संसदीय समितिद्वारा निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

सिंहदरवार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको संसदीय समितिले स्थलगत अवलोकन गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुले आईतबार निर्माणाधीन भवनको स्थलगत अवलोकन गरेको हो । समितिकी सभापति कल्याणी खड्काले सरकारले निर्माणाधीन संसद भवनको लागि बजेटको पर्याप्त व्यवस्था देखिएको बताउनुभयो ।

‘निर्माणाधीन संसद भवनका लागि पर्याप्त बजेटको अभाव देखियो । सरकारले प्राथमिकताका साथ अघि बढाएको भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ, निर्माण संलग्न कामदारलाई तत्काल कोराना विरुद्धको खोपको व्यवस्था गर्नुपर्छ ।’ अवलोकनको क्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संसद भवन परिसरभित्र निर्माण भईरहेका १२ वटा ब्लकहरुको कार्य प्रगति विवरण तथा देखिएका समस्याबारे समितिका पदाधिकारीहरुलाई जानकारी गराउनुभएको थियो ।

उहाँले निर्माणस्थल परिसरमा निर्माण हुने १२ वटा ब्लकमध्ये ११ वटा ब्लकहरुको निर्माणको कार्य भईरहेको बताउदै कोभिडको बावजुद पनि निर्माण कार्यलाई अगाडि बढाइएको बताउनुभयो । सचिव सिंहका अनुसार राष्ट्रियसभाको भुईँ तल्लाको निर्माण कार्य सम्पन्न भई पहिलो तल्लाको पनि ७० प्रतिशत कार्य सम्पन्न गरिएको छ ।

प्रतिनिधिसभाको भुईँतल्लाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न गरिएको तथा पहिलो तल्लाको निर्माण कार्य २३ प्रतिशत सम्पन्न गरिएको छ । भ्याटबाहेक ६ अर्ब ९२ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो निर्माणाधिन भवनको निर्माण कार्यको जिम्मेवारी टुण्डी शेक जेभीले पाएको छ ।

शहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन आयोजना समन्वय कार्यालय अन्तर्गत सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

अवलोकनका क्रममा विशेष भवन निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर हिमाल केसीले निर्माणको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्