूआर कोड’ लिन दैनिक एक हजारभन्दा बढी निवेदन पर्न थालेका छन् तर, स्वास्थ्य सेवा विभागले अनलाइन फाराम भर्नेमध्ये दिनमा एक सय मात्र कोड वितरण गरिरहेको छ । त्यसैले विदेश जाने युवा अताल्लिएका छन् । स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाले क्यूआर कोड वितरण गर्छ । जनशक्ति पर्याप्त नभएका कारण अनलाइनबाट क्यूआर दिने प्रक्रिया केही ढिलो भइरहेको जनाउँदै विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले भन्नुभयो– ‘एकैपटक धेरै जनाले अनलाइन फाराम भरेको र हामीसँग जनशक्ति सीमित रहेकाले ढिलाइ भएको होे ।’ विभागका अनुसार १० हजारभन्दा बढीले अनलाइन फाराम भरिसकेको छ ।

खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतः भेरिफाई हुनेछ । यसअघि मन्त्रालयले विदेश जानेहरूको लागि टेकु अस्पतालबाट प्रमाणीकरण गरिँदै आएको थियो । खोप प्रमाणीकरण गर्नेको संख्या बढेसँगै मन्त्रालयले पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत गरिँदै आएको थियो।उपत्यका बाहिरको हकमा ५० श्ययाभन्दा माथिका सरकारी अस्पतालहरूबाट समेत खोप प्रमाणीकरण गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्